The news from New Generation with new vision.

मेयरकै कार्यकक्षमा कुटिए पत्रकार

जनकपुरधाम । जनकपुरधाम उप-महानगरपालिकाका मेयरको कार्यकक्षमा पत्रकारहरुमाथि कुटपिट भएको छ। मेयर लालकिशोर साहका समर्थकको कुटपिटबाट तीन जना पत्रकार घाइते भएका छन्।

मंगलबार जानकी मन्दिरको जग्गा अतिक्रमण सम्बन्धमा मेयर साहसँग कुराकानी गएका पत्रकारमाथि समर्थकले आक्रमण गरेका हुन्। नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, उज्यालो अनलाइन डटकमका पत्रकार सुवास कर्ण, देश सञ्चार डटकमका पत्रकार राजा झालाई आफ्नो सहयोगी तथा नगरप्रहरी प्रयोग गरी कुटपिट गर्नुका साथै, कान्तिपुर टिभीका पत्रकार अमरकान्त ठाकुरलाई अपशब्द बोल्दै दुर्व्यवहार गरेका हुन्।

अधयक्ष मिश्रका अनुसार नगरपालिकामा प्रवक्ता तोकिएको छैन। त्यसैले जानकी मन्दिरको जग्गा अतिक्रमणबारे कुरा गर्न खोज्दा मेयर पन्छिँदै आएका थिए। ‘भेट्न नमानेपछि केही पत्रकार साथी यो बिषयमा कुरा गर्न मंगलबार बिहान १० बजे नै मेयरको कार्यकक्षमा पुगेका रहेछन्’ अध्यक्ष मिश्रले भने, लामो समय पर्खिँदा पनि मेयर साहले समय नदिएपछि पत्रकारहरु कार्यकक्षभित्रै गएर मन्दिरको जग्गा अतिक्रमणबारे धारणा माग्न खोज्दा उनका समर्थकले हातपात गरेका हुन्।’

उनका अनुसार मेयरका समर्थकका साथै नगर प्रहरीले पत्रकारमाथि हातपात गरेका हुन्।

मेयर साहले पत्रकारहरु कार्यकक्षमा आएर माइक मुखमै टाँसेर प्रतिक्रिया लिन खोजेको र उनीहरुले आफैं हो-हल्ला गरेको आरोप लगाएका छन् । उनले आफ्ना समर्थक अथवा नगर प्रहरीले यसरी प्रतिक्रिया नलिन आग्रह मात्रै गरेको दावी गरेका छन्।

यो पनि पढ्नुहोस् :   सरकारले ल्यायो कोरोना सङ्क्रमित पहिचान गर्ने मोबाइल एप
सम्बन्धित पाेष्टहरु