The news from New Generation with new vision.

रविन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा साझा पार्टीद्वारा उम्मेदवार घोषणा

पोखरा । प्रतिनिधिसभा सदस्यअन्तर्गत कास्की क्षेत्र २ मा १४ मंसिरमा हुने उपनिर्वाचनको लागि साझा पार्टीले उम्मेदवार घोषणा गरेको छ । उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्ने साझा पार्टी पहिलो पार्टी बनेको छ ।

पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा चुनावका लागि रजनी केसीलाई पार्टीले अघि सारेको पार्टी संयोजक रवीन्द्र मिश्रले जानकारी दिए । यसअघि काँग्रेसकी सक्रिय सदस्य केसी साझा पार्टीमा प्रवेश गर्नका लागि पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएकी थिइन् ।

पार्टीका केन्द्रीय संयोजक, प्रवक्तासहित, गण्डकी प्रदेश संयोजक र केन्द्रीय सदस्यहरुको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा मिश्रले वैकल्पिक शक्ति र पुराना शक्तिबीचको जनमतसंग्रहको रुपमा लिएको जनाए ।

उम्मेदवार केसीले व्यवस्था सुधारका लागि आफू वैकल्पिक राजनीतिमा लागेको बताइन् । उनले भनिन्–‘म सानैदेखि परिवर्तनको पक्षमा लागेको मानिस हुँ । विगतमा जुन पार्टीमा थिएँ, त्यहाँबाट मैले धेरै अनुभव हासिल गरे पनि त्यही परिपाटीबाट परिवर्तन सम्भव नदेखेकोले पार्टी प्रवेश गरेकी हुँ ।’

कार्यक्रममा पार्टी प्रवक्ता डा. सूर्यराज आचार्य, गण्डकी प्रदेश संयोजक महेश भण्डारी लगायतले उपनिर्वाचनमा आफ्नो पार्टीलाई जिताउन मतदातालाई आग्रह गरे।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्रप्रसाद अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की २ रिक्त हुन गएको हो । चुनावको लागि ठूला दल नेकपा र काँग्रेसले भने उम्मेदवार छान्ने प्रक्रियामै छन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   मंगलबार, निकै राम्रो छ यी ८ राशिको भाग्य हेर्नुहोस्, दैनिक राशिफल
सम्बन्धित पाेष्टहरु