महिलालाई सार्वजनिक स्थलमा नाङ्गै बनाएर कुटपिट

गते प्रकाशित

हरियो कुर्ता, रातो रंगको सुरुवाल लगाएकी एउटी महिला अघिअघि हिँडेकी छिन् । उनको पिछा गर्दै गुलाबी रंगको टिसर्ट र सुरुवाल लगाएकी अर्की महिला पछिपछि आउँछिन् । गुलाबी रंगको कपडा लगाउने महिला अर्कीलाई छेक्दै कुट्न खोज्छिन् । ती महिला चाँही ‘मलाई छाडिदिनुस् । म जान्छु’ भन्छिन् ।

उनीहरू दुईजना अघि बढिरहँदा हातमा २ वटा लाठी लिएर निलो रंगको टिसर्ट र सुरुवाल लगाएकी अर्की महिला आइपुग्छिन् । तथानाम गाली गर्दै लछारपछार गर्न सुरु गर्छिन् ।

उनीहरूको यो क्रियाकलाप वरिवरिबाट बालबालिकाले घेरिएर हेरिरहेका छन् । पछाडिबाट बालिकाको आवाज आउँछ ‘मम्मी भयो छोड्दिनुस् ।’ घटना देखेर तर्सिएकी आफ्नै छोरीको चित्कार ममताकी खानी भनिने आफ्नै आमाले वेवास्ता गर्छिन् । बालिका थप चिच्याउँछिन्, ‘आन्टी भयो छाड्दिनुस् ।’ कुटपिट भएकै ठाउँमा पुगेकी बालिका आफ्नो चित्कारको वेवास्ता पछि आँखा छोप्दै साइड लाग्छिन् ।

ती महिला जो निलो कपडा लगाएकी थिइन्, उनी हरियो कुर्ता र रातोे सुरुवाल लगाउनेलाई गालामा हान्छिन् । भूईंमा लडाउँछिन् । अनि कुर्ता पछाडिबाट दुवै मिलेर धर्रर च्यात्छन् । थर्काउँदै, तथानाम गाली गर्दै गालामा कुट्छन् । लात्तीले हान्छन् । एकपटकमा कुर्ताको पछाडिको भाग च्यातिएको हुन्छ । उनीहरूलाई अझ चित्त बुझ्दैन । निलो कपडा लगाउने महिला फर्किएर कुट्छिन् । ती महिला च्यातिएको कुर्ताको अगाडिको भागले आफ्नो लाज छोप्न लाग्दै हुन्छिन् । अर्की महिला फेरि फर्किन्छिन् । कुर्ता थप च्यातिदिन्छिन् ।

‘छाडिदेउ’ भन्दै एक पुरुष पुग्छन् । त्यसपछि अरु २्३ जना पुरुष पनि त्यहीँ पुग्छन् । अनि महिलाहरूलाई हप्काउँछन् । केही गलत भए कानुन छ । तपाईंहरूले यसरी कुट्न मिल्दैन भनेर हप्काएपछि तिनीहरूले छाडिदिन्छन् ।

ती महिलाले गल्ती मैले गरेको होइन भनेर आफूलाई जोगाउने प्रयास गरे पनि असफल हुन्छिन् । एउटी महिलालाई दुई बलिया महिलाले सार्वजनिक स्थलमा नग्न बनाउँदै कुटेको अनि ती महिलालाई लाज ढाक्न हम्मे परेको दृष्य देख्दा जो कोहीको मन कुँडिन्छ । दृष्यमा हेर्दा यस्तो लाग्छ यो कुनै काल्पनिक कथा देखाउन छायांकन गरिएको दृष्य हो ।

तर, यो घटना कुनै नाटक, चलचित्र वा परिकल्पना गरेर छायांकन गरिएको वा शब्दमा बुनिएको होइन । नेपालकै दाङ जिल्लाको भालुवाङ बसपार्कमा शुक्रबार दिउँसो मात्रै भएको घटना हो ।

महिलालाई सार्वजनिक स्थलमा नग्न बनाउँदै कुट्ने दुई महिला हुन् स्थानीय अनिता गुप्ता र रेखा गुप्ता । दुवै जनाको घर राप्ती गाउँपालिका वडा नम्बर १ दाङ हो । उनीहरू एकैघरका जेठानी देउरानी हुन् । भने कुटाई खाने महिला दिलकुमारी पुन हुन् । ३९ वर्षकी दिलकुमारीको घर सितगंगा नगरपालिका ९, अर्घाखाँची हो ।

दाङ प्रहरीले कुटपिटमा संलग्न दुवै महिलालाई आइतबार पक्राउ गरिसकेको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख डिएसपी रामप्रसाद घर्तीका अनुसार जग्गाको विषयमा महिलाहरूबीच विवाद भएको थियो । विवाद बढ्दै गएपछि दिलकुमारीलाई सार्वजनिक स्थलमा नाङ्गै बनाएर दुई महिला मिलेर कुटेका हुन् ।

‘दिलकुमारीकी दिदी सुमित्रा कुमालले ती दुई गुप्ता महिलासँग १० लाख रुपैयाँ सापटी लिएकी रहिछन्’ डिएसपी घर्तीले महिलाखबरसँग भने, ‘त्यो रकम तिर्न नसकेपछि दुई महिलाले सुमित्राको जग्गा लिएका रहेछन् । त्यही जग्गाको विषयको विवाद बढ्दै गएपछि कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

उनले उनीहरूको घटनाबारे थप अनुसन्धान पनि भइरहेको बताए । प्रहरीले आइतबार नै दुई महिलालाई केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता गरिसकेको पनि डिएसपीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।