The news from New Generation with new vision.

कमल दाईसँगको मेरो सहयात्रा

453

राजु थापा

अहोरात्र समग्र स्याङजा जिल्लाको बिकासमा केन्द्रित रहनुभएका कमल प्रसाद पंगेनीको निधनको पीडा अहिलेसम्म पनि ताजै छ । आफ्नो क्षेत्र मात्र नभई समग्र स्याङजा र सम्पूर्ण देशकै कुना कन्दरामा बिकासको नारा वोकेर नेपाली काँग्रेसको राजनीतिमा होमिनुएका पंगेनीलाई आज स्याङजाली जनताले मात्र नभएर सम्पूर्ण देशवासीले समेत सम्झिरहेका छन् । नेपाली काँग्रेसका अग्रज नेताहरु विश्वेश्वर प्रसाद कोइराला, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला लगायतका अग्रज नेताहरुको महान वाणीलाई काधमा राखेर अनवरत काँग्रेसको भलाईको निम्ती ज्यानकै जोखिम मोल्न समेत कहिल्यै पछि पर्नुभएन । स्कूले जीवनको कलिलो उमेरदेखि नै काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघको सदस्यता लिएर पृथ्वीनारायण क्याम्पसमा अखिलसँग मुठभेद गर्दा होस्, वी.पी. कोइरालाई मण्डलेको निशानाबाट जोगाउँदा होस्, चुनावमा क्रममा तत्कालीन कम्युनिष्टहरुको निशानामा पर्दा होस् उहाँ कहिले पनि डगमगाउनुभएन ।

सानै उमेरदेखि गरिब दुखी जनताहरुको वारेमा सोच्ने पंगेनी बिशेषत युवाः प्रेमी नेताका रुपमा परिचित हुनुभयो । पदमा हुँदा होस् वा नहुँदा युवा जमातका लागि उहाँले सधै उत्प्रेरणा दिने खालका कार्यक्रमहरुले युवालाई थप उत्साह प्रदान गर्नुभयो । यसो भन्दै गर्दा उहाँले बालबालिकालाई र वृद्धका लागि केहि गर्नुभएन् भन्न खोजेको भने पटक्कै होईन् । जिल्ला वा क्षेत्रमा वृद्धवृद्धाहरुलाई सम्मान होस् वा स–साना बालबालिकाको शिक्षा दिक्षामा समेत ठूलो योगदान गर्नुभयो । राजनीतिमा आफ्नालाई होइन् पराईलाई पराजीत गर्नुपर्छ भन्ने सिद्धान्त राख्ने पंगेनीले स्याङजाको समग्र राजनीतिमा वडा देखि जिल्ला स्तरका नेताहरुलाई एकै ठाउँमा बसाएर कुरा गराउने सामथ्र्य समेत राख्नुहुन्थ्यो । सकेसम्म जिल्लामा एक अर्काबीच भएका मनमुटावलाई जिल्ला स्तरमै मिलान गराउने खुबी उहाँसँग थियो ।

धेरै पहिले देखि नै कमलदाई मेरो सम्बन्ध कायम हुँदै आएपनि काँग्रेसको १२ औं महाधिवेशनमा उहाँ जिल्ला सभापतिमा निर्वाचित भएपछि पार्टीका विविध कार्यक्रममा अझ वढी निरन्तर भेट हुन थाल्यो । हाम्रो सम्बन्ध दाजु भाईको सम्बन्ध भन्दापनि मित्रताको व्यबहार स्थापित भयो । स्याङ्जाको बिकासका लागि उहाँ र मेरो सहकार्य अविस्मरणीय रह्यो । २०७० सालमा दोश्रो पटक भएको संविधान सभा निर्वाचनमा पार्टीले उहाँलाई स्याङ्जा क्षेत्र नं २ बाट उम्मेद्वार बनायो, मलाई क्षेत्र नं १ बाट । उम्मेद्वार बनेपछि उहाँ र म काँधमा काँध मिलाएर स्याङ्जामा कम्युनिष्टहरुलाई परास्त पारेर काँग्रेसको झण्डा कसरी फहराउने भन्ने बिषयमा हाम्रो ध्यान केन्द्रित भयो । स्याङ्जाका सुगम देखि दुर्गमा गाउँहरुमा हामी सँगै चुनावी नारा लिएर अग्रसर भयौं । अन्ततः समग्र स्याङ्जाली जनताको साथ र सहयोगबाट हामी दुबै जना संविधान सभा सदस्य पदमा निर्वाचित भयौं । त्यसबेला कमल पंगेनीको अथक प्रयास र अभिभावकत्वमा हामीले कम्युनिष्टहरुलाई पराजीत गर्न सफल भएका थियौं । अझ स्याङ्जा क्षेत्र नं १ मा १९ बर्षपछि नेपाली काँग्रेसले आफ्नो पोल्टामा पार्न सफल भएको थियो जसमा उहाँको ठूलो देन रहेको थियो । त्यसपछि उहाँ र मेरो सहकार्य जिल्लामा मात्र नभई संबिधान सभामा समेत थप मजबुत बन्न थाल्यो । 

यो पनि पढ्नुहोस् :   द भ्वाइस अफ नेपालमा यी प्रतिस्पर्धीले गीत गाउँदा थामिएनन् जज् आस्थाका आँसु (भिडियो)

मसँग सहकार्य मात्र होईन, ‘राजु यसो गरौं भनेर सिकाउने’ समेत हुनाले उहाँलाई महिले एक अभिभावकको नजरमा समेत हेरेको थिए । हामी दुबै सांसद भएपछि बिकासका कामहरु सम्पन्न गर्नमा थप सघाउ पुग्यो । स्याङ्जा जिल्लाका बिभिन्न ग्रामीण भेगमा खानेपानी, पुल, बाटो र सडकको बिकासका लागि फाइल बोकेर कमल दाई र म बिभिन्न मन्त्रालयमा पुग्थ्यौं । उहाँ र मेरो संयुक्त पहलमा केहि यस्ता योजनाहरु जिल्लामा पार्न सफल भयौं जुन योजनाहरु लामो समयदेखि स्याङ्जामा एकछत्र राज गरेका कम्युनिष्टले समेत सफल पार्न सकेका थिएनन् । देशैभरी काँग्रेसले पराजय भोगिरहेका बेला स्याङ्जामा पनि त्यसको प्रत्यक्ष असरले ११ स्थानीय तहमध्ये ४ स्थानीय तहमा मात्र बिजयी हाँसिल गर्यो ।

यसैगरी २०७४ सालमा सम्पन्न प्रदेश र संघको निर्वाचनमा संघीय संरचना अनुसार स्याङ्जा ३ क्षेत्रबाट २ क्षेत्रमा गाभिन पुग्यो । जसले गर्दा स्याङ्जामा टिकट बितरणमा कठिन परिस्थीतिको सिर्जना भयो । त्यस्तो परिस्थीतिमा पनि अग्रज व्यक्तित्व कमल दाईले मेरा लागि संघ छाडेर आफू प्रदेश सभाको उम्मेद्वार बन्न हाँसीखुसी राजी हुनुभयो । यद्यपी देशैभर काँग्रेसले पराजय भोगिरहेको बेला स्याङ्जाका २ संघ र ४ प्रदेश सभामा जम्मा एक प्रदेशसभा मात्र बिजयी भयो । बिभिन्न अन्तरघात र आफ्नैको असहयोगबाट काँग्रेस पराजीत भएको निश्कर्ष निकालिपनि कतिपयले जिल्लाको नेतृत्व सक्षम हुन नसकेको आरोप लगाउँदै आए । त्यही हारका कारण पछिल्लो समय उहाँ चिन्तित देख्नुहुन्थ्यो र भन्नुहुन्थ्यो हारको जिम्मेवारी लिन तयार छु ।

उहाँ स्याङ्जाको बिकास र जिल्लाको राजनीतिमा सक्रिय हुनुभयो भन्दा पक्कै पनि अन्याय होला । उहाँको निधनले समग्र पार्टीलाई मात्र नभई देशलाई पनि अपुरणीय क्षति पुर्याउनुभएको छ । संविधान सभा सदस्य भएर नेपालको संविधान २०७२ जारी गर्नमा समेत उहाँको योगदान रहेको छ । उक्त संविधानमा उहाँले हस्ताक्षर गर्नुभएको छ जुन समग्र देशलाई उहाँले चिनो स्वरुप छाडेर जानुभएको छ । जबसम्म उक्त संविधान नेपालमा रहिरहन्छ तबसम्म आम नेपालीहरुले उहाँलाई चाहेर पनि बिर्सन सक्दैनन् । यसका अलवा उहाँले समाजसेवाको क्षेत्रमा पनि उत्तिकै योगदान गर्नुभयो । .

यो पनि पढ्नुहोस् :   काठमाडौंलाई खुला तार मुक्त बनाइँदै : जमिनमुनि तार राख्ने काम शुरु

काँग्रेसमा गुट उपगुटको अन्त्य गर्दै पार्टीलाई बैचारिक ढंगले चलाउनुपर्छ भनी फरक मत राख्ने उहाँले सदैव आफ्ना मन्तब्यमा जल, जमिन, जङ्गल र जवानी (४ ज) को भरपुर सदुपयोग गर्दै समृद्ध नेपालको निर्माण गर्नुपर्ने बताउनुहुन्थ्यो । उहाँको निधनसँगै चार ‘ज’ को समायोजन गर्दै नेपाललाई विश्वकै विकासित मुलुक बनाउने सपना समेत अलपत्रमा परेको छ । अब उहाँको उक्त सपना साकार बनाउने जिम्मेवारी तपाई हाम्रै काधँमा थुप्रिएको छ त्यसैले आउनुस् तपाई हामी सबै हातमा हात, काँधमा काँध मिलाएर उहाँको सपना पुरा गरौं । जय नेपाल ! हार्दिक श्रद्धासुमन स्व. कमल प्रसाद पंगेनी ।

(स्व. पंगेनीसँग जिल्ला देखि केन्द्रसम्म सहयात्रा गरेका थापा संविधान सभा सदस्य एवं काँग्रेसका युवा नेता हुन । यो लेख हामीले स्व. पगेनीको पहिलो स्मृति दिवसका अवसरमा प्रकाशन गरिएको ‘कमल पंगेनी स्मारिका’ बाट लिएका हौं ।)

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु