The news from New Generation with new vision.

धर्मदेखि औषधिसम्म यसरी उपयोगी बनेको छ सर्प

काठमाडौँ । नेपाली हिन्दू र बौद्ध धर्म तथा परम्परामा सर्पलाई पवित्र मानिन्छ । प्रत्येक वर्ष नागपञ्चमीका दिन नागको विशेष पूजा हुन्छ।

भगवान् विष्णु शेषनागको शय्यामा सुत्ने र भगवान् शिवले नागमाला लगाउने पौराणिक आख्यान छ। साथै समुद्र मन्थन गर्दा वासुकीनागको नेती बनाइएको कथा पनि पुराणहरूमा पाइन्छ। प्रकृतिमा सर्पको विशेष महत्त्व रहेको आधुनिक वैज्ञानिकहरूले औँल्याएका छन्।

यही सन्दर्भमा जीवशास्त्री करनबहादुर शाहले बीबीसी संवाददाता फणीन्द्र दाहालसँगको कुराकानीमा सर्प कसरी मानवजातिका लागि उपयोगी र महत्त्वपूर्ण छ भन्ने बताए।

नेपालमा ८० प्रजाति
संसारभरि पाँच हजारभन्दा बढी प्रजातिका सर्पहरू छन्। नेपालमा अहिलेसम्म ८० प्रजातिका सर्पहरू फेला परेका छन्। तर पर्याप्त अध्ययन भए नेपालमा पाइने सर्पका प्रजाति लगभग डेढ सय पुग्न सक्छ।

सर्पले पर्यावरणचक्रलाई सन्तुलित बनाउन महत्त्वपूर्ण भूमिका खेल्छन्। अनि मान्छेको ज्यान जोगाउने महत्त्वपूर्ण औषधिहरू पनि सर्पको विषबाट बन्छन्।

आहाराचक्रको सन्तुलन
सर्पका कारण प्रकृतिलाई फाइदा छ, त्यो भनेको मानिसलाई पनि फाइदा हो। अहिलेसम्म कुनै पनि शाकाहारी सर्प छैनन्। यिनीहरूले अरू जीवजन्तुलाई जिउँदै मारेर खाने गर्छन्।

प्रकृतिमा चाहिनेभन्दा बढी हुने कतिपय जीवजन्तुको सङ्ख्या घटाउन सर्पले भूमिका खेल्छन्। उदाहरणका लागि मानिसहरूले बारीमा लगाएको अन्न वा घरमा भण्डारण गरेको अन्न वा फलफूलको ठूलो भाग नाश गर्ने मुसा।

वैज्ञानिकहरूले ५० प्रतिशतसम्म अन्न मुसाका कारण नष्ट हुने आकलन गरेका छन्। एक वर्षमा एक जोडी मुसाबाट १५ सय मुसा जन्मिन्छन्।

मुसाको नियन्त्रणमा सर्पले धेरै ठूलो भूमिका खेलेको हुन्छ। धेरै सर्पको मुख्य आहारा मुसा हो। दुलोबाहिर रहेका मुसालाई मानिसले मार्न सक्लान् तर सर्पले दुलोभित्र पसेर खोजी खोजी मुसाहरू मार्छ।

सर्पको आहारा सर्प
सानोमा भ्यागुतादेखि लिएर ठूलोमा बँदेल र चित्तलसम्मलाई अजिङ्गर सर्पले खाने गर्छन्। सर्पले नखाने जीव नै छैन। सर्पले सर्प नै खाने पनि हुन्छ।

यो पनि पढ्नुहोस् :   नेपाली पत्रकार आरती लम्साल डा.अम्वेडकर अवार्ड-२०१९ बाट सम्मानित

राजगोमन भन्ने सर्पको मुख्य आहारा नै सर्प हो। काठमाडौँमा नै आठ-नौ ठाउँमा राजगोमन देखिइसकेको छ।सर्प आफूपनि अरू जीवजन्तुको आहारा बन्छ। थुप्रै चराहरूले सर्प खान्छन्।

चील, लाटोकोसेरो, मयूर, जङ्गली बिरालो र कस्तुरी मृगहरूले सर्प खान्छन्। मरेको सर्प गिद्ध र स्यालले पनि खान्छ।

आधुनिक उपचारमा सर्पको विष
हाम्रो आधुनिक उपचारपद्धतिमा पनि विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेका र थोरैमात्रै नकारात्मक प्रभाव पार्ने अचूक औषधिहरू सर्पबाट बन्छन्।

सर्पदंशकै उपचारमा प्रयोग हुने एन्टी-स्नेक भेनम पनि सर्पको विषबाट बनाइन्छ।

क्यान्सर भएका बिरामीको दुखाइ कम गर्ने औषधि सर्पको विषबाट बन्छ। पहिला मोर्फिन भन्ने अफिमबाट बनेको औषधि क्यान्सर र ट्यूमरबाट हुने दुखाइ कम गर्न प्रयोग गरिन्थ्यो। त्यो दम भएको बिरामीलाई दिनुहुँदैन। अहिले गोमन सर्पको विषबाट कोब्रोक्सिन भन्ने औषधि बनेको छ। त्यसले दुखाइ कम गर्छ।

शरीरबाट रगत बाहिर निस्कँदा वा शरीरमा रगत जम्दा उपचारमा प्रयोग गरिने ओखती पनि सर्पको विषबाट बन्छ। ‍

परम्परागत उपचारमा सर्पको प्रयोग
हाम्रो परम्परागत आयुर्वेदिक र होमियोपेथिक उपचारपद्धतिमा सर्पका विभिन्न अङ्गहरूको विशेष महत्त्व छ।

सर्पको बोसो, काँचुली र रगत अनि विषसमेत आयुर्वेदिक औषधि बनाउन प्रयोग हुन्छ। विषबाट हैजा नियन्त्रण गर्ने औषधि बनाइन्छ। गाउँघरतिर सर्पका विभिन्न अङ्गहरूबाट २० देखि २२ वटा औषधि बनाएको थाहा छ।

बाली पाक्दै गरेको खेतमा काँचुली जलायो भन्ने बालीमा रोग लाग्दैन भन्ने विश्वास पाइन्छ। हैजा भएको गाईबस्तुको गोठमा काँचुली बाल्यो भने अरू जनवारहरूलाई त्यो सर्दैन भन्ने मान्यता छ।

बूढापाकाले पुराना ग्रन्थहरूको बीचमा सर्पको काँचुलीको टुक्रा राख्ने गर्थे त्यसका कारण कीरा लाग्दैन भन्ने विश्वास हो। यी वैज्ञानिक रूपमा प्रमाणित भएको कुरा भने होइन।

वैज्ञानिक अनुसन्धानमा महत्त्व
प्रयोगशालामा सर्पलाई पाल्न एकदमै सजिलो छ। यिनीहरूले धेरै ठाउँ पनि ओगट्दैनन् र दैनिक आहारा पनि खुवाउनुपर्दैन। एक चोटि खुवाएपछि १५ दिनदेखि एक महिनासम्म खुवाउनुपर्दैन। त्यसैले विभिन्न अनुसन्धानका लागि प्रयोगशालामा सर्पहरूको ठूलो प्रयोग हुन्छ।

यो पनि पढ्नुहोस् :   भारतसँग पराजित भएपछि प्रशिक्षकको राजीनामा

आम्दानीको स्रोत
सर्पको छालाको रङ्ग र त्यसमा रहेका बुट्टाहरूको पनि ठूलो महत्त्व छ। जापानसहित कतिपय देशमा पोसाक डिजाइनरहरूले ती रङ्ग र चित्रलाई सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्छन्। बीबीसीको सहयोगमा

सम्बन्धित पाेष्टहरु