The news from New Generation with new vision.

अमेरिकी भिसा नपाएपछि सन्दीप लामिछाने ‘नि:शब्द’: क्यारेबियन लीग खेल्न गाह्रो

40

अन्तर्राष्ट्रिय स्तरका विभिन्न व्यावसायिक लीगमा ख्याति कमाएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले आफूलाई नेपालस्थित अमेरिकी राजदूतावासले भिसा नदिएको बताएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा लामिछानेले वेस्ट इन्डीजमा हुन लागेको क्यारेबियन प्रीमीअर लीग खेल्न जाने क्रममा आफूले अनुरोध गरेको अमेरिकाको प्रवेशाज्ञा नपाएको लेखेका छन्। उन्नाइस वर्षीय नेपाली स्पिनर लामिछानेले अहिलेसम्म भारत, क्यारेबियन, अफगानिस्तान, बाङ्ग्लादेश र पाकिस्तानका व्यावसायिक लीगमा खेलिसकेका छन्।

यो वर्ष दोस्रो पटक क्यारेबियन लीग खेल्न निम्त्याउने क्रममा बार्बेडस ट्राइडन्ट्स् क्लबले लामिछानेलाई झन्डै ७८ लाख रुपैयाँ तिर्ने कबोल गरेको थियो।

अस्वीकृत

प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपालस्थित अमेरिकी राजदूत अनि राजदूतावासलाई पनि मेन्शन गर्दै लामिछानेले अमेरिकाको प्रवेशाज्ञा नपाउँदा क्यारेबियन लीग खेल्न जान आफूलाई गाह्रो हुने लेखेका छन्।

उनले ट्विटरमा लेखेका छन्, “राष्ट्रिय खेलाडी हुनाको नाताले सन् २०१६ यता आफ्नो देशलाई विश्वभरिका लीगमा प्रतिनिधित्व गर्दैआएको हुनाले मेरो भिसा अस्वीकार गरिँदा म ठूलो आश्चर्यमा परेको छु।” लगत्तै अर्को ट्वीटमा उनले भिसा अस्वीकार गरिएको जानकारी पाउँदा आफू नि:शब्द भएको उल्लेख गरेका छन्।

उनले सबै कागजपत्रहरू प्रस्तुत गर्दा पनि प्रवेशाज्ञाको आवेदन अस्वीकार गरिएकाले आफूलाई क्यारेबियन लीगमा बार्बेडस ट्राइडन्ट्सका लागि खेल्न गाह्रो हुने उल्लेख गरेका छन्। ट्विटरको उनको पोस्टमा प्रतिक्रिया लेख्दै कतिपयले कहिलेकाहीँ यस्तो हुने भन्दै सहानुभूति व्यक्त गरेका छन्।

केहीले अमेरिकी दूतावासको निर्णयले आफूलाई दु:ख लागेको र यो विषय चाँडै समाधान हुने अपेक्षा गरेको लेखेका छन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   भोलि जेलबाट छुट्छु भन्दै रविले फेरि पठाए सन्देश
सम्बन्धित पाेष्टहरु