मलेसियाको अस्पतालबाट नेपाली युवकको पिडामै पिडा : मेरो एउटा खुट्टा खोइ ?..

गते प्रकाशित

खुट्टा सुन्निएर हिँड्न नसक्ने भएपछि कम्पनीले उनलाई अस्पताल भर्ना गरिदिन्छ । थाहै नदिई अपरेसन गरिन्छ । जब होश खुल्छ, अनि थाहा पाउँछन् आफ्नो एउटा खुट्टै छैन ।

चार वर्षअघि सद्दे मलेसिया आएका नेचा बतासे-७, सोलुखुम्बु आङ पासाङ शेर्पा अपाङ्ग शरीर लिएर घर फर्किदै छन् ।

हाल २३ वर्षका उनी १९ वर्षको हुँदा मलेसिया छिरेका थिए । उनले आफ्नो कथा यसरी सुनाएः

म परिवारको माइलो छोरा हुँ । आमाको केही वर्ष अगाडि मृत्यु भयो । आमाको मृत्युपछि बुवाले कान्छी आमा ल्याउनुभएको छ । जेठो दाजुले आँखाले देख्नुहुन्न । अहिले काठमाडौंमा आफूजस्तै दृष्टिविहीनहरुको अफिसमा काम गर्नुहुन्छ । विभिन्न प्रोग्रामहरुमा जानुहुन्छ । साइँलो भाइले पनि राम्ररी आँखाले देख्दैन । उ घरमै छ । कान्छो भाइ सानै छ । दिदीको बिहे भइसक्यो । उहाँ अहिले आफ्नै घरमा हुनुहुन्छ । घरमा दुई जना बहिनीहरु छन् ।

मैले सात कक्षा मात्रै पढेको छु । पढ्ेन रहर त थियो, तर कसरी पढनु ? सानै उमेरदेखि परिवारको जिम्मेवारी बोक्नुपर्‍यो । आमा बित्दा म चौध वर्षको थिएँ । आमा बित्दा र दिदीको बिहे गर्दा हामीलाई करिब ६ लाख रुपैयाँ जति ऋण लागेको छ भनेर बुवाले भन्नुहुन्थ्यो ।

१८ वर्षको भएपछि सबैले विदेश गएर काम गर भन्न थाले । अनि मैले पनि पासपोर्ट बनाएँ । तर, मसँग विदेश आउने पैसा थिएन । गाउँकै एक जनाले हामीलाई पत्याउनुभयो र एक लाख ऋण दिनुभयो । दिदीले पनि मलाई ५० हजार ऋण खोजिदिनुभयो । अनि सबै पैसा जम्मा गरेर ब्लू न्यू स्टार म्यानपावरलाई १ लाख ४५ हजार रुपैयाँ बुझाएर सन् २०१४ को अगष्ट महिनामा म मलेसिया आएको हुँ ।

मलेसिया आएदेखि दुखका दिन सुरु भयो । मसहित ६ जना नेपाली आएका थियौं । तर, हामीलाई एयरपोर्टमा ६ दिनसम्म कोही पनि लिन आएनन् । हाम्रो बिचल्ली भयो । एयरपोर्टमा पिटाइसमेत खायौं । ६ दिनपछि बल्ल कम्पनीको मानिस आएर हामीलाई रिसिभ गर्‍यो ।

हामीलाई काम निकै सजिलो छ, यसो सीसा पुछ्ने हो भनेर नेपालमा आश्वासन दिइएको थियो । तर, यहाँ आउँदा त्यस्तो काम पाएनौं । एउटा इन्टरप्राइजेज कम्पनी रहेछ । वच्चाका खेलौनाहरु प्याकिङ गर्नुपर्ने काम दिइयो । मैले कहिल्यै पनि तलब पुरै बुझ्न पाइन ।

कहिले के कहिले के भनेर कटाउँथ्यो । तैपनि महिनाको ६ सय रिंगेट जति बचाउथेँ । मसँग आएका साथीहरु केही समयमै काम छाडेर भागेर अन्यत्र गए, तर म भागिनँ । किनकी म ऋणले थिचिएको थिएँ । त्यो ऋण कसरी तिर्ने भन्ने चिन्ता थियो । मलाई भाषा आउदैनथ्यो । त्यसैले भागेर बाहिर काम गर्ने सोचाइ बनाइन ।

लगभग दुई-अढाई वर्ष बीचमा मैले घरमा लागेको ऋण जसोतसो तिरेँ । जब ऋण तिरिसकेँ, अनि सोचेँ कि अब यसैमा झुण्डिएर हँुदैन, कहिलेसम्म यति थोरै पैसामा काम गर्ने । अनि कम्पनी छाड्ने निधो गरेँ । फेसबुकको सहायताले साथीहरुको खोजी गर्न थालेँ । साथीहरुले श्रीमुढातिर काम गर्ने लगाइदिने भनेपछि म पनि कम्पनी छाडेर हिडेँ ।

मैले पानासोनिक कम्पनीमा काम पाएँ । तलव पनि राम्रै थियो । १ हजार ५६२ रिगेट आउँथ्यो । काम पनि राम्रो थियो । कम्पनीमा मेरो काम फोकलिप चलाउने थियो । इमान्दारीताका साथ काम गरिरहेको थिएँ ।

करिब डेढ महिना अगाडिको कुरा हो, मेरो दाहिने खुट्टा दुख्न थाल्यो । सामान्य त होला नि भनेर क्लिनिकबाट आफैं औषधि किनेर खान थालेँ । तर, निको भएन । विस्तारै बिस्तारै खुट्टा सुन्निन थाल्यो । हिँड्नै नसक्ने भएँ । मैले आफू बिरामी भएको कुरा कम्पनीलाई भनेँ ।

कम्पनीले मलाई मे ४ तारिखका दिन अस्पतालमा ल्याएर भर्ना गरिदियो । मलाई थाहै नदिई मेरो अपरेसन भएछ । ७ तारिखमा होस आयो । त्यतिबेला महसुस गरेँ, एउटा खुट्टा चलिरहेको छैन । हातले छामछामछुुुमछुम गरेँ । अहँ, मेरो दाहिने खुट्टा नै थिएन । म नराम्ररी अत्तालिएँ । आँखाबाट बरर आँशु झर्‍यो । किन र के भयो, म आफैलाई थाहा छैन । नजिकै रहेका एकजना डाक्टरलाई सोधेँ, ‘मेरो खुट्टा खोइ ?’

उनले भने, ‘खै, अरु डाक्टरहरुले उपचार गरेका होलान्, मलाई थाहा छैन ।’ पछि बुझ्दा यदि मेरो खुट्टा नकाटेको भए पुरै शरीरलाई खतरा हुने भएकाले काटेको जवाफ पाएँ । के रोग लागेको हो भन्ने पनि मलाई भनिएन । पीडा पोख्ने पनि कोही थिएन ।

म अस्पतालमा करिब एक महिना जति बसेँ । तर, मलाई भेट्न कम्पनीबाट खासै कोही आएनन् । पछि त्यहीँ काम गर्ने एक जना क्लिनर दिदीले कुनै नेपालीलाई खबर गरिछन् । मेरो फोटोहरु फेसबुकबाट सार्वजनिक हुन थाल्यो । पछि धेरै नेपालीहरु भेट्न आउनुभयो ।

पछिल्लो समयमा आदिवासी जनजाति महासंघ मलेसियाका दाइहरु आउनुभएको थियो । उहाँहरुले अस्पतालमा के-के कुराहरु गर्नुभयो मलाई थाहा छैन । पछि अस्पतालले मलाई नेपाली दूतावास जिकै एउटा टयाक्सीमा पठाइदियो । अहिले आदिवासी जनजाति महासंघका दाइहरुले हेरिरहनुभएको छ । यहाँ आएका दाजुभाइहरुले धेरैथोरै आर्थिक सहयोगसमेत गरिरहनुभएको छ । दूतावासबाट हुनुपर्ने सबै प्रक्रिया पनि भैसकेको छ रे । अब म छिट्टै नेपाल जान चाहन्छु । नेपाल गएर थप उपचार गराउन चाहन्छु ।

विदेशमा कोही पनि अवैधानिक भएर नबस्न मैले आग्रह गरेको छु । यदि म वैधानिक हुन्थँे भने आज यो अवस्थ्ाा आउँदैनथ्यो होला । विरामी हुँदा राम्रो उपचार पाउथेँ होला । इन्स्योरेन्सका कुराहरु हुन्थे होला । अहिले त केही पनि छैन । पुरै रित्तिएको छु ।

घरमा दुई दाजुहरु अपांग छन् । अब म पनि थपिएँ । परिवारका लागि केही गर्छु भनेर विदेश पसेको मान्छे, आफै विजोग अवस्थामा पुगेँ । यस्तो भएदेखि घरमा सम्पर्क भएको छैन । फोन गर्ने हिम्मत छैन । उनीहरुले थाहा पाएका छन् कि छैनन् त्यो पनि थाहा छैन ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।