The news from New Generation with new vision.

पोखरा ‘लामाचौर तीज महोत्सव’को तयारी पूरा, भलिबलमा ६ टिम

रिजन नेपाल

पोखरा । ‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ भन्ने उद्घोषका साथ पोखराको लामाचौरमा २३ औं लामाचौर तीज महोत्सव–२०७६ विहीवारदेखि सुरु हुँदैछ । सो महोत्सवको प्रमुख आकर्षण भने राष्ट्रिय महिला भलिबल प्रतियोगिता हो। नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा हुने सो प्रतियोगितामा साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सहित नेपाल प्रहरी क्लब, न्यू डायमण्ड एकेडेमी, चितवन टाईगर्स क्लब, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र काठमाडौँ र पश्चिमाञ्चल भलिबल गरी ६ टिमको सहभागिता हुने महोत्सव प्रचार संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले बताए।

तीज महोत्सव भदौ १२ देखि १६ सम्म चल्ने भए पनि भलिबल प्रतियोगिता भने भदौ १४ देखिमात्र शुरु हुनेछ । जसको फाइनल तीजकै दिन भदौ १६ मा हुनेछ । विजेता टोलीलाई १ लाख, उपविजेतालाई ६५ हजार र तेश्रोेलाई २५ हजार साथमा शील्ड, मेडल र प्रमाणपत्र वितरण गरिने छ।

उत्कृष्ट खेलाडीलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने भएको छ । उक्त खेल अवलोकनको लागि दर्शकले क्वाटरफाइनलको १ सय, सेमिफाइनलको २ सय र फाइनलमा ३ सय रुपैयाँको टिकट काट्नुपर्ने खेल संयोजक सुशीलकुमार श्रेष्ठले बताए। संस्थाका अध्यक्ष कमलबहादुर थापाले मेला पछिल्लो समय महोत्सवमा रुपान्तरण हुँदा लाख बढी दर्शक भित्रिने गरेकोे बताए।

महोत्सवमा एकता बुक्स अन्तरविद्यालय छात्रा भलिबल प्रतियोगिता समेत हुनेछ । यस्तै, पवित्र गणेश सप्लायर्स अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता, दी युनाईटेड गोल्ड मार्ट तीज गीत प्रतियोगिता, एक्सपर्ट एजुकेशन खुला एकल नृत्य प्रतियोगिता हुनेछ। महोत्सवमा १० किमी सडक दौड, नरबहादुर बानियाँ स्मृति गण्डकी प्रदेशस्तरीय सितेरियो कराँते प्रतियोगिता, बालउद्यान तथा विभिन्न कलाकारद्वारा सांस्कृतिक कार्यक्रमको प्रस्तुति एवं विभिन्न विधाका श्रष्टा सम्मान कार्यक्रम गरिने सांस्कृतिक उपसमिति संयोजक दिलबहादुर थापाले जनाएका छन् ।

अन्तरविद्यालय छात्रा भलिबल प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, दोस्रोलाई १५ हजार, उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार दिइने जनाइयो । यस्तै, महिला समूहगत तीज गीत प्रतियोगितामा प्रथमलाई २५, द्वितीयलाई १५ हजार, तृतीयलाई १० हजार, सान्त्वनालाई ५ हजार दिइनेछ। अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार, खुला एकल नृत्यमा प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।

महोत्सव पूर्व सन्ध्यामा साउन ३ र ४ मा भएको नाओड्स मिलीजुली खुला र ५० वर्ष माथिको गरी पोखरा १९ र १६ भित्रका २ चरणको व्याडमिन्टन प्रतियोगिता भैसकेको छ । डिस मिडिया प्रालिको प्रमुख प्रायोजकमा हुने महोत्सवको प्रायोजक पोखरा मिक्स्चर सेवा समिति लामाचौर, सहप्रायोजक हङ्गकङ्गमा रहेका कुब्जे दिदी बहिनी समूह हङकङ रहेको अर्थ समिति संयोजक नवीन भण्डारीले बताए।

महोत्सवमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, वित्तीय संस्था, उद्योग, व्यापार, व्यवसायीद्वारा उत्पादित वस्तु प्रवद्र्धनका लागि ४० वटा व्यापारिक स्टल, ६ वटा होटलको व्यवस्था गरिने जनाइएको छ।

राष्ट्रको खेलकुद क्षेत्रको विकास र विस्तारमा सहयोग गरी भातृत्व एवं भायचाराको सम्बन्धलाई स्वर्णिम बनाउने, नवप्रतिभावान् खेलाडीलाई प्रतिभा प्रष्फुटन गराउन तथा नेपालका उत्कृष्ट खेलाडीको खेल प्रदर्शन गर्न, अन्तरनिहित प्रतिभा प्रस्फुटनको लागि प्रोत्साहन गर्ने, मौलिक कला र लोकसंस्कृतिको जगेर्ना गर्दै संस्थाले समाजमा गरेको उल्लेख्य कार्यको जानकारी दिने लगायत उद्देश्य रहेको छ।

लामाचौर तीज महोत्सव २०७६ को उद्घाटन इन्द्रराज्य लक्ष्मी मावि परिसरमा भदौ १२ मा गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले गर्नेछिन्। संस्थाले आम्दानी रकम एम्बुलेन्स संचालन सहित विभिन्न सामाजिक सेवामा लगाउँदै आएको प्रचार संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले जानकारी दिए।

सम्बन्धित पाेष्टहरु