The news from New Generation with new vision.

दाइजोको मोटरसाइकल नामसारी नगर्दा पत्नीको हत्या

जनकपुर । धनुषाको मिथिला बिहारी नगरपालिकामा एक जनाले दाइजोमा पाएको मोटरसाइकल नामसारी नगरेको रिसमा पत्नीको हत्या गरेका छन्।

मिथिला बिहारी नगरपालिका–३ स्थित मिथिलेश्वरका करिब २८ वर्षका प्रकाश मण्डलले दाइजोमा लिएको मोटरसाइकल ससुराली पक्षले नामसारी नगरिदिएको भन्दै करिब २२ वर्षीया पत्नी कुसुम मण्डलको हत्या गरेको आरोप ससुराली पक्षले लगाएको छ।

कुसुमलाई उनका ससुरा रामचन्द्र मण्डलले उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा ल्याएका थिए। कुसुमको शव अस्पतालमा पु-याउनासाथ उनी फरार भएका थिए।

शनिबार बिहानी माइती पक्षले घटनाबारे जानकारी पाएपछि मात्रै अस्पताल पुगेका थिए । कुसुमका बुवा जीबछ मण्डलले दाइजोमा दिएको मोटरसाइकलको नामसारी आर्थिक अभावका गर्न नसकेको जनाए । मोटरसाइकल नामसारी नगरेकै कारण आफ्नो छोरीको हत्या भएको उनको आरोप छ।

‘ज्वाइँ प्रकाशले मोटरसाइकल नामसारीका लागि पटकपटक दबाब दिँदै आएका थिए,’ जीबछले भने, ‘तर आर्थिक अभावका कारण नामसारी गर्न सकेनौं । त्यही झोंकमा मेरो छोरीलाई हत्या गरेको हो।’ घटनाबारे गाउँलेले जानकारी दिएपछि अस्पताल आएको उनले बताए । कुसुमको शव अहिले प्रादेशिक अस्पतालको पोष्टमार्टमका लागि राखिएको छ।

डेढ वर्षअघि कुसुमसँग प्रकाशको विवाह भएको थियो। विवाहमा २ लाख रुपैयाँ नगद, १ सय ५० सिसीको अपाचे मोटरसाइकल, सुन र १५ तोला चाँदी दाइजो दिएको मृतक कुसुमका माइती पक्षको भनाइ छ। घटना शंकास्पद देखिएको भन्दै प्रहरीले कुसुमका श्रीमान प्रकाशलाई पक्राउ गरेको छ। प्रहरी उपरीक्षक शेखर खनालले आरोपित प्रकाशलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान सुरु गरिएको जानकारी दिए।

यो पनि पढ्नुहोस् :   गण्डकी विकास बैंकको एकै दिन ३ शाखा सञ्चालन
सम्बन्धित पाेष्टहरु