The news from New Generation with new vision.

पत्रकार आरती लम्साल सहित ६ जना सम्मानित

काठमाडौं । कमला कार्की स्मृति प्रतिष्ठानले पत्रकार आरती लम्साल सहित ६ जनालाई सम्मानित गरेको छ । काठमाडौँको प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पत्रकारिताको माध्यमबाट देश र संस्थाको लागि महत्वपूर्ण काम गरेको भन्दै लम्साललाई सम्मानित गरिएको हो ।

लम्सालले पछिल्लो समय सामाजिक रूपान्तरण, महिला सशक्तिकरण र युवा उत्प्रेरणाका लागि काम गर्दै आएकी छिन् । न्यूयोर्क सिटी पोष्टका नेपाल सम्पादक समेत रहेकी लम्सालले हालसालै भारतमा डा.अम्बेडकर अन्तराष्ट्रिय अवार्ड समेत प्राप्त गरेकी छिन् । उनीसँगै गायिका सृजना केसी एवं भलिबल खेलाडी सलिना श्रेष्ठ पनि सम्मानित भए । सम्मानित उनीहरुलाई नगद १० हजारसहित सम्मान गरिएको हो ।

प्रतिष्ठानले निसहाय साहरा केन्द्रकी अध्यक्ष सगुन शाहलाई असी हजार रुपैँया सहित सम्मान गरेको छ । केन्द्रले लामो समयदेखि असहाय महिलाहरूको संरक्षणमा योगदान पुर्‍याउँदै आएको थियो । त्यसैगरी, चन्द्रागिरी नगरपालिका वडा नं १४ र १५ का धनमाया महर्जन र मिठु केसीलाई पनि नगद दश दश हजार सहित सम्मान गरिएको थियो । कार्यक्रममा शताव्दी पुरुष सत्यमोहन जोशीले साँस्कृतिक ज्ञान पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नु आवश्यक रहेको बताएका छन् ।

काठमाडौँको नैकापमा कमला कार्की स्मृति प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा उनले नयाँ र पुराना पुस्ताबीच साँस्कृतिक आदान प्रदानमा जोड दिए । त्यस्तै साहित्यकार तथा सञ्चारकर्मी डा.नवराज लम्सालले सम्मानित व्यक्ति तथा संस्थाबारे जानकारी गराए । डा. लम्सालले यो केवल सम्मान कार्यक्रम मात्र नभएर ज्ञानको हस्तान्तरण र पुस्ता मिलन पनि भएको बताए ।

कमला कार्की स्मृति प्रतिष्ठानका अध्यक्ष मोहन कार्कीले सम्मान र पुरस्कारलाई निरन्तरता दिँदै राष्ट्रिय स्तरमा समेत प्रतिभाहरूको प्रोत्साहन गर्ने बताए । उनले विद्यालय स्तरको छात्रवृति पनि थप्दै जाने उल्लेख गरे । कार्यक्रममा संघीय सांसद कृष्ण गोपाल श्रेष्ठ र उमेश श्रेष्ठ लगायतको समेत उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस् :   आज मुलुकभर सार्वजनिक विदा
सम्बन्धित पाेष्टहरु