The news from New Generation with new vision.

गोर्खा भर्ती सम्बन्धी त्रिपक्षीय सन्धिबारे ओली र मेबीच छलफल

32

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गोर्खा सैन्य भर्ती सम्बन्धी नेपाल, भारत र ब्रिटेनबीच भएको त्रिपक्षीय सन्धिको व्यापक पुनरावलोकन गर्नुपर्ने जनाएका छन्। ब्रिटेनको भ्रमणमा रहेका ओलीले आफ्नी ब्रिटिश समकक्षी टरिजा मेसँगको भेटघाटमा त्यस्तो जनाएका हुन्।

मंगलवार अपरान्ह ब्रिटिश प्रधानमन्त्रीको कार्यालय टेन डाउनिंग स्ट्रीटमा भएको छोटो भेटवार्तामा ओलीले सन् १९४७ मा ब्रिटेन, भारत तथा नेपालबीच भएको त्रिपक्षीय सन्धियता परिस्थिति निकै बदलिइसकेकाले त्यसको पुनरावलोकन गर्नुपर्ने भनाइ राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए।

प्रधानमन्त्री ओलीले गोर्खा सैनिकहरू नेपाल र ब्रिटेनबीचको सम्बन्धमा सबैभन्दा स्पष्टसँग देखिने कडी भएको बताएका थिए। उनले भूतपूर्व गोर्खा सैनिकहरूका केही मागलाई सम्बोधन गरेकोमा ब्रिटिश सरकारलाई धन्यवाद दिँदै ब्रिटिश जनता र राजमुकुटप्रति गोर्खालीहरूको अद्वितीय सेवालाई ख्याल गर्दै उनीहरुका मागप्रति ध्यान दिन आग्रह पनि गरेका थिए।

त्यसको जवाफमा प्रधानमन्त्री मेले ब्रिटिश गोर्खा सैनिकहरूको ऐतिहासिक योगदानको प्रशंसा गर्दै यो विषयबारे आफ्ना उत्तराधिकारीलाई जानकारी गराउने बताइन्। ब्रिटिश प्रधानमन्त्री टरिजा मेले गत सातामात्रै सत्तारुढ कन्जरभेटिभ पार्टीको नेता पदबाट राजीनामा दिएकी थिइन्। अब केही सातापछि चुनिने सत्तारुढ दलका नयाँ नेता ब्रिटेनको नयाँ प्रधानमन्त्री हुनेछन्।

भूतपूर्व गोर्खा सैनिकहरूले पेन्सन लगायतका विषयमा आफुहरुलाई भेदभाव गरिएको बताउँदै आफ्ना मागहरू सम्बोधन नगरिए फेरी नयाँ चरणको आन्दोलन थाल्ने चेतावनी दिँदै आएका छन्। तर ब्रिटिश सरकारले भूतपूर्व गोर्खा सैनिकहरूप्रति भेदभाव भएको भन्ने आरोपलाई अस्वीकार गर्दै आएको छ।

उसले गत मार्च महिनामा भूतपूर्व गोर्खा सैनिकहरूको पेन्सन ३४ प्रतिशतसम्म बढाइने घोषणा गरेको थियो।
भूतपूर्व गोर्खा सैनिकहरूले भने सन् १९९७ भन्दा अघि सेवानिवृत्त भएका ब्रिटिश सैनिकहरूको तुलनामा आफुहरुले पाउने पेन्सन अझै निकै कम रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले मंगलवार बिहान लन्डनस्थित नेपाली दूतावासमा भूतपूर्व गोर्खा सैनिकका विभिन्न संस्थाका अगुवाहरूलाई भेटेका थिए। भेटघाटमा आफुहरूले गोर्खा मामिलामा नेपाल सरकारले ब्रिटेनसँग उच्चस्तरीय वार्ता गर्नुपर्ने, त्यसो नभए गोर्खाहरू सशक्त सत्याग्रह आन्दोलन गर्न बाध्य हुने प्रधानमन्त्री ओलीलाई बताएको एकजना गोर्खा अगुवा ज्ञानराज राईले बताए।

यो पनि पढ्नुहोस् :   ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

राजकुमार ह्यारीसँग भेट
मंगलबार नै प्रधानमन्त्री ओली तथा श्रीमती ओलीले लन्डनस्थित नेपाली दूतावास नजिकै रहेको केन्सिङ्गटन प्यालेसमा गएर राजकुमार ह्यारीलाई भेटेका थिए।

ब्रिटिश राजपरिवारका सदस्य ह्यारीले झन्डै तीन वर्षअघि नेपालको भ्रमण गरी गोर्खा जिल्लामा भूकम्पबाट भत्किएको एउटा विद्यालय पुनर्निर्माण गर्न सघाएका थिए।

अफगानिस्तानमा तैनाथ ब्रिटिश सेनामा कार्यरत गोर्खा सैनिकहरुसँगै केही दिन बिताएका राजकुमार ह्यारीले सार्वजनिकरूपमै गोर्खा सैनिकहरुको प्रशंसा गर्ने गरेका छन्।

यसअघि प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जिनिभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) स्थापनाको सय वर्ष पुगेको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गरी सोमवार लन्डन आइपुगेका थिए।

मंगलबार नै प्रधानमन्त्री ओलीले लन्डनस्थित नेपालो दूतावासमा गैर आवासीय नेपाली संघका अगुवाहरुलाई भेटेका थिए।

गैर आवासीय नेपाली नागरिकता
भेटमा गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले हाल संसदमा विचाराधीन नागरिकता सम्बन्धी विधेयकमा रहेको गैर आवासीय नेपाली नागरिकताको प्रावधानलाइ छिटो, छरितो र झन्झट मुक्त बनाउन आग्रह गरेका थिए।

त्यस्तै गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष योगकुमार फगामीले नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल वायु सेवा निगमको लन्डन-काठमाडौँ सिधा हवाइसेवा संचालन गर्न माग गरेका थिए। बुधबार बिहान लन्डनस्थित नेपाली दूतावासले प्रधानमन्त्री ओलीको सम्मानमा एउटा स्वागत समारोह आयोजना गर्दैछ।

बुधबार नै उनी भूमिगत रेल चढेर लण्डनबाट फ्रान्सको प्यारिश जाँदैछन्। प्रधानमन्त्री ओलीको आउँदो आइतबार स्वदेश फर्कने कार्यक्रम छ। बीबीसीको सहयोगमा

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु