The news from New Generation with new vision.

मनै लोभ्याउने स्याङ्जाका पर्यटकीय र धार्मिक गन्तब्य (फोटो फिचरसहित)

नयाँ पुस्ता बिशेष : 

गोविन्द मरासिनी/काठमाडौं । गण्डकी प्रदेशको (प्रदेश नं ४) राजधानीसँग सिमाना जोडिएको पर्यटकीय तथा धार्मिक दृष्टिकोणबाट प्रचुर सम्भावना बोकेको एक जिल्ला हो स्याङ्जा ।

पोखराबाट सवारीमा करिब १ घण्टाको यात्रा पश्चात रमणीय र पर्यटकीय स्याङ्जा जिल्ला पुगिन्छ । स्याङ्जा जिल्लामा रहेका विविध पर्यटकीय स्थान र धार्मिक स्थलहरुले स्याङजा पुग्ने जो कोही आन्तरिक तथा वाह्य पर्यटकहरुको मन लोभ्याउँछ । हालसालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको नेपालका एकसय पर्यटकीय गन्तव्यमा स्याङ्जाका चार गन्तव्यलाई पर्यटकीय सूचीमा सुचीकृत गरिएको छ ।

जसमध्ये २ पर्यटकीय गन्तब्यलाई नयाँ गन्तब्य र दुईलाई प्रबद्र्धनात्मक गन्तब्यको सूचिमा समावेश गरिएको हो । स्याङ्जाका सतौं चण्डीथान र आलमदेवी नयाँ गन्तव्य एवम् सिरुबारी र स्वरेक मैदानलाई प्रवद्र्धनात्मकतर्फ समावेश गरिएको छ । यहाँ हामीले स्याङ्जा जिल्लामा घुम्न लायकका पर्यटकीय गन्तब्य र धार्मिक हिसाबले चर्चित केही स्थलहरुको बारेमा चर्चा गरेका छौं ।

दरौं सिरुवारी
स्याङ्जाको उत्तरी भेग आधिखोला गाउँपालिकामा पर्ने स्थापित ग्रामीण पर्यटनको अवधारणामा आधारित दक्षिण एसियाकै पहिलो घरबास (होमस्टे) दरौं सिरुवारी । पोखराबाट करिब ६५ कि.मी टाढा पर्ने शिरुवारी १ हजार ५ सय मिटरको उचाइमा अवस्थित सम्पन्न गुरुङ बस्तीका रूपमा प्रख्यात रहेको छ । 

सिरुबारीमा पुग्न सिद्धार्थ राजमार्गको नागडाँडा, सेतीखोला, बाडखोला र हेलु गरी चार ठाउँको बाटो हुँदै जान सकिन्छ । पर्यटकहरुलाई न्यानो स्वागत, स्थानीय उत्पादनमा आधारित अर्गानीक स्वच्छ खानपिनले सिरुवारी पुग्ने जो कोहिलाई आनन्दीत महसुस गराउँछ ।

सिरुबारीबाट धौलागिरी र माछापुच्छे हिमश्रंखलाको सहजै अवलोकन गर्न सकिन्छ । सिरुवारीलाई पर्यटन मन्त्रालयले हालसालै सार्वजनिक गरेकोपर्यटकीय गन्तब्य अन्तर्गत प्रवद्र्धनात्मक तर्फको सुचीमा सुचीकृत गरेको छ ।

स्वरेक मैदान
स्वरेक मैदान स्याङ्जा जिल्लाको अर्को प्रमुख पर्यटकीय सम्भावना वोकेको स्थान हो । स्याङ्जाको भीरकोट नगरपालिका वडा नं ५ मा पर्ने स्वरेक मैदान पर्यटकीय रुपमा विकास गर्न खोजिएको छ । हालसालै यस स्थानमा पहिलो पटक अन्तराष्ट्रिय खुल्ला प्याराग्लाईडिङ प्रतियोगिता तथा राष्ट्रिय हवाई खेलाडी छनौट प्रतियोगिता २०७४ सम्पन्न भईसकेकाले यस स्थानको नाम नेपालमा मात्र नभई विश्वमै उचो भैसकेको छ । 

सिद्धार्थ राजमार्ग अन्तर्गत भीरकोट नगरपालिका–१ बयरघारीबाट ९ किलोमिटर र वालिङ नगरपालिकाको वालिङ बजारदेखि १०/११ किलोमिटरको कच्ची सडक हुँदै यस स्थलमा पुग्न सकिन्छ । स्वरेकमा दक्षिण एशियाकै पहिलो प्याराग्लाइडिङ स्कूल स्थापना समेत गरिएको छ । स्वरेक मैदानलाई पनि पर्यटन मन्त्रालयले हालसालै सार्वजनिक गरेको पर्यटकीय गन्तब्य अन्तर्गत प्रवद्र्धनात्मक तर्फको सुचीमा सुचीकृत गरेको छ ।

भालुपहाड
गण्डकी प्रदेशको राजधानी पोखराबाट सिद्धार्थ राजमार्गको जाने बाटोमा २८ किलोमिटर पार गरेपछि भालुपहाड पुगिन्छ । मुख्य हाईवेमा नै घुम्ती र चट्टानको पहरो भालुपहाडले सबै यात्रुहरुलाई आनन्द दिलाउने गर्दछ ।

भालुपहाडको बाटो भएर यात्रा गर्ने जो कोहि पनि एक क्लिक फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्न लालयित हुन्छन् । अझ वेलावखत त्यहाँको दृश्य कैदसहित गरिने म्यूजिक भिडियो र चलचित्रको सुटिङले यस स्थानलाई झनै सबैसामु लोकप्रिय बनाईदिएको छ । भालुपहाडलाई ‘भालुपहरो’ पनि भन्ने गरिन्छ । 

यस स्थानमा विद्यालयबाट वा विभिन्न संस्थाबाट बनभोजका लागि पनि पुग्ने गर्दछन् । फेदीखोला गाउँपालिमा पर्ने यस स्थानलाई उक्त गाउँपालिकाले पर्यटकीय केन्द्र बनाउने गुरुयोजना निर्माण गरेको छ, यदि उक्त गुरुयोजनाले गति लियो भने आगामी दिनमा भालुपहाडलाई स्याङ्जाको प्रमुख पर्यटकीय गन्तब्यका रुपमा पर्यटक भित्राउन सकिन्छ ।

स्याङ्जा घर भई हाल काठमाडौंमा अध्ययन गर्दै आएकी मनिषा शर्मा घरमा जाँदा प्रायः साथीहरुसहित भालुपहाड घुम्न नगई काठमाडौं फर्कन मनै नलाग्ने बताउँछिन् । सिद्धार्थ राजमार्ग बन्नु अगावै यस स्थानमा रहेको वनजंगलमा भालुहरु बस्ने गरेपनि अहिले उजाड भएसँगै खासै जंगली जनावरहरु भने पाइन्न ।

कालीगण्डकी जलविद्युत आयोजना र सेतीवेणी
कालीगण्डकी जलविद्युत आयोजना पोखराबाट करिब एक सय किलोमिटर पश्चिममा रहेको छ । कालीगण्डकी जल विद्युत परियोजना पनि नेपालको सबैभन्दा ठूलो जलप्रवाह परियोजना हो । 

यो पनि पढ्नुहोस् :   आज आइतबार, निकै राम्रो छ यी ८ राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

यस जलविद्युत आयोजनाको विद्युत क्षमता १ सय ४४ मेगावट रहेको छ । कालीगण्डकी जलविद्युत आयोजना स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं ५, ७ र गल्याङ नगरपालिकाको वडा नं २ सम्म फैलिएको छ । कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि आन्तरिक तथा वाह्य पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । 

पर्वत, गुल्मी र स्याङ्जाको संगमस्थलमा पर्ने सेतीवेणीमा विश्वकै ठूलो शालिग्राम शिलाको अध्ययन अवलोकन गर्नका साथै स्टिमरमा जलयात्रा गर्नका लागि विभिन्न जिल्लासहित विदेशबाट समेत पर्यटक आउने गरेका छन् । बर्षात्को समयमा कालीगण्डकीको बहाव बढ्ने भएकाले जेठको अन्त्यदेखि असोज १५ सम्म चाहि यो बन्द रहन्छ ।

विश्वकै ठूलो र कालीगण्डकी नदीमा मात्र पाइने भएकाले पछिल्लो समय भारतीय पर्यटक तथा तीर्थयात्री पनि शालिग्राम शिलाको दर्शन गर्न आउने गरेका छन् । शिलामा एकादशी, माघेसङ्क्रान्ति, बालाचतुर्दशी, शिवरात्रि लगायतका पर्वमा विशेष पूजाआजा हुने गर्दछ ।

राम्दी घाट
स्याङ्जा र पाल्पा जिल्लाको सिमानामा रहेको कालिगण्डकी नदी किनारामा रहेको प्रशिद्ध धार्मिक स्थल हो राम्दी घाट । यहाँ वैशाखे सक्रान्ति, कात्तिके ठूली एकादशी सहित बिभिन्न समयमा मेला लाग्ने गर्दछ । यो धार्मीक स्थल सदरमुकामबाट ५२ किलोमिटर दक्षिणमा पर्छ ।

स्याङ्जा जिल्ला आसपासका व्यक्तिहरुको निधन पश्चात यहाँ दाहसंस्कारका लागि पनि लैजाने गर्दछन् । राम्दीघाटमा वरपट्टी एउटा वृद्धाआश्रम पनि रहेको छ जहाँ करिब एक सय बृद्धवृद्धाहरु बसोबास गरेका छन् । राम्दीघाट नजिकै शिद्ध गुफा समेत रहेको छ । उक्त गुफामा लगेर परम्परागत समयमा व्रतबन्ध गराउनुका साथै घरमा गाई, भैसी बिहाउँदा दुध चढाएमा राम्रो हुने विश्वास गरिन्छ ।

बहाकोट कालिका मन्दिर
पुतलीबजार न.पा. वडा नं ८ मा अवस्थित अर्को पर्यटकीय तथा धार्मिक गन्तब्यका रुपमा बहाकोटको डाडामा रहेको बहाकोट मन्दिर पनि एक हो ।

परापूर्व कालमा यस डाडाँमा २२ से २४ से राजाहरु बसोबास गरेको र राजाहरु शिकार खेल्ने क्रममा सुतेका वाग र वगीनीलाई शिकार गरेपछि त्यही स्थानमा भोलीपल्ट २ दिदी बहिनी उत्पती भएको र उनीहरुको नाम कुश्मावती र कण्ठावती रहेको र ती २ दिदी बहिनी विलप भएको स्थानमा बहाकोट कालिकाको मन्दिरको निर्माण गरिएको मन्दिरका पण्डित धर्मराज मरासिनी बताउँछन् ।

यस मन्दिरमा बिशेष गरी वडा दशैंको नवमी, चैतेदशैको अष्टमी लगायतका प्रमुख दिनहरुमा कुश्मावती, कण्ठावती र देवीको पुजा हुने गर्दछ । पुजाका लागि यस स्थानमा स्याङ्जासहित कास्की, तनहुँ, पर्वत लगायतका जिल्लाबाट भक्तजनहरु आउने गर्दछन् । यस मन्दिरको भक्कल गरेर पुजा गरेमा मनले चिताएको कुरा हुने विश्वास समेत रहेको पण्डित मरासिनी बताउँछन् ।

कैलाश गुफा
यो गूफा पुतलीबजार नगरपालिका वडा नं ८ (साविकको बहाकोट गाविस ७ र ८) मा पर्दछ । पौराणीक कालमा भगवान महादेव यसै गुफामा आएर बसेको विश्वास गरिन्छ । यस गूफामा जाने २ वटा प्रवेश रहेका मार्गहरु छन । ती दुबै करीव ३०० मिटर भित्र पसे पछि भेट हुन्छ भने एउटा मार्ग अझै अगाडि बढिरहेको छ त्यसको अन्त्य कहाँ हुन्छ ठ्याक्कै एकिन छैन ।

यस गूफा भित्र आकर्षण देवी देवता र गाईको मुख लगाएत भित्र एउटा छ्याङ–छ्याङ गर्ने पोखरी समेत स्थायीहरुको भनाइ छ । पटक–पटकको वाढी पहिरोले अहिले त्यस गुफा भित्र कोहि पनि नगएको र सरसफाई पनि नगरेकाले उक्त गुफा नै लोप हुने अवस्थामा पुगेको स्थायीको गुनासो छ ।

सतौं चण्डीथान र चण्डीकालीका
चण्डीथान स्याङ्जा जिल्लाको अर्को एक पर्यटकीय तथा धार्मिक दृष्टिले सम्भावना बोकेको स्थान हो । पुतलीवजार न.पा. वडा नं. ८ को संतौमा यो मन्दिर पर्दछ । स्याङ्जाबाट करीब डेढ घण्टा पैदल हिंडेर वा गाडीमा पनि जान सकिन्छ । हाल सतौं सम्म जानका लागि कालोपत्रे भएकाले यस ठाउँमा पुग्न झनै सहज भएको छ । 

यहाँ विभिन्न तिथिहरुमा श्रद्धालु भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । रमणिय ठाँउमा रहेको यस मन्दिरबाट स्याङ्जा लगाएत विभिन्न ठाँउहरु र मनोरम हिमाली दृष्यहरु पनि देख्न सकिन्छ । नेपाल सरकारको एकसय वटा नयाँ पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत भएको स्याङ्जाको सतौं चण्डीथान पनि एक हो । यो ठाउँलाई बाइसे चौबीसे राज्यका पालामा पश्चिमका चौबीसे राज्यहरुमध्येकै सबैभन्दा शक्तिशाली राज्यका रुपमा समेत लिईने गरिन्छ । 

यो पनि पढ्नुहोस् :   सोमबार, निकै राम्रो छ यी ८ राशिको भाग्य हेर्नुहोस्, दैनिक राशिफल

पृथ्वीनारायण शाहका सेनापति केयरसिंह बस्नेत मारिएको स्थल यही भएको किम्वदन्ती समेत रहेको छ । यस स्थलमा अहिले दरबारको भग्नावशेष मात्रै बाँकी रहेको छ । सतौंकोटे राजाको इष्टदेवीका रुपमा पुजिने यस ठाउँमा चण्डी र कालिका गरी दुई वटा मन्दिरहरु रहेका छन् जुन मन्दिर झण्डै छ सय वर्ष पुरानो रहेको मानिन्छ । यहाँ देशका विभिन्न भाग तथा छिमेकी देश भारतबाट पनि श्रद्धालु भक्तजनहरु आउने गरेका छन् ।

सुन्तलाबारी होमस्टे र क्यानोनिङ 
स्याङ्जा जिल्लाको अर्को पर्यटकीय गन्तब्यका रुपमा लोकप्रिय स्थान हो वालिङ् नगरपालिका ४ एलादीस्थित सुन्तलाबारी घरबास (होमस्टे) र क्यानोनिङ् ।

स्याङ्जा सदरमुकामबाट करिब २४ किलोमिटर दक्षिणतर्फ सिद्धार्थ राजमार्ग रामबाच्छा पुगेपछि त्यसवाट पूर्वतर्फ ७ किलोमिटर ग्रामीण सडकको यात्रापछि सुन्तलाबारी होमस्टे पुग्न सकिन्छ । होमस्टे स्थलदेखि करिब २० देखि २५ मिनेटको दुरीमा रहेको खाल्टेमा २ वटा क्यानोनिङ स्थल निर्माण गरिएको छ । 

वसन्ती रह र खाल्टे रह क्रमश : ५५ र ३५ मीटर उचाइमा रहेका छन् । जहाँ पर्यटकहरु होमस्टेको मज्जा सँगै क्यानोनिङ्मा रमाउँछन् । पर्यटकको बसाईलाई लम्ब्याउनका साथै साहसिक पर्यटनको अनुभव दिलाउने उद्देश्यले क्यानोनिङ् सञ्चालनमा ल्याइएपछि यहाँ पर्यटकहरु अझ वढेका छन् ।

स्याङ्जा नुवाकोट
स्याङ्जा जिल्लाको उच्च मध्य पहाडी भुभागमा अवस्थित पर्यटकीय ठाउँ हो नुवाकोट । स्याङ्जाको पुरानो सदरमुकाम समेत रहेको नुवाकोट समुन्द्र सतहबाट १९०० मिटर को उचाइमा रहेको छ ।

चौबिसे राज्य मध्यको एक शक्तिशाली राज्य नुवाकोट प्रकृतिक सुन्दरताले भरिपूर्ण छ । यहाँबाट माछापुछ्रे, अन्नपूर्ण, धवलागिरी, मनास्लु जस्ता हिमालको सुन्दर अवलोकन गर्न पाइन्छ । पर्यटकीयसँगै यो एक धार्मिक स्थल पनि हो । जहाँ चण्डी माईको मन्दिरलाई देव देवताहरुले पुजाको बिसर्जन गर्ने मन्दिरका रुपमा बुझिने परम्परागत विश्वास छ । 

यहाँ दशैको नवमी, चैते दशै बेलामा भाकल अनी पूजाका लागि आयका भक्तजनहरुको बिशेष घुइचो लाग्ने गर्दछ । यसको टुप्पोमा भैरबनाथ मन्दिर पनि रहेको छ । यस स्थानबाट स्याङ्जाको नयाँ सदरमुकाम र स्याङ्जाका बिभिन्न ठाउँहरुको अवलोकन गर्न सकिन्छ । पोखराबाट नजिकै पर्ने यस स्थानलाई पनि पर्यटकीय तथा धार्मिक दुबै हिसावले महत्वपूर्ण मानिन्छ ।

आलमदेवी
स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका अन्तर्गत चिन्नेबासमा पर्ने ऐतिहासिक धार्मिक क्षेत्र हो आलम देवी मन्दिर । स्याङ्जाको सदरमुकाम पुतलीबजार बाट १७ किलो मिटर दक्षिण पश्चिममा यस मन्दिर तथा धार्मिक स्थललाई स्याङ्जाको प्रशिद्ध मन्दिरका रुपमा लिइन्छ । 

धार्मिक रुपमा प्रख्यात श्री आलम देवी मन्दिरलाई शाह वंशका कुलदेवीका रुपमा लिइन्छ । यस मन्दिरलाई स्थानीय आफैले निर्माण गरेका हुन् । यस मन्दिरमा शिवरात्री, रामनवमी र अन्य चाडपर्वमा स्याङ्जा सहित छिमेकी जिल्लाबाट भक्तजनहरु आउने गर्दछन् ।

श्रवण कुमार समाधी क्षेत्र र अन्धाअन्धी दह
स्याङ्जा जिल्लाको साविकको सङ्ग गाविस को वडा नं ८ को घ्याङ्गसिरीमा श्रवणकुमार समाधि क्षेत्र रहेको छ । यस स्थानमा पानी भर्दा वाण लागि श्रवण कुमारको मृत्यु भएकाले यस ठाउँलाई श्रवण कुमार समाधी क्षेत्रको नामले चिनिएको किम्वदन्ती पाइन्छ । यहाँ श्रवण कुमारले पानी भर्दा घोप्टो परेको मूर्ति, पानीको रङ्ग रातो र दशरथले वाण हान्न लुकेर बसेको पहरा समेत छ । उक्त स्थानमा हाल बाला चतुर्दशीमा ठुलो मेला लाग्ने गरेको छ ।

उक्त क्षेत्रमा मन्दिर समेत निर्माण गरिएको छ । स्याङ्जा जिल्ला आधिखोला गाउपलिका वडा न २, चिलाउनेबासमा अन्धानअन्धी दह सदरमुकामबाट २८ किलो मीटर उत्तर पश्चिममा पर्छ । यसै दहलाई स्याङ्जाको प्रसिद्ध नदी आँधीखोलाको मुहान मानिन्छ । परापुर्व कालमा अयोध्याका राजा दशरथका भन्जा श्रवणकुमार का माता र पिताहरु दुईवटै आँखा नदेख्ने थिए । उनिहरु एउटा छोरा श्रवणकुमार को साहरामा नै बाँचिरहेका थिए ।

यो पनि पढ्नुहोस् :   पहिलो पटक मोटा व्यक्तिको फोक्सोमा बोसो जमेको पाइयो

श्रवणकुमारले नै उनिहरु लाई बोकेर नै तिर्थ ब्रत तथा धार्मिक स्थलहरु घुमाउने गर्दथे । घुम्ने क्रम मा एक दिन उनिहरु एउटा ओडारमा वास बस्न पुगेका थिए हाल त्यो ठाउँ आन्धा–अन्धी दहको ठीक माथि छ जहाँका पत्थरहरुमा विभिन्न आकृतीहरु, छाप कोरिएको भटिन्छ ।

छाङ्गछाङ्गदी
स्याङ्जा जिल्ला भीरकोट नगरपालिका वडा नं ४ मा छाङ्गछाङ्गदी रहेको छ । स्याङ्जा सदरमुकामबाट करिब १८ किलोमिटर दक्षिण सिद्धार्थ राजमार्गमको छेउमै छाङ्गछाङ्गदी पर्दछ ।

स्वस्थानी ब्रतकथामा आधारित सतीदेवीको अङ्ग पतन भएको स्थलले यो स्थान चर्चित छ । छायाँक्षेत्रको नामले समेत परिचित यस पवित्र स्थलमा भीरमा बनेको मन्दिर र सितल बातावरणसँगै गाईको मुखजस्तै देखिने धाराबाट आउने पानी आकर्षणको केन्द्रबिन्दु मानिन्छ । सिद्धार्थ राजमार्गमको ओहोरदोहोर गर्ने जो कोहि पनि यस स्थानको दर्शन गर्ने गर्दछन् ।

भीरकोट दरबार र खिलुङदेउराली मन्दिर
भीरकोट नगरपालिकाको वडा नं १ मा अवस्थित भीरकोट दरबार परम्परागत कालमा भीरकोटे राजाको दरबारको नामबाट चर्चित छ । यस्तै यहि नगरपालिकाको वडा नं ७ प्रख्यात खिलुङदेउराली मन्दिर रहेको छ । यस मन्दिरमा वडा दशैं, चैते दशैं र अन्य बिभिन्न समयमा सयौं खसी, बोकाको बलि दिईन्छ । मेलाका समयमा यहाँ हजारौं भक्तजनहरुको घुईचो लाग्ने गर्दछ ।

बुढाकोट
स्याङ्जा जिल्ला माझकोट शिवलाय वडा १ बुढाकोट गाउँ समुन्द्रि सतह देखि १७०० मिटर उचाइमा आवस्थित ठाऊँ हो । यसलाई जिल्लाको सबैभन्दा अग्लो पहाड बुढाकोट हो । गुरुङको बस्ति रहेको यस पहाडको टुप्पोबाट स्याङ्जाको अधिकाश ठाउँ, पाल्पा र पोखरा हेर्न सकिन्छ । पहाडको टुप्पोमा एक मन्दिर छ जुन मन्दिरमा दशैमा विशेष भिड हुन्छ ।

राधा दामोदर आश्रम/मन्दिर
चापाकोट नगरपालिका वडा नं ६ मा पर्ने राधा दामोदर आश्रम तथा मन्दिर २०१३ सालमा भगवत शरण महाराजले निर्माण गरेका हुन्छ । यहाँ मन्दिर र मन्दिरसँगै बृद्धा आश्रम रहेको छ । जहाँ वृद्ध बृद्धाहरु बसोबास गर्ने गर्दछन् ।

पंचासे डांडा
स्याङ्जा कास्की र पर्वत जिल्लाको सीमामा एक पर्यटकीय स्थानको रूपमा चर्चित रहेको छ । समुद्र सतहबाट २५१२ मीटरको उचाईमा रहेको जिल्लाको अग्लो स्थान र बालाचतुर्दशीको दिन मेला लाग्ने स्थान सदरमुकामबाट ३० किलो मीटर उत्तर पश्चिममा पर्छ ।

गहौंसुर कालिका
वालिङ नगरपालिका वडा नं ७ मा पर्ने गहौंसुर कालिका मन्दिरमा विशेषत कालिका देवीको पुजा गर्ने गरिन्छ । यस मन्दिरमा पुजाआजा गर्ने विभिन्न ठाउँबाट भक्तजनहरु आउने गर्दछन् । 

घलमडाडाँ
पुतलीबजार नगरपालिका वडा नं ३ मा पर्ने घलमडाडाँ खासगरी बनभोजका लागि र रिफ्रेस हुनका लागि रोन्जे गरिन्छ । स्याङ्जा सदरमुकामबाट करिब आधा घण्टामा पुगिने घलमडाडाँमा पनि पर्यटकहरुको चहलपहल हुन थालेको छ । यस क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउनका लागि आवश्यक प्रक्रिया समेत अगाडी वढाई सकिएकाले आगामी दिनमा पर्यटकको रोजाईको गन्तब्य बनाउन सकिन्छ ।

अकलादेवी मन्दिर
वालिङ नगरपालिका वडा नं १२ मा अवस्थित प्रसिद्ध देवी मन्दिर हो, अकलादेवी । अकाल वा संकटका बेला यी देवीलाई सम्झिने हो भने संकट टारिदिन्छिन भन्ने धार्मिक जनविश्वास रहेको पाइन्छ ।

यसबाहेक पु.ब.न.पा.–९ मा रहेको कोल्माकोट, पूतलीबजार ८ मा रहेको खर्सुको लेक, सिर्सेकोट, गल्याङ न.पा.–२ मा रहेको जगत्रदेवी मन्दिर, हरिनास गाउँपालिकामा पर्ने हरिनास वन र खैरीकोट होमस्टे, गृहकोट कालाभैरव, स्याङ्जा हुनिकोट, कुवाकोट, हरिनासको रानीछहरा, वालिङ बजार नजिकै रहेको बाहुनथान र गुडिखोला मन्दिर लगायतका स्थानहरु पनि स्याङजाका पर्यटकीय र धार्मिक गन्तव्यका लागि प्रख्यात स्थलहरु हुन् ।

अन्त्यमा, यति धेरै पर्यटकीय तथा धार्मिक स्थलहरु भएको रमणीय यस जिल्लाका यी स्थानहरुलाई अन्तराष्ट्रिय स्तरमै लोकप्रिय र परिचित बनाउन सकेको खण्डमा पोखरा पुग्ने जो कोहि पर्यटकलाई स्याङ्जासम्म डोर्याउनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु