The news from New Generation with new vision.

नेपाली काँग्रेसमा पुर्ण समर्पित एक नेताको सम्झनामा !

225

– प्रदिप पौडेल 

नेपाली काँग्रेसमा पञ्चायतका दुःख र त्यो बेलाको परिवेश बुझेका थुप्रै कार्यकर्ताहरु अहिले पनि सहभागी रहेका छन् । नेपालको सबैभन्दा पुरानो र लामो यात्रा तयार गरेको राजनीतिक दल नेपाली काँग्रेसको इतिहास नै नेपालको राजनीतिक इतिहास हो भन्न सकिन्छ । यो इतिहास आज एकाएक निर्माण भएको होईन्, यो इतिहास निर्माण गर्नका लागि धेरै व्यक्तिहरुले धेरै लामो समयदेखि योगदान पुर्याएका छन् ।

पञ्चायतको परिवेशमा हेर्ने हो भने काँग्रेस बन्न र काँग्रेस हुम भनेर खुलेआम हिड्न सक्ने अहिलेको जस्तो सहज परिवेश थिएन् । पञ्चायत कालमा समर्पण, योगदान गर्न तयार भएका, सैद्धान्तिक र वैचारिक रुपबाट प्रेरित भएकाहरु मात्र नेपाली काँग्रेसको अभियानमा सहभागी हुने गर्थे । तीनै मध्येका एक पात्र हुनुहुन्छ, स्व. कमल प्रसाद पंगेनी । जो सँग राजनीतिमा मात्र नभई अन्य क्षेत्रमा पनि योगदान गर्न सक्ने क्षमता थियो । विद्यालय तहको अध्ययन गर्दाका वखत नै नेपाली काँग्रेसको अभियानमा सक्रिय हुनुभएका पंगेनी एसएलसी पास गर्ने कलिलो उमेरमा नै काँग्रेसका विविध गतिविधिमा सक्रिय हुन थालिसक्नु भएको थियो । बेलामा नेपाली काँग्रेस अहिलेको जस्तो खुला थिएन् कहि कतै गतिविधि भईहाले पनि लुकीछिपी गतिविधिहरु हुने गर्दथे ।

नेपाली काँग्रेसमा लाग्नकै निम्ती कसैले आएर सम्झाउने परिस्थीति थिएन् आफै खोजेर जोडिनुपदथ्र्यो । त्यस्तो बेलामा पनि कमल पंगेनी नेपाली काँग्रेसको पञ्चायत बिरोधी अभियानमा सहभागी हुनुभयो । एउटा कलिलो युवा नयाँ संकल्पका साथ बलिदान हुन पनि तयार भएर अगाडी वढ्यो । मैले पढेको छु, वी.पी. कोइराला स्याङ्जा जाने क्रममा वी.पी कोइरालाई मण्डलेहरुले आक्रमण गर्न खोज्दा आफैलाई जोखिममा राखेर श्रद्धय नेता कोइरालाको सुरक्षा दिने अग्र पक्तिमा पंगेनी पनि हुनुहुन्थ्यो । त्यस्ता गतिविधिहरुले तत्कालीन व्यवस्था र प्रहरी प्रशासनको तारो भइन्थ्यो तर त्यसको कुनै प्रवाह नगरी पंगेनीले कयौं पटक यस्ता कामहरु गर्नुभएको छ । प्रहरीको कस्टडीमा थुप्रै पटक यातना भोग्नुभएका पंगेनीले पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्दा समेत धेरै पटक लखेट्ने, यातना दिने गरेपनि उहाँ कहिल्यै पनि डग्ने, डराउने गर्नुभएन बरु थप निडर र निर्भिक भएर नेपाली काँग्रेसको अभियानमा लागिरहनुभयो । त्यस बेलामा कुनै पद प्राप्तिको लोभले त्यसो गरिएको थिएन, देश र समाजको स्वतन्त्रताका निम्ती उहाँले गरेको निःस्वार्थ समपर्ण थियो ।

यो पनि पढ्नुहोस् :   आज कृष्णाष्टमी तथा गौरा पर्व मनाइँदै

एउटा गाउँले परिवेशमा धेरै अभावहरुबाट गुज्रिएर पनि आफूलाई त्यो संघर्षको चरणबाट अगाडी बढाउने यात्रा उहाँका लागि पक्कै पनि सजिलो भने थिएन् । त्यसपछि पंगेनीले नेपाली काँग्रेसप्रतिको यात्रा अझै निरन्तर सक्रिय रुपमा अगाडी वढाउनुभयो । नेपाली काँग्रेसको २०४७ सालपछिको खुला राजनीतिक परिवेशमा नेपाली काँग्रेसका बिभिन्न सांगठनिक संरचनामा रहेर कुशलापूर्वक र सक्रिय रुपमा भूमिका निभाउँदै आउनुभयो । नेपाल बिद्यार्थी संघको केन्द्रिय समितिमा रहेर समेत उहाँले काम गर्नुभयो । नेबिसंघको केन्द्रिय कार्यसमितिमा उहाँले गरेको भूमिका त्यतिवेला कार्यसमितिमा हुने सबैले हालसम्म पनि स्मरण गरिरहन्छन् । त्यसपछि पूर्णतया पार्टीको राजनीतिमा सक्रिय रहनुभएका उहाँको काम गर्ने शैलीलाई सबैले मुक्तकण्ठले प्रशंसा गर्दै आएका छन् ।

उहाँ बिशेष गरी बिकासको एजेण्डालाई प्राथमिकता राखेर अगाडी बढ्नुभयो । मलाई लाग्छ, ‘कमल पंगेनीसँग गएर कोहि कसैले व्यक्तिगत समस्या राख्यो, त्यो समस्या समाधान गर्नका निम्ती उहाँले जो कोहिलाई पनि सहयोग गर्नुहुन्छ, मेरो फुर्सद छैन्, मेरो काम छ, मैले सम्बन्धित मान्छेलाई चिनेको छैन् भनेर उहाँले यस्ता कुराहरु भनेर कहिल्यै टार्ने गर्नुभएन् ।’ तत्काल सम्बन्धित ब्यक्तिको समस्या समाधानका निम्ती डटेर लाग्नुहुन्थ्यो । उहाँ जनताको कामको निम्ती, बिकासको कामको निम्ती कहि पनि जान हिचकिच्याउनु भएन । कसैसँग कुरा गर्न पछि पर्नुभएन, जहाँ पुगेर पनि उहाँले आफ्नो क्षेत्रको, आफ्नो जिल्लाको, त्यस क्षेत्रका कार्यकर्ताको काम गर्ने मामलामा चाहे पदमा रहँदा होस् चाहे नरहँदा होस् उहाँको सक्रियता लोभ लाग्दो छ । उहाँ युवाहरुलाई अझ बिशेष ढंगले प्रेरित गर्दै सक्दो सहयोग गर्नुहुन्थ्यो । त्यही सक्रियताका कारण त उहाँ जिल्ला देखि देशैभरीका कार्यकर्ताबीच लोकप्रिय हुनुभयो । सबै कार्यकर्तालाई महत्व दिने, समान ब्यबहार, बिकास निर्माणका कार्यलाई प्राथमिकताका साथ अगाडी वढाउने मामलामा धेरै कार्यकर्ता र राजनीतिक कर्मीहरुले उहाँबाट केहि न केहि सिकेको हुनुपर्छ । मलाई लाग्छ, उहाँले छोटो समयमा नै स्याङ्जामा पूर्वाधार निर्माण गर्ने कुरामा धेरै ठुलो योगदान पुर्याउनुभएको छ । एउटा कुशल संगठक पंगेनीले कार्यकर्ताहरुमा कुनै पनि प्रकारको विभेद गरेको पाइदैनथ्यो । उहाँ स्याङ्जाकै बिकासका लागि खट्ने, जिल्लामा बिभिन्न अन्तक्रियात्मक कार्यक्रमहरुको आयोजना गर्ने, जनताको घरदैलोमा पुग्ने नेता भएकाले उहाँलाई काठमाडौंमा भन्दा वढी जिल्लामै भेट्ने गरिन्थ्यो । उहाँबाट काँग्रेसका अरु काठमाडौं केन्द्रित रहने नेताहरुले कसरी जिल्लामा केन्द्रित हुनुपर्छ भन्ने समेत सिक्नुपर्ने देखिन्छ ।

उहाँमा राजनीतिसँगै एक खालको वैचारिक क्षमता समेत देखिन्थ्यो । नेपाली काँग्रेसको जिल्ला सभापति र निर्वाचित सांसद हुन जनताको विश्वासबाट मात्र सम्भव हुन्छ । सांसद र जिल्ला सभापति भईसकेपछि राष्ट्रिय मञ्चहरुमा उहाँको उपस्थिीति थप सहज बन्दै गयो र मञ्चहरुमा दिएका प्रस्तुतीले परिवर्तनको पक्षमा र यथास्थिीतिलाई बदल्ने पक्षमा उहाँ केन्द्रित भएको देखिन्थ्यो । नेपाली काँग्रेसलाई वैचारिक, सांगठनिक र व्यबहारिक पक्षमा परिवर्तन गर्नुपर्छ भनेर अभियान नै अगाडी बढाउन खोजिरहनु भएको थियो । यथास्थिीतिवादी सोचले काँग्रेसलाई नयाँ उचाईमा पुर्याउन सक्दैन् भन्ने कुरामा संकल्पित हुनुहुन्थ्यो । बिशेष गरी हेटौडामा सम्पन्न सभापतिहरुको सम्मेलनमा उहाँले जुन बिचार व्यक्त गर्नुभयो उक्त बिचारले पार्टीलाई एउटा परिवर्तनकारी बाटोमा डोर्याउने अभियानमा जुटेको देखिन्थ्यो । मञ्चमा दिएको एउटा अभिव्यक्तिले बास्तवमै राजनीतिक उचाईमा पुर्याएको थियो । हामीसँग पछिल्लो समय अनौपचारिक रुपमा छलफल हुँदा पनि अब हामी नयाँ बिषयका साथ सँगै अगाडी वढ्ने कुरा गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस् :   प्रधानमन्त्री विदेश भ्रमणमा रहँदा समेत भिडियो कलमार्फत मन्त्रिपरिषद बैठक बस्न सक्ने

सबैसँग आत्मिय व्यबहार गर्ने पंगेनी जो सँग पनि गहिरिएर नै सम्बन्ध राख्नुहुन्थ्यो । उहाँका अरु थुप्रै कामहरु पनि हुँदा हुन् तर अरु कुनै कामहरु प्राथमिकता पर्दैनथे खाली काँग्रेसको संगठनलाई कसरी चुस्त बनाउन सकिन्छ ? र काँग्रेसको बृद्धि बिकासको कुरामा मात्रै तल्लीन हुनुहुन्थ्यो । मलाई लाग्छ, उहाँ जहिलेदेखि काँग्रेसमा लाग्नुभो त्यो दिनदेखि नै घर परिवार लगायत अन्य बिषयहरुमा भन्दा पनि पार्टीकै बिषयमा बढी सक्रिय हुनुभयो । करिब ३५ बर्ष पार्टीकै लागि समर्पित भएर जिउनुभएका पंगेनीमा भएको क्षमता, व्यबहार, लगनशीलता, पार्टीप्रतिको बफादारिता यी सबै कुराले नेपाली काँग्रेसको उच्च तथा नेतृत्व तहमा पुग्न सक्ने व्यक्ति हुनुहुन्थ्थ्यो भनेर सहजै अनुमान लगाउन सकिन्छ ।

उहाँ जस्तो कुशल संगठक, क्षमतावान राजनीतिज्ञलाई छोटो समयमै गुमाउँदा नेपाली काँग्रेस पार्टीलाई ठूलो अपुरणीय क्षति पुगेको छ । आज स्याङ्जामा मात्र नभएर कमल पंगेनीलाई चिन्ने व्यक्तिहरु देशैभरी छरिएर रहेका छन् । पार्टी संगठनप्रति जुन रचनात्मकता अपनाउनुभएको थियो त्यसको हामी सबैले अनुसरण गरेर अगाडी वढ्नुपर्छ र सदा–सदाका लागि कमल पंगेनीलाई स्मरणमा राख्नुपर्छ । आफ्नो जीवनको अन्त्यसम्म पार्टीको लागि गर्नुभएको त्याग, योगदान, बलिदान, समपर्णकाप्रति हामी सदा ऋणि हुने छौं त्यसका लागि उहाँलाई सदैव हामीले सम्झना राखेर सम्मान गर्नु जरुरी छ ।  (पौडेल नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रिय सदस्य हुन् । स्व. पगेनीको पहिलो स्मृति दिवसका अवसरमा प्रकाशन गरिएको ‘कमल पंगेनी स्मारिका’ बाट साभार ।)

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु