एक्लै चुनाव लडेको भए माओवादीले १० सिट पनि जित्दैनथ्यो : नेता श्रेष्ठ

गते प्रकाशित

गोबिन्द मरासिनी
काठमाडौं । नेपाली विद्यार्थी संघ स्याङ्गजा–काठमाडौं सम्पर्क समितिको पहिलो अधिवेशन राजधानीमा शुरु भएको छ । आजबाट राजधानीमा शुरु भएको अधिवेशनको पूर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेस केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले एक कार्यक्रममका बीच उद्घाटन गरे ।

कार्यक्रमको उद्घाटन गर्दै नेता श्रेष्ठले पार्टीले पराजय भोगेको अवस्थामा एकआपसमा गालीगलौजमा उत्रनु भन्दा पनि कसरी हुन्छ, कमी कमजोरी मिलाएर अगाडी बढ्नुपर्नेमा जोड दिए । निर्वाचनमा २ पार्टीहरु एक भएर चुनाव लडेको र आफ्नैबाट समेत अन्तर्घात भएकाले काँग्रेसले पराजय भोग्नुपरेको श्रेष्ठको भनाइ थियो । यदि एमाले र माओवादी एक्ला एक्लै चुनाव लडेको भए माओवादीले १० सिट पनि नजित्ने ठोकुवा पनि उनले गरे । पार्टीले भोगेको पराजयप्रति नेता श्रेष्ठले हारको जिम्मा सभापतिले मात्र नभई सबैले लिनुपर्ने जिकीर समेत गरे । पूर्व सांसद एवं संविधान सभा सदस्य समेत रहेका श्रेष्ठले कम्युनिष्टहरु एक भए भनेर आतिनुपर्ने परिस्थीति नरहेको भन्दै जसरी कम्युनिष्टहरु एक भए त्यसरी नै अब लोकतान्त्रिक विचारधारा राख्ने अन्य साना दलहरुलाई पनि अब एकजुट बनाउन काँग्रेसले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता धनराज गुरुङले काँग्रेसका आदरणीय नेताहरु वी.पी., गणेशमान र कृष्णप्रसाद लगायतका नेताहरुको मागर्दशन बिर्सदा पार्टीले पराजय भोग्नुपरेको स्मरण गराए । उनले भने,“कांग्रेसले कृष्ण प्रसाद भट्टराईको सदाचारिताको पदचापलाई नपछयाएर यो अबस्था भोग्नु पर्याे, अब फेरि त्यहि गल्ती दोहोर्याउन कुनै कांग्रेस नेतालाई छुट छैन।” पूर्व सांसद एवं संविधान सभा सदस्य समेत रहेका गुरुङले काँग्रेस राष्ट्रियताका मुद्धामा प्रष्ट बन्न नसकेको आरोप समेत लगाउँदैं बालकृष्ण ढुंगेलका बिषयमा संसदमा प्रतिपक्षको हैसियतले जति आवाज उठाउनुपर्ने हो, त्यती नउठाएको बताए । उनले काँग्रेस प्रतिपक्षमा रहेर पनि शशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको जिकीर गर्दै अब काँग्रेस जनताको मन जितेर अगाडी बढनुपर्नेमा जोड दिए ।

यो पनि पढ्नुहोस् :   घाईते काँग्रेस नेता कार्कीलाई सांसद खड्काले गरे एक महिनाको तलब सहयोग

कार्यक्रममा नेपाली काँग्रेस स्याङ्गजाका सभापति कमल प्रसाद पंगेनीले निर्वाचनमा हारको दोष सबै नेताहरुले लिनुपर्ने भन्दै स्याङ्गजामा चुनाव हारेको जिम्मेवारी लिन आफू तयार रहेको उल्लेख गरे । हालसालै सरकारलाई समर्थन गरेका उपेन्द्र यादवप्रति संकेत गर्दै खाली आफ्नो स्वार्थ र जायज वा नाजायज माग पुरा गर्न मात्र सरकारमा गएको आरोप लगाए । संविधान बनेलगत्तै संविधान जलाउने उपेन्द्र यादव र संविधानमा ‘कमा र फुलस्टप’ पनि परिवर्तन हुँदैन् भन्ने ओलीबीचको सत्ता समीकरणले देशलाई गम्भीर दुर्घटनामा फसाउन सक्ने ठहर गरे । पूर्व सांसद तथा संविधान सभा सदस्य समेत रहेका उनले हालै भएको एमाले र माओवादीको पार्टी एकीकरणलाई अपवित्र गठबन्धनको संज्ञा समेत दिए ।

कार्यक्रममा पूर्व सांसद एवं संविधान सभा सदस्य मोहन पाण्डेले पार्टीमा भएका असन्तुष्ठ कुराहरुलाई मिलाउनुका साथै सबैका कमीकमजोरीका वीचमा बहस गरेर टुंगाउनुपर्ने बताए । आफूहरु अहिलेको निर्वाचनमा चुकेको स्वीकार गर्दै अब आगामी दिनमा नचुक्ने गरी अझ प्रभावकारी ढंगले अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले आफुलाई जुनसुकै गुटमा रहेको भनेर चिनेपनि जिल्लाका नेताहरुलाई सदैब सहयोग गरेको स्मरण समेत गराए ।

कार्यक्रममा नेबिसंघका सभापति नैनसिंह महर, उपाध्यक्षहरु डिल्लीराम सुवेदी र पुष्प शाही, महामन्त्रीहरु आनन्दराज त्रिपाठी, कुन्दन काफ्ले र सरोज कुमार थापा, नेपाली काँग्रेस स्याङ्गजाका प्रवक्ता इन्द्र गोदार, नेपाल महिला संघकी उपाध्यक्ष सरस्वती तिवारी, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि गुरु भट्टराई र बिष्णु पौडेल, नेपाली काँग्रेस स्याङ्गजा–काठमाडौं सम्पर्क समितिका सभापति देवी प्रसाद अर्याल, नेबिसंघ स्याङ्गजाका सभापति अजित क्षेत्री, नेबिसंघ पूर्व केन्द्रिय सदस्य युवराज पाण्डेय, नेबिसंघ स्याङ्गजा–काठमाडौं सम्पर्क समितिका उपाध्यक्ष दिपेन्द्र क्षेत्री लगायतका नेताहरुले सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिएका थिए ।

२०७० सालमा दिपक न्यौपानेको संयोजकत्वमा स्थापना गरिएको यस स्याङ्गजा–काठमाडौं सम्पर्क समितिको नयाँ नेतृत्व चयनका लागि जिल्ला तथा केन्द्रिय स्तरका नेताहरुको एक टिम बनाइएको छ जसले ३५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।