काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित २१ जनाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।
मोरङ ग्रामथान गाउँपालिका–३ मोरङका ३८ वर्षीय झलकुमार भगतले उनीहरुविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । २०६२ साल साउन ८ गते तत्कालीन शाही नेपाली सेनाबाट ‘विद्रोह’ गरी माओवादी सेनामा गएका उनले पछि वाइसीएलको स्थानीय नेताका रुपमा समेत काम गरेका थिए ।
निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा भगतलाई २०७४ मंसिर ८ गते राति आफ्नै निवासमा सुतिरहेका बेला मोरङ प्रहरीले पक्राउ गरेको थियो । तर, पछि भगौडा भन्दै सेनाले नियन्त्रणमा लिएको पारिवारिक श्रोतले जानकारी दियो । भगतविरुद्ध २०७४ पुस १७ मा सैनिक अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला भएको थियो । हाल उनी मकवानपुरको भीमफेदी कारागारमा छन् ।
रिटमा प्रधानमन्त्री ओलीसहित शान्ति सम्झौताका हस्ताक्षरकर्ता तत्कालीन नेकपा माओवादी र हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा बादल, प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित २१ जनालाई विपक्षी बनाइएको छ ।