The news from New Generation with new vision.

बंगलादेशका राष्ट्रपतिको पोखरा भ्रमण : फेवातालमा डुंगा सयर, रुपाकोटबाट दृश्यावलोकन

रिजन नेपाल

पोखरा । नेपालको चारदिने भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पर्यटकीय नगरी पोखरा आएका छन् । उनले फेवातालमा डुंगा सयर गर्नुका साथै पोखरा नजिकको रुपाकोट रिसोर्टबाट पोखरा र यसआसपासको सौन्दर्य रसस्वादन गर ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत पोखरा विमानस्थलमा दिउँसो १२ बजे ओर्लिएका राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ, पर्यटन मन्त्री विकास लम्साल, सामाजिक विकास मन्त्री नरदेवी पुन, पूर्व मन्त्री एवं संघीय सांसद खगराज अधिकारी, सभामुख नेत्रनाथ अधिकारी, गण्डकी प्रदेश विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, पोखरा महानगर प्रमुख मानबहादुर जिसी लगायतले स्वागत गरेका थिए । उनलाई पञ्चकन्याद्वारा फूलअर्पण गर्दै पञ्चेबाजाको धुनमा स्वागत गरियो ।

विमानस्थलबाट उनी आरामका लागि केहीबेर फिस्टेल होटल पुगेका थिए । त्यसपछि उनले फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार गरेका थिए । त्यसक्रमा फेवाताल आसपासको सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

राष्ट्रपति हमिदको फेवातालमा जलविहार सम्पन्न भएपछि उनको सम्मानमा फिस्टेल होटलमा दिवाभोजको आयोजना गरियो ।

सोपछि उनी हेलिकोप्टरमार्फत पोखराको पूर्वी भेग रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगेर पोखरा र यसआसपासको दृश्यावलोकन गरेका हुन् । रुपाकोट रिर्सोटमा नेपाली संस्कृति झल्कने झाँकी, पञ्चेबाजाले स्वागत गरिएको थियो । रुपाकोटबाट एकैनजरमा फेवा, रुपा, बेगनास लगायत हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।

प्रदेश सरकारले गरेको स्वागत कार्यक्रममा उनले पोखराको सौन्द्रर्य देखेर आफू खुसी भएको प्रतिक्रिया दिएको सहभागीहरुले बताए ।

हमिदले भने, पोखराको बारेमा सुनेको थिएँ तर फेवामा डुङ्गा सयर गरेर हेर्दाको मज्जा आफ्नो लागि अविस्मरणीय रह्यो । उनले आकाश र डुङ्गाबाट पोखरा निँयाल्दा संसारकै रमणीय गन्तव्य रहेको समेत बताए । उनले उत्तरमा देखिएका हिमशिखरहरु माछापुच्छे«, अन्नपुर्णलाई समेत नजिकबाट हेरेको बताए । बंगलादेशका राष्ट्रपति बिहीबार नै नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं प्रस्थान गरेका छन् ।

यो पनि पढ्नुहोस् :   फिनल्याण्डकी ३४ वर्षीया सान्ना विश्वकै कान्छी प्रधानमन्त्री
सम्बन्धित पाेष्टहरु