नारायणगढ–मुग्लिन सडक भाँसियो,सवारी आवागमन एकतर्फी

गते प्रकाशित

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाइएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार बिहान सामान्य भाँसिएको देखिएकोमा क्रमशः बढ्दै गएर एक फिटजति भाँसिएको बताए। भाँसिने क्रम बढ्दै गएपछि मंगलबारबाटै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सो स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ ।

सडकको ३० मिटर लम्बाइ र छेउबाट सात मिटर चौडा भाग भाँसिएको हो । सो ठाउँमा नौ मिटर कालोपत्रे गरिएको छ । कालोपत्रेको त्रिशूली नदीतर्फ थप दुई मिटर खुला भाग रहेको छ । कालोपत्रे गरिएको आधा भागसम्म भाँसिएको खनालले बताए । नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीका सहायक आवासीय इञ्जिनियर ज्ञानेन्द्र घिमिरेका अनुसार भाँसिने क्रम बढेमा तत्काल भित्तो काटेर सडक विस्तार गर्नुपर्ने हुन्छ । उनले तलबाट नदीले खोलेर भाँसिएको हुनसक्ने अनुमान गरिएको बताए।

आज विज्ञहरूको समूह आउने र के गर्ने भन्ने विषयमा टुंगो लाग्ने घिमिरेले बताए। नजिकको भित्तो होचो भएकाले विस्तार गर्न सहज हुने घिमिरेको भनाइ छ । एकलेन थप्न करिब पाँच मिटर उचाइबाट भित्तो काट्नु पर्ने बताइएको छ । अकस्मात् सडक रोकिन सक्ने भन्दै सडक नियमित बनाउने गृहकार्य सुरू गरिएको छ । सोही ठाउँमा २०६० सालमा रक स्वायल एङकरिङ गरिएको थियो ।

तत्कालीन सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनियर प्रकाश उपाध्यायले सोही क्षेत्रमा त्यतिबेला सडक भाँसिएर रक स्वायल एङ्करिङ गरिएको बताए। भित्तोमा ड्रिल गरी १०र१५ मिटर रड घुसाएर रडसँगै सिमेन्ट जमाउने र बाहिरी भाग पनि ढलान गरी बलियो बनाउने कामलाई रक स्वायल एङकरिङ भनिन्छ । सोही ठाउँको रक एङकरिङले काम गर्न छोडेर धसिएको पनि हुनसक्ने अनुमान गरिएको छ । हाल सो सडक विस्तारको अन्तिम चरणमा पुगेको छ । सोही सडक हुँदै दैनिक १० हजार हाराहारी सवारीसाधन आवातजावत गर्दछन् ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   उपत्यकामा दिउँसै पेस्तोल किनबेच

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।