The news from New Generation with new vision.

यसरी विकसित भएको थियो सुदूरपश्चिमको हावाहुरी

काठमाडौँ । सुदूरपश्चिम नेपालमा बिहीवार राति आएको हावाहुरी र वर्षा प्रिमनसुन अर्थात् वर्षायामअगाडि हुने प्राकृतिक प्रक्रियाअनुरूप नै भए पनि त्यसको वेग र समय भने असामान्य देखिएको जल तथा मौसम विज्ञान विभागका विशेषज्ञहरूले बताएका छन्। कैलालीबाट सुरु भएको तीव्र गतिको हावाहुरी पूर्वतिर लागेको थियो।

सो हावाहुरीले कैलाली र कञ्चनपुरमा धनजनको क्षति पुर्‍याएको थियो। कैलालीको गोदावरी र टीकापुरमा दुई जनाको मृत्यु भएको थियो भने कम्तीमा ७० जना मानिस घाइते भएका थिए। प्रिमनसुन गतिविधि सक्रिय भएकै बेलामा पूर्वी र पश्चिमी वायुका प्रभावका कारण मौसम बिग्रिएको वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताइन्।

वर्षायाम सुरु हुनुभन्दा अघि चैतदेखि जेठसम्मको समयमा प्रिमनसुन गतिविधि हुन्छ। यो बेला प्राय: मेघगर्जनसहित वर्षा हुन्छ र हावाहुरी चल्छ।

बाह्य र स्थानीय वायुको सम्मिश्रण
कैलाली र कञ्चनपुरमा कसरी शक्तिशाली हावाहुरी बन्न गयो भन्ने प्रश्नमा कँडेलले तातो र ओसिलो हावा एवम् सुख्खा चिसो हावाको सम्मिश्रणका कारण त्यसो हुन गएको बताइन्। त्यसपछि दक्षिणपूर्वी वायु र पश्चिमी वायुको समिश्रणको प्रभाव देखियो, उनले भनिन्। नेपालको पश्चिमी भूभाग र भारतको उत्तराखण्ड आसपासका केही भूभागमा बङ्गालको खाडीबाट आएको दक्षिणपूर्वी हावाको प्रभाव र दुई तिरबाट आएको हावा त्यहाँ सम्मिश्रण भएकोजस्तो देखिन्छ।

लामो समयसम्म पश्चिमी भेगमा खासै वर्षा नभएकाले त्यहाँ धेरै तापमान बढ्न गएर त्यहाँ सामान्यभन्दा ठूलो हुरी चलेको उनको तर्क छ। त्यसरी तापक्रम वृद्धि हुँदै जाँदा त्यहाँको वायुको चाप चाहिँ न्यून हुँदै जान्छ। जसको कारण तातो हावा माथि गएर न्यूनचापीय क्षेत्र तयार हुन्छ। त्यहाँ बाहिरबाट आएको जलवाष्प भएको हावा पनि माथिल्लो वायुमण्डलमा गएर मिसिने र मेघगर्जनसहित हावाहुरी, चट्याङ ल्याउने किसिमको बादल बन्ने उनले बताइन्।

कैलालीमा तापक्रम बढेको अवस्थामा पश्चिमी र पूर्वीय वायु मिसिँदा त्यो स्थिति उत्पन्न भएको उनको विश्लेषण छ।

यो पनि पढ्नुहोस् :   त्रिभुवन विमानस्थलबाट अपहरणमा परेकी महिलाको सकुशल उद्धार

काठमाडौँसम्म आइपुग्यो
कैलालीमा बिहीवार राति सात बजेपछि सुरु भएको हावाहुरी सर्दै शुक्रवार बिहान पाँच बजेतिर काठमाण्डू उपत्यकासम्म आइपुग्यो। कँडेल भन्छिन्, हावा माथिल्लो वायुमण्डलसम्म पुगेर चिसियो र त्यसपछि बादल बन्यो। अनी मेघगर्जनका साथै हावाहुरी र पानी ल्याउँदै बिस्तातै पूर्वतिर सर्ने क्रममा काठमाडौँसम्म पनि आइपुग्यो र पछि हराएर गयो।

चैतदेखि जेठसम्मको समयमा हुने प्रिमनसुन गतिविधि यसपालि धेरै बलियो देखिएको छ। धेरै वर्षा भएका कारण केही नदीहरूमा खतराको तह पनि कट्ने गरी पानीको तह बढेको पाइएको छ।

खण्डवृष्टि बढी
पछिल्लो समय बारा, पर्सा, नवलपरासी र अहिले कैलालीमा निश्चित ठाउँमा मात्र बढी हावाहुरी आएको देखियो। प्रिमनसुन वर्षा सुरु हुनुअघिको समयमा एकदम सानो र निश्चित ठाउँमा वर्षा, हावाहुरी र बदलीजस्ता गतिविधि हुन्छन्।

यदि त्यो पूर्णतः स्थानीय वायु मात्र हो भने एकदमै सानो ठाउँमा मात्र प्रभाव पर्छ। त्यसलै यो समयमा हामीले प्रायः खण्डवृष्टि भएको देख्न सक्छौँ, कँडेल भन्छिन्।

बिहीवारको घटनाको शैली विश्लेण गर्दा त्यहाँ स्थानीय वायुले मात्र प्रभाव नपरेको स्पष्ट हुने मौसमविद्हरू बताउँछन्। कँडेल भन्छिन्, बाहिरबाट पनि वायु भित्रिएको देखिन्छ। त्यसैले हावाहुरी कैलालीमा मात्र सीमित नभई पूर्वतिर सर्दै काठमण्डूसम्म आइपुग्यो।

पूर्वानुमान गर्ने प्रविधि छैन
प्रिमनसुनमा बढी तापक्रम हुँदा र जलवाष्पयुक्त वायु आउँदा त्यसलाई माथिसम्म लाने प्राकृतिक प्रणाली विकसित हुन्छ र मेघगर्जनसहित हावाहुरी तथा असिनासहित पानी पर्छ। यस्ता स्थानविशेषमा आउने हावाहुरीको पूर्वानुमान गर्न चाहिने आधुनिक प्रविधि हामीसँग छैन, कँडेल भन्छिन्।

तर केही घण्टाअघि बादल बनेको देखेर सामाजिक सञ्जालमार्फत् बदलिँदो मौसमबारे सर्वसाधारणलाई सूचना दिएको उनी बताउँछिन्। उनका अनुसार त्यही भेगमा यस्तै ठूलो हावाहुरी जान्छ भन्ने थाहा थिएन र त्यस प्रकारको पूर्वानुमान गर्न पर्याप्त जनशक्ति उपलब्ध छैन। जल तथा मौसम विज्ञान विभागले अहिले देशभरिका झन्डै ५०० स्थानबाट मौसमसम्बन्धी विवरण सङ्कलन गर्ने गरेको छ।बीबीसीको सहयोगमा

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु