वाइसीएलले जनप्रतिनिधिहरुलाई खबरदारी गर्न देशब्यापि अभियान सञ्चालन गर्ने

गते प्रकाशित

काठमाडौं : नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल)ले एक महिने खबरदारी अभियान सञ्चालन गर्ने भएको छ ।  देशब्यापि रुपमा हुने यो अभियान काठमाडौं महानगरपालिका र काठमाडौंकै तार्केश्वर नगरपालिकाबाट भोलीदेखि शुरु हुने भएको हो ।

स्थानीय तहको निर्वाचन भएको एक बर्ष बितिसक्दा पनि जनप्रतिनिधिले स्थानीय माझ प्रतिबद्धताहरु अहिलेसम्म पनि पूरा नगरेकाले खबरदारी अभियान सञ्चालन गर्नुपरेको वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले बताए ।

सापकोटाका अनुसार जेठ ३ गतेदेखि एक महिनासम्म अभियान सञ्चालन हुनेछ । ‘गत बैशाख ३१ गते ऐतिहासिक स्थानीय निर्वाचन भयो तर एक बर्ष बितिसक्दा पनि जनप्रतिनिधिको बाचाहरु अपुरै छ’ उनले भने एक बर्षसम्म जनताले परिर्वतनका महसुस गर्न नपाएकाले खबरदारी अभियान सञ्चालन गरेका हौं ।’

‘चुनावी प्रतिबद्धता अभियानमा सहभागी बनौं, अमुल्य मतदान गरेर जिताएकालाई निगरानी गरौं’ भन्ने मूल नाराका साथ वाइसीएल जनताको बीचमा जान लागेको महासचिव सुबोधराज शेर्पालीले बताए । ‘हामी सधैं जनताकै साथमा थियौं र छौं पनि’ शेर्पालीले भने ‘जनताको हरेक दुःख, सुखमा वाइसीएल साथ दिन्छ ।’

‘जनप्रतिनिधिले के प्रतिबद्धता गरेका छन्, अहिलेसम्म के–के पूरा भयो, के–के बाँकी छन् हामी झकझकाउँछौं’ वाइसीएलका प्रचार विभाग प्रमुख पुष्प ओलीले भने । ओलीका अनुसार यो अभियान देशभर नै सञ्चालन गरिनेछ । हरेक स्थानीय तहमा जिल्ला वाइसीएलले ज्ञापनपत्र दिने, अनियमितता पर्दाफास गर्ने र जनप्रतिनिधिको ध्यानाकर्षण गराउनेजस्ता कार्यक्रम हुने बताए ।

खबरदारी अभियानसँगै वासीएलले ‘तीन दिन, तीन रात, तीन छाक–वाइसीएलको अभियान जनताको साथ’ भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरेको छ । जसअन्तर्गत प्रत्येक वाइसीएल कार्यकर्ता जनताको घरमै खाने र बस्ने गर्नेछन् । यो अभियानले जनतासँगको सम्बन्धमा प्रगाढ ल्याउने वाइसीएलको विश्वास छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   घाईते काँग्रेस नेता कार्कीलाई सांसद खड्काले गरे एक महिनाको तलब सहयोग

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।