The news from New Generation with new vision.

कास्की-२ मा मतदान जारी, श्रृंखलाबद्ध बम बिस्फोट

रिजन नेपाल

पोखरा । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि कास्की २ मा शनिबार मतदान जारी छ ।

बिहान ७ बजेदेखि यस क्षेत्रका विभिन्न ३२ मतदान स्थलका ८२ मतदान केन्द्रमा मतदान जारी रहेको हो । निर्वाचन आयोगले साँझ ५ बजेसम्म मतदान समय तोकेको छ ।

यसपालि अघिल्लो चुनावमा जस्तो मतदातामा उत्साह देखिँदैन । बिहान ११ बजेसम्म २० प्रतिशत मात्र मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मत खसाल्न विगतमा भीडभाड हुने मतदानस्थलमा यसपालि सहजै, कमै समय लाइन बसेर छिट्टै मत खसाल्न सकिन्छ ।

चुनावमा सुरक्षा व्यवस्था भने कडा पारिएको छ । सडकका चोकचोकमा सुरक्षाकर्मीले चेकजाँच गरेरमात्र निर्धारित सवारी आवागमन दिने गरेका छन् । सवारीको लागि पास अनिवार्य छ ।

चुनावमा अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती, अशक्तलाई सहज रुपमा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

कास्की २ मा कुल ७१ हजार ८ सय ७१ मतदाता छन् । पोखरा महानगरपालिकाका विभिन्न ११ वटा वडामध्ये वडा ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ यस क्षेत्रमा पर्दछन् ।

सबैभन्दा बढी पोखरा १७ स्थित पार्दी मावि (क) मतदान केन्द्र र पोखरा १६, विन्ध्यवासिनी मावि, बाटुलेचौर (क) मतदान केन्द्रमा समान १ हजार ३६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जनाए ।

निर्वाचनको लागि मतदान हुने क्षेत्रका सरकारी विद्यालय बन्द गरिएको छ । सुरक्षाको कारण देखाउँदै निर्वाचनको अघिल्लो दिन राति १२ बजेदेखि अत्यावश्यक सेवा एम्बुलेन्स, शव वाहन, पानीका गाडी, सुरक्षाकर्मी, पत्रकार, कुटनितीक नियोग, दलका केही प्रतिनिधि बाहेक अन्यलाई रोक लगाइएको छ ।

कास्की २ मा १० स्वतन्त्रसहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । २०७४ सालको चुनावमा वाम गठबन्धनका रवीन्द्र अधिकारीले जित हासिल गरेका हुन् ।

यो पनि पढ्नुहोस् :   बक्सिङमा नेपालकी मिनुलाई स्वर्ण

श्रृंखलाबद्ध बम बिस्फोट ः

कास्की २ का विभिन्न मतदानस्थल नजिक ३ ठाउँमा बम बिस्फोट भएको छ ।

पोखरा वडा १६, शान्ति माविमा निर्वाचन शुरु हुनु करिब १५ मिनेट अघि, पोखरा– ३३ सरस्वती टिका माविमा निर्वाचन सुरु भएको समय र पोखरा–९ नव प्रभात माविमा करिब ८ बजेतिर बम बिष्फोट गरिएको हो । बिस्फोटबाट मानवीय क्षति भने टरेको छ ।

ठूलो आवाजमा बम बिष्फोट भए पश्चात करिब २० मिनेट मतदान स्थगित भएको थियो । घटनामा संलग्न व्यक्तिहरुको खोजीकार्य भएको कास्की प्रहरीले जनाएको छ । पोखरामा श्रृंखलाबद्ध ढंगबाट बम बिष्फोट भएपछि सुरक्षाको व्यवस्था भने निकै वडा पारिएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए ।

यसअघि पोखरा नयाँबजारमा नेकपा अध्यक्ष प्रचण्ड सहभागी सभामा मंसिर ११ मा बम बिस्फोट भएको थियो । यस्तै मनोनयनको दिन पोखराको टुरिष्ट बसपार्क तथा पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पार्किङ गरिराखेको गाडीमा बम बिस्फोट गरी क्षति पु¥याइएको थियो ।

सम्बन्धित पाेष्टहरु