The news from New Generation with new vision.

पोखराका होटलमा ५ हजार बेडको ‘सेल्फ पेड’ क्वारेन्टाइन बनाउने महानगरकाे तयारी

पाेखरा । पोखरा महानगरपालिकाले विदेशबाट फर्किनेलाई राख्न ‘सेल्फ पेड’ होटल क्वारेन्टाइन बनाउने तयारी गरेको छ। महानगरले विदेशबाट फर्किनेलाई राख्न सशुल्क क्वारेन्टाइन सञ्चालनका निम्ति प्रस्ताव पेस गर्न पोखराका होटल प्रतिष्ठानलाई आह्वान गरेको छ।

न्यूनतम १५ बेड भएका होटललाईजेठ २५ गतेभित्र नियमानुसारका सबै करसहित रेट प्रस्ताव पेस गर्न भनिएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए । उनले भने, ‘सामान्य मापदण्ड राखेका छौं । उद्धार गरी ल्याइएकालाई प्लेन खुलेपछि नै राख्ने हो । पूर्वतयारी गरौं भनेर होटलको खोजी थालेका हौं ।’

सरकारले २५ हजार जनाको उद्धार गर्दा तीमध्ये पोखरामा५ हजार जनालाई राख्नुपर्ने महानगरको अनुमान छ । युरोप, अस्ट्रेलिया, अमेरिका, जापान, चीन, खाडी मुलुक, सार्क राष्ट्र र नेपालकै विभिन्न ठाउँबाट आउनेलाई उक्त क्वारेन्टाइनमा राखिने महानगरले जनाएको छ ।

क्वारेन्टाइनमा बस्नेहरुले आफै खर्च गर्नुपर्ने भनिए पनि १ जनाले १४ दिन बस्दा कति खर्च गर्नुपर्छ भन्ने यकीन भइनसकेको सूचना अधिकारी पौडेलले बताए । ‘कुन स्तरको होटल कति मूल्य भन्ने व्यवसायीले रेटसहित प्रस्ताव गर्नुहुन्छ । त्यो रेट हामीसँग हुन्छ । आउनेले आफ्नो क्षमता अनुसारको होटल छनोट गर्नुहुन्छ,’ उनले भने ।

सरकारले विभिन्न देशबाट उद्धार गरेर ल्याए पोखराका होटलका ५ हजार कोठा प्रयोगमा आउनेछन् । महानगरले क्वारेन्टाइन बनाउन इच्छुक होटलका लागि विभिन्न ६ बुँदे मापदण्ड तोकेको आजको समाधान दैनिकमा खबर छ ।

क्वारेन्टाइन बन्नहोटलमा आवसीय बसोबास नभएको, व्यक्तिगत घरसँग नजोडिएको, कम्पाउन्ड भएको र कम्पाउन्डभित्र फिभर क्लिनिक सञ्चालन गर्न मिल्ने हुनुपर्ने छ । आवश्यक कर्मचारी भएको, न्यूनतम १५ बेडको होटलले क्वारेन्टाइनमा बस्नेलाई खाना/खाजा र पिउने पानीको राम्रो व्यवस्था गर्नुपर्ने मापदण्डमा छ । यीबाहेक होटलमा एट्याच बाथरुमसँगै व्यक्तिगत सरसफाइका सामग्रीको राम्रो व्यवस्था हुनुपर्नेछ ।

सुरक्षित हुनुप-यो, आउनेलाई राख्छौं : होटल संघ

यो पनि पढ्नुहोस् :   आज अति शुभ छ यी ९ राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

महानगर र केन्द्रबाट पर्यटन विभागले लकडाउन सुरु हुनु पहिल्यै होटललाई क्वारेन्टाइन बनाउने भनेर छलफल गरेको थियो । पछिल्लो समय विदेशबाट नेपाली ल्याउने कुरा चलिरहँदा होटललाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने भनेर महानगरले होटल व्यावसायीसँग समन्वय गरेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

‘महानगरले होटललाई क्वारेन्टाइन बनाउने भनेको छ । आवश्यक परेको बेलामा हामीलेसरकारलाई आफ्नो भौतिक पूर्वाधारमात्र दिने हो,’ उनले भने, ‘महानगरले भोलि समाजसँग सिर्जना हुनसक्ने अवस्थाबारे सोच्नुपर्छ ।’ लकडाउन सुरु भएपछि र पर्यटन व्यवसाय धरापमा पर्ने निश्चित भएपछि पोखराका अधिकांश होटलले कर्मचारी कटौती गरेका थिए ।

सामान्य सुविधा भएको होटलमा २ छाक खाना र खाजा खाएर बस्दा दिनको १५ सयदेखि २ हजार रुपैयाँसम्म लाग्ने उनले बताए ।‘कोही म राम्रै खर्च गर्छु भन्ने पनि हुनुहोला । उहाँहरुलाई दैनिक ३५ सय रुपैयाँसम्म पर्ला । सामान्य सुविधा भएकोमा २ छाक खाना र २ पटक खाजा गर्दा १५ सयदेखि २ हजारसम्म पर्न जान्छ,’ उनले भने ।

होटलमा कार्यरत कर्मचारी ल्याउन र स्वास्थ्य सुरक्षाको प्रत्याभूत गर्न महानगरसँग छलफल भएको अध्यक्ष तुलाचनले जानकारी दिए ।उनले भने, ‘आउनेहरुको पिसिआर टेस्ट हुन्छ भन्नुभएको छ । सुरक्षित हुने आश्वस्त भएपछि आउनेहरुलाई राख्छौं । किनभने समाजमा संक्रमण फैलन नदिन हाम्रो पनि दायित्व छ ।’

तुलाचनका अनुसार पोखरामा होटलको संख्या करिब ७ सय छ । ती सबै होटलमा लकडाउन हुनु अघिसम्म १५ हजार कर्मचारी कार्यरत रहेको तथ्यांक थियो । पोखराका होटलमा झन्डै १ खर्ब २५ अर्ब लगानी रहेको अध्यक्ष तुलाचनले जानकारी दिए ।

वडामा बन्दै छन् क्वारेन्टाइन

पोखरा महानगरका ३३ वटै वडामा आवश्यकताअनुसार क्वारेन्टाइन बनाउने पोखरा महानगरको निर्णय कार्यान्वयनमा आएको छ । गत २० जेठमा महानगरको कोरोना मूल समितिको बैठकले आवश्यकता अनुसार ५० जना राख्न सकिने क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस् :   भोलि चन्द्र ग्रहण लाग्दै, कुन कुन स्थानमा पर्नेछ प्रभाव ?

सबै वडालाई आवश्यकता अनुसार क्वारेन्टाइन बनाइरहेको समिति संयोजक तथा उपमेयर मञ्जुदेवी गुरुङले जानकारी दिइन् । ‘कोरोना फैलनसक्ने सम्भावनालाई ध्यानमा राखेर हामीले सबै वडालाई आवश्यकता अनुसार क्वारेन्टाइन बनाउन पत्रचार गरेका थियौं । १५ वटा वडाले ठाउँ छनोट गरेर क्वारेन्टाइन सञ्चालनको तयारी थालेका छन् । केही वडामा सुरु भइसकेको छ,’ उनले भनिन् ।

क्वोन्टाइन व्यवस्थापन समितिका संयोजक एवं पोखरा–१९ का वडाधयक्ष शोभामोहन पौडेलका अनुसार पोखराका ४ वटा वडाले क्वारेन्टाइन बनाइसकेका छन् । अहिलेसम्म ५, ११, २९ र ३० नम्बर वडाले क्वारेन्टाइन बनाइसकेको उनले जानकारी दिए ।

सरकारले बनाएको क्वारेन्टाइनभन्दा पनि होम क्वारेन्टाइनमा बस्नु राम्रो हुने उनले बताए । ‘सचेत रुपमा होम क्वारेन्टाइनमा बस्दा राम्रो हुन्छ । सामाजिक बहिस्कार गर्नु जरुरी छैन,’ संयोजक पौडेलले भने ।

वडातहसहित महानगरले सञ्चालन गरेको २ क्वारेन्टाइनमा अहिले १ सय ४२ जना बसिरहेका छन् । पोखराको मालेपाटनस्थित कृषि तालिम केन्द्र र जाल्पारोडको लेकसिटी हस्पिटलमा महानगरले क्वारेन्टाइन सञ्चालन गरेको छ ।

कुन क्वारेन्टाइनमा कति ?

कृषि तालिम केन्द, मालेपाटन – ३९ जना

लेकसिटी हस्पिटल, जाल्पारोड – ५४ जना

शिवशक्ति मावि, पोखरा ११ – ५ जना

त्रिभुवन शान्ति मावि, पोखरा ३० – २ जना

जनप्रकाश मावि, पोखरा २९ – २१ जना

बाराही मावि, पोखरा–५ – २१ जना

जम्मा संख्या – १ सय ४२ जना

सम्बन्धित पाेष्टहरु