The news from New Generation with new vision.

हिमपहिरोले अन्‍नपूर्ण आधार शिविरमा अलपत्र डेढ सय पर्यटकको उद्धार

पोखरा । हिमपात र हिमपहिरोका कारण माछापुच्छ‍्रे र अन्नपूर्ण हिमालको आधार शिविरमा अलपत्र परेका नेपाली र विदेशी गरी डेढ सयजनाको सिम्रिक एयरले शनिबार उद्धार गरेको छ। ती दुई हिमालको आधार शिविर पुग्ने बाटो देउराली भन्ने ठाउँमा पहिरो गएको हुँदा स्वदेशी र विदेशी पर्यटक पैदल फर्कन सकेका थिएनन्।

पहिरोका कारण नेपाली र कोरियाली गरी ७ जना हराइरहेका छन् र उनीहरु अझै सम्पर्कविहीन छन्। अन्नपूर्ण र माछापुच्छ‍्रे हिमालको आधार शिविरमा रहेका होटल व्यवसायी, नेपाली पर्यटक, विदेशीसमेत गरी झन्डै डेढ सयजनालाई शनिबार सुरक्षित स्थान र पोखरा ल्याएको सिम्रिक एयरका पोखरा प्रमुख कमल गौतमले जानकारी दिए।

‘थुप्रै नेपालीलाई छोम्रोङ भन्ने ठाउँसम्म ल्यायौं, अरु विदेशी र हिँड्न नसक्ने भएका नेपालीलाई पोखरा ल्यायौं’, उनले भने। बिहीबारदेखि पहाडी भागमा वर्षा हुँदा हिमालतिर भने हिउँ परेको थियो। निरन्तरको हिमपातपछि बाटो थुनिने र पहिरो जाने गर्दा नेपाली र विदेशी पर्यटक आधार शिविरतिरै थुनिएका हुन्।

नेपालीहरुलाई निशुल्कै उद्धार गरेको जानकारी गौतमले दिए। ‘विदेशीलाई भने अति न्यूनतम खर्चमा ल्याएका हौं’, उनले भने। छोम्रोङको पर्यटन व्यवस्थापन समिति, त्यहाँका वडाध्यक्ष र युवा क्लबका पदाधिकारीहरुको अनुरोधपछि सिम्रिक एयरको हेलिकोप्टर उद्धारमा जुटेको गौतमले बताए। उद्धार गएकामध्ये धेरैजसो माछापुच्छ‍्रे आधार शिविरबाट धेरै छन्।

उद्धार हुनेको संख्या विदेशीको बढी छ। नेपाली पर्यटक, गाइड र भरिया गरी त्यस्तै ४० जना रहेको र विदेशी भने १ सय बढी रहेको जानकारी गौतमले दिए। उद्धारका लागि सिम्रिक एयरका हेलिकोप्टरले शनिबार बिहान साढे ९ बजेदेखि उडान भरेका थिए।

यो पनि पढ्नुहोस् :   यो साता शुभै भुभ छ यी ७ राशिको भाग्य, तपाईको कस्तो ? हेर्नुहोस् साप्ताहिक राशिफल
सम्बन्धित पाेष्टहरु