वीरगञ्ज । सीमावर्ती शहर रक्सौलमा वीरगञ्जकी दुई किशोरीको शव फेला परेको छ । रक्सौल-सुगौली रेल्वे खण्ड अन्तर्गत कंगना ढाला नजिकै रेलको लिगमा उनीहरूको शव फेला परेको छ ।
घटना स्थलमा भेटिएको विद्यार्थी परिचयपत्रका आधारमा उनीहरु वीरगञ्जको पब्लिक कलेजका छात्रा भएको खुलेको छ । परिचयपत्रमा निभा कुमारी साह नाम उल्लेख छ ।
परिचय पत्रमा उल्लेख गरिएको मोबाइल नम्बरमा सम्पर्क गर्दा निभाका बुवा राजेश्वर साहले उठाएपछि मृतकको खनाखत भएको हो ।
पर्साको कलिकामाई गाउँपालिका-२ भेडिहारी बस्ने राजेश्वर साहले आफ्नो छोरी निभा विपीसी कलेजको कक्षा ११ मा अध्ययनरत रहेको बताए ।
अर्की छात्रा सोही गाउँपालिका-३ हरिहरपुर बस्ने किरण चौरसिया रहेको खुलेको छ । एक जनाको खुट्टा काटिएको छ भने अर्कीको टाउको नै काटेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।