नागरिकतामा नाम मात्रै, थर नहुँदा सास्ती

गते प्रकाशित

महोत्तरी । २०६३ सालमा नागरिकता लिएकी २९ वर्षीया राधाकुमारी साहले आफ्नो नामको अगाडि राधादेवी मात्र लेख्न पाउनुभयो ।

तत्कालीन निगौल गाविसमा जन्मिएकी उहाँकोे जन्मदर्ता र सर्टिफिकेटमा राधाकुमारी साह भए पनि नागरिकतामा चाहिँ उहाँले नामको अगाडि थर लेखाउन सक्नुभएन । उहाँ भन्नुहुन्छ, ‘तत्कालीन नेपालको प्रशासनिक कानुन र कर्मचारीतन्त्रको कारण ईलाका प्रशासन कार्यालयले नागरिकतामा जे लेखेर दियो, त्यही लिएर घर फर्कनुपर्यो ।’ नागरिकता लिनकै लागि एकहप्ता भौंतारिनुपरेको र बल्लबल्ल पाएको नागरिकतामा थर छ कि छैन भनेर आफूले त्यतिबेला वास्ता गर्न नभ्याएको उहाँको भनाई छ ।

नागरिकतामा थर नहुँदा प्रशासनिक काममा अप्ठ्यारो पर्ने गरेको उहाँले बताउनुभयो । राधाकुमारी अहिले स्थानीय विद्यालयमा शिक्षिका हुनुहुन्छ । त्यस्तै गौशाला ५ की ३२ वर्षीया सुनिता कुमारी सिंहको नागरिकतामा श्रीमानको थर छैन ।

जन्मदर्तामा सुनिता कुमारी भएकोले सर्टिफेकटमा पनि सुनिता कुमारी उल्लेख भएको थियो । ईलाका प्रशासन कार्यालय गौशालाबाट नागरिकता लिंदा उहाँले पनि सर्टिफिकेटमा भएको नाम थर नागरिकतामा लेखाउन सक्नुभएन । प्रशासन कार्यालयबाट खटिएका प्राविधिकका कारण नामको अगाडि श्रीमानको थर नभई सुनितादेवी लेखिएको छ ।

राधा र सुनिताजस्तै यहाँका धेरै महिलाहरुको नागरिकतामा नामको अगाडि थर लेखिएको छैन । स्थानीय प्रशासन कार्यालयबाट प्राप्त गरेको नागरिकतामा नामको अगाडि कुमारी, देवी मात्र लेखिएको हुन्छ । यसले प्रशासनिक काममा झण्झट हुने गरेको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकका महोत्तरी प्रतिनिधी अजयकुमार साहले शिक्षा र चेतनाको कमी तथा पितृसतात्मक सोचका कारण नागरिकतामा यस्ता त्रुटि देखिएको बताउनुभयो । पहिले नागरिकता लिने महिलाहरुले यस्तो समस्या भोगे पनि अहिले भने सुधार हुँदै गएको उहाँको भनाई छ ।

पहिले महिलाहरुले श्रीमानको नाम सहजै नभन्ने भएकाले पनि नागरिकतामा श्रीमानको नाम छुट्न गएको हुन सक्ने उहाँले बताउनुभयो । श्रीमानको नामसँगै थर पनि नहुँदा जातीय पहिचानमा समस्या भएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस् :   फोल्हो ल्होसारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम हुने

तराई मधेश मानवअधिकार रक्षक संजाल (थर्ड एलान्स)का धनुषा प्रतिनिधि किरणकुमार कर्णका अनुसार विगतको समयमा चेतनाको अभाव एवं प्रशासनमा कार्यरत कर्मचारीको गल्तीले धेरै महिलाको नागरिकतामा त्रुटि रहेको पाईन्छ । तर पछिल्ला समयमा यस्ता त्रुटिहरुमा सुधार आएको कर्णले बताउनुभयो । ‘नागरिकतामा थर उल्लेख नहुँदा जातीय पहिचान छुट्याउन मुश्किल हुने गरेको छ’ उहाँले भन्नुभयो ।

पहिले जे भए पनि अब नागरिकतामा यस्ता त्रुटि हुन नदिन कर्मचारी र प्राविधिकलाई सजग गराइएको ईलाका प्रशासन कार्यालय गौशालाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।