The news from New Generation with new vision.

के पुरुषहरू गर्भनिरोधक चक्की खान तयार छन् ?

वैज्ञानिकहरू पुरुषका लागि गर्भनिरोधक चक्की विकास गर्न आधा शताब्दीदेखि काम गरिरहेका छन्। उत्साहजनक समाचारहरू प्रकाशित भए पनि नजिकैका औषधि पसलमा त्यो उपलब्ध भइसकेको छैन।

पैसाको अभाव र पुरुषहरूमा रहेको भनिएको अरुचिका कारण पुरुषका लागि गर्भनिरोधक चक्की ठूलो मात्रामा उत्पादन गरिएको छैन। बरु गर्भवती नहुने जिम्मेदारी अहिलेसम्म पनि धेरैजसो महिलाले नै लिउन् भन्ने अपेक्षा राखिन्छ।

यद्यपि अनुसन्धानका अनुसार कैयौँ पुरुषहरू चक्की उपलब्ध भए प्रयोग गर्न तयार रहेको पाइएको छ। ब्रिटेनमा यौनमा सक्रिय पुरुषहरूमध्ये हरेक तेस्रो पुरुषले चक्की वा इमप्लान्ट जस्ता हर्मोन गर्भनिरोधकका रूपमा लिन आफूहरू सकारात्मक रहेको बताए।

ठीक त्यति नै सङ्ख्यामा अर्थात् हरेक तेस्रो ब्रिटिश महिला अहिले यस्तो औषधि प्रयोग गर्ने गर्छन्। सर्वेक्षणमा सहभागी १० मध्ये ८ जनाले गर्भनिरोधबारे महिला र पुरुषले समान जिम्मेदारी लिनुपर्ने विचार व्यक्त गरेका थिए।

यस्तै अमेरिकामा गरिएको सर्वेक्षणमा सहभागी १८-४४ वर्ष उमेरका यौनमा सक्रिय अमेरिकी पुरुषहरू मध्ये ७७ % ले कन्डोम या भ्यासेक्टोमी जस्ता गर्भनिरोधक बाहेक अरू खाले गर्भनिरोधक प्रयोग गर्नमा “धेरै वा केही” रुचि भएको बताएका थिए।

त्यसो भए सार्वजनिक रूपमा स्वीकारोक्ति, जेन्डर भूमिकामा आएको खुकुलोपनले पुरुष गर्भनिरोधक चक्की वास्तविकता बन्ला?

कुन गर्भनिरोधक उपाय संसारमा सबभन्दा धेरै प्रयोगमा छ?

संसारभर प्रजनन गर्ने उमेर समूहका हरेक तेस्रो जोडीले कुनै पनि गर्भनिरोधक प्रयोग नगर्ने गरेको संयुक्त राष्ट्र सङ्घको एक अध्ययनले देखाएको छ। तर प्रयोग गर्नेहरूबीच महिला गर्भनिरोधक उपायहरू सबभन्दा धेरै लोकप्रिय छन्।

विवाहित वा सम्बन्धमा रहेका १९ % महिलाहरू स्थायी बन्ध्याकरणमा रुचि राख्ने, १४ % महिला कोइल लगाउने गरेको, ९ प्रतिशत महिलाले चक्कीमा निर्भर रहने गरेको र ५ % महिलाले सुई लगाउने गरेको पाइएको छ।

प्रत्यक्ष पुरुष सहभागी हुने उपायहरू निकै कम प्रयोग हुने गरेका छन्; ८ % कन्डोममा भर पर्छन् र २ % ले भ्यासेक्टोमी गर्छन्।तर सँधै यस्तै थियो भन्ने होइन। चक्की बन्नु अघि पुरुषहरू गर्भनिरोधमा सहभागी बन्नै पर्ने अवस्था थियो उदाहरणका लागि कन्डोम प्रयोग गरेर।

यो पनि पढ्नुहोस् :   नेपाल बंगलादेशसँग पराजितभएसँगै क्रिकेटमा स्वर्ण पदको सम्भावना सकियो

१९६० मा महिलाले खाने गर्भनिरोधक चक्की ठूलो सङ्ख्यामा उत्पादन हुन थालेपछि महिलाहरूले आफ्नो प्रजननलाई यौनमा सहभागी हुने पुरुषहरूको सहभागिता वा जानकारी विना नै नियन्त्रणमा राख्न सक्ने भए।

अहिले दश करोड महिलाहरू चक्कीको प्रयोग गरिरहेका छन् र यो युरोप अष्ट्रेलिया र न्यूजील्याण्डमा सबभन्दा धेरै प्रयोग हुने गर्भनिरोधको उपाय बनेको छ।

चक्की अफ्रिका, ल्याटिन अमेरिका र उत्तर अमेरिकामा लोकप्रिय यस्ता गर्भनिरोधकमध्ये दोस्रो र एशियामा तेश्रोमा पर्छ। त्यसयताका दशकमा यस्ता चक्कीले धेरै महिलालाई मातृत्व रोक्न या पछाडि सार्न सहयोग गरेको छ जसले गर्दा उनीहरूले उच्च शिक्षा वा रोजगारी जस्ता कुराहरू पहिले रोज्न पाएका छन्।

त्यसैले गर्भनिरोधक चक्कीलाई धेरैजसो महिला अधिकारको कोशेढुङ्गा र बीसौँ शताब्दीको एक महान् आविष्कारका रूपमा हेरिन्छ। तर समाज लैङ्गिक समानतातर्फ बढिरहँदा पनि महिलाले गर्भनिरोधक प्रयोग गर्दा मानसिक, सामाजिक, आर्थिक र समय सम्बन्धी जिम्मेदारी बहन गर्दै आउनु परिरहेको छ। त्यसको ‘साइड इफेक्ट’ त अर्को पाटो भइहाल्यो।

किन अहिलेसम्म पुरुष चक्की छैन?
महिलाका लागि चक्की आविष्कार भएको एक दशक भित्रै सर्वत्र उपलब्ध बनेको थियो। तर सन् १९७० को दशकमा पहिलोपटक बाहिर ल्याइएको पुरुषका लागि चक्की चाहिँ किन बजारमा आइपुग्न यत्रो समय लाग्यो?

केही वैज्ञानिकहरूले पुरुष निरोधक चक्की बनाउने विज्ञान महिलाका लागि भन्दा बढ्ता जटिल रहेको बताउने गरेका छन्।

पुरुषका लागि काम गर्ने चक्कीले शुक्रकीट बनाउने प्रक्रिया रोक्नुपर्ने हुन्छ र यो तहको काम गर्नका लागि आवश्यक हर्मोनको उच्च तहले ‘साइड इफेक्ट’ गर्न सक्छ। त्यसैगरी सामाजिक र आर्थिक कारकहरू पनि छन्। प्रजनन विज्ञान र औषधी महिलाको शरीर केन्द्रित छन् र पुरुषलाई ध्यानमा राखिएको छैन।

उदाहरणका लागि स्त्रीरोग विशेषज्ञ अर्थात् गाइनेकोलोजिष्टबारे धेरैलाई थाहा छ तर पुरुष प्रजनन विशेषज्ञ अर्थात् एन्ड्रोलोजिष्टबारे धेरै कमलाई मात्रै थाहा हुने गर्छ।पुरुषका लागि गर्भनिरोधक चक्कीबारे अनुसन्धान महिलाका लागि चक्की भन्दा दशकौँ पछि सुरु भयो। त्यसमा पनि पैसाको अभावले त्यो रोकियो।

यो पनि पढ्नुहोस् :   नयाँ दिल्लीमा भिषण आगलागी, कम्तीमा ४३ जनाको मृत्यु

औषधी बनाउने कम्पनीहरू, नियामकहरू र पुरुषहरू स्वय‌म्‌ले पनि सम्भावित ‘साइड इफेक्ट’हरूलाई कम स्वीकार गरेकाले पनि आंशिक रूपमा त्यसो भएको हो। महिला गर्भनिरोधक प्रयोग गर्नेहरूमा केही लक्षणहरू देखिनु स्वीकार्य मानिन्छ किनभने त्यसलाई गर्भवती हुने खतरासँग दाँजिन्छ। तर पुरुष गर्भनिरोधकबारे त्यस्तो हुँदैन।

महिला गर्भनिरोधक चक्की खाँदा धेरैजसो देखिने ‘साइड इफेक्ट’हरू जस्तो कि तौल बढ्ने, मुड तलमाथि हुने, यौनमा अरुचि हुने जस्ता कुरा पुरुषलाई कम आकर्षित पार्ने तत्वका रूपमा हेर्ने गरिन्छ।

पुरुषका लागि बनाइएको “क्लीन शीट्स” नामक चक्कीबारे गरिएको अनुसन्धान अनुसार यसले वीर्य विनाको चरमोत्कर्ष गराउँछ। त्यसैले पनि पुरुष चक्की प्रयोगमा आउन सकेन किनभने वीर्य निष्कासन गर्नुलाई पुरुष यौन क्रियाकलापको महत्त्वपूर्ण पाटोका रूपमा लिइन्छ।

महिलाहरूले पुरुषले गर्भनिरोधक खाए होलान् भन्ने विश्वास गर्लान् कि नगर्लान भन्ने पनि पुरुष गर्भनिरोधक चक्की प्रयोगमा अवरोधको एक कारक मानिन्छ। तर केही दशक पहिले नै गरिएको अनुसन्धानमा पनि लामो समयदेखि सम्बन्धमा रहेकी महिलाले आफ्ना पुरुष साथीलाई विश्वास गरे पनि आकस्मिक रूपमा गरिने यौन सम्पर्कका बेलाका पुरुषलाई विश्वास गर्न भने कठिन हुने पाइएको थियो।

‘महिलाको काम?’

गर्भनिरोध गर्ने कामलाई महिलाको कामका रूपमा हेर्ने गरिन्छ र पुरुषहरू गर्भनिरोधक वस्तु प्रयोग गर्दैनन् भन्ने अनुमान गरिन्छ। यद्यपि जेन्डर भूमिका परिवर्तन भइरहेका छन् र पुरुषहरू घरको काममा र बच्चा हुर्काउने कामको जिम्मेदारीमा सहभागी हुन थालेका छन्।

यो पुनर्सन्तुलनको काम गर्भनिरोधसम्म पनि पुग्न सक्छ। विभिन्न अध्ययनले युवा पुरुषहरूले त्यसलाई पनि दुवैजनाले वहन गर्नुपर्ने जिम्मेदारीका रूपमा हेर्ने सम्भावना देखाएका छन्। केही पुरुष समूहरू खासगरी जो शिक्षित छन्, जो परम्परागत जेन्डर भूमिकालाई कम महत्त्व दिन्छन् ती पुरुष गर्भनिरोधक प्रयोग गर्न इच्छुक वा सहयोगी हुन सक्छन्।

गर्भनिरोधक चक्कीको स्वागत गरिए पनि र त्यो जताततै सजिलै पाइने अवस्था बने पनि त्यसले पुरुषका लागि चक्की व्यापक प्रयोगमा आउँछ भन्ने निश्चित गर्दैन। बन्ध्याकरण अर्थात् भ्यासेक्टोमी करिब २०० वर्ष अघि आविष्कार गरिएपनि विश्वभर नै महिलाका लागि स्थायी बन्ध्याकरण १० गुणा बढी हुने गरेको छ।

यो पनि पढ्नुहोस् :   नेपाली पत्रकार आरती लम्साल डा.अम्वेडकर अवार्ड-२०१९ बाट सम्मानित

जब कि महिलाका लागि बन्ध्याकरण तुलनात्मक रूपमा कम प्रभावकारी, महँगो र जटिल हुने गर्छ। पुरुषका लागि गर्भनिरोधक चक्की बनाउनु अघि तथा सामाजिक र आर्थिक अवरोधहरू हटाउनु अघि समाजमा जेन्डर समानता हुनु पहिलो आवश्यक चरण हो। हामी ५० वर्षदेखि पुरुषका लागि गर्भ निरोधक चक्की पर्खिरहेका छौँ, अब ५० वर्ष नकुरौँ।

१०० विमिन भनेको के हो?

यो विश्लेषण बीबीसी बाहिरको संस्थामा काम गर्ने विज्ञले लेखेककी हुन्।

यो लेख बीबीसीको १०० विमिन सिजन २०१९ का लागि लेखाइएको हो।

लीसा क्याम्पो एन्जेलस्टाइ यो वर्षकी १०० विमिनमा परेकी महिलामध्ये एक हुन् जसले प्रजनन् इथिक्समा विज्ञता हासिल गर्दैछन्। उनी न्यूयोर्कस्थित अल्बनी मेडिकल कलेज एल्डन मार्च बायोइथिक्स इन्स्टिच्यूट एन्ड डीपार्टमेन्ट अफ अबस्टेट्रिक्स एन्ड गाइनेकोलोजीमा सह प्राध्यापक छन्।

बीबीसी १०० विमिनले संसारभरका १०० जना प्रभावशाली र राम्रो काम गरिरहेका महिलाहरूको सूचि हरेक वर्ष प्रकाशन गर्ने गर्छ र तिनका कथा भन्ने गर्छ।

संसारमा यो वर्ष निकै ठूल्ठूला परिवर्तनहरू भए त्यसैले बीबीसी हन्ड्रेड विमिनको प्रश्न छ ” भविष्यमा सन् २०३० कस्तो देखिन्छ?”
सिरिया पुनर्निर्माणको योजनामा लागिरहेकी बास्तुबिद देखि मङ्गल ग्रहमा जाने हेलिकोप्टर डीजाइनरमध्ये एकसम्म १०० विमिन सूचीमा परेकाहरू आफ्नो समूहमा उत्कृष्टहरु छन् र उनीहरूले सन् २०३०मा संसार कस्तो होला भन्ने उनीहरूका अनुमान उपलब्ध गराइरहनेछन्।

सम्बन्धित पाेष्टहरु