एमाले-माओवादी एकता भोलि नै हुने सम्भावना, यसरी जुट्यो सहमति

गते प्रकाशित

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच तत्काल पार्टी एकीकरण गर्ने सहमति भएको छ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधवार बिहान भएको छलफलमा तत्काल एकता गर्ने सहमति जुटेको हो।

एकता प्रयासमा सक्रिय केही नेताहरूसहित प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष बैठकमा सहमति जुटेसँगै सम्भवत बिहीवार नै पार्टी एकताको घोषणा हुनेछ।

‘सकेसम्म भोलि (बिहीवार)नै, नभए सरकारको नीति तथा कार्यक्रम आउनुअगावै जेठ ६ गतेभित्र पार्टी एकता गर्ने सहमति भएको छ,’ एमाले स्रोतले भन्यो।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई यही संसदको पछिल्लो दुई वर्ष प्रधामनन्त्री बनाउने सुनिश्चिततासहित पार्टी एकतामा ‘ब्रेक थ्रु’ भएको स्रोतको भनाइ छ।

केन्द्रीय समितिमा एमालेका ५६ प्रतिशत र माओवादी केन्द्रको ४४ प्रतिशत सदस्य रहने सहमति भएको स्रोतको भनाइ छ।

पार्टी एकता गर्ने भन्दै गत वर्षको असोज १७ गते एमाले र माओवादीले वामपन्थी गठबन्धनको घोषणा गरेका थिए। दुई दलले विवादित विषयलाई महाधिवेशनमा लगेर टुंग्याउने गरी फागुन ७ गते पार्टी एकताको सैद्धान्तिक सहमति भएको थियो।

एकतापछि नेतृत्व दुई अध्यक्षले संयुक्त रूपमा गर्नेछन्। एकताको औपचारिक निर्णय गर्न दुवै पार्टीको स्थायी समितिको बैठक बुधवार ४ बजे बस्दैछ । दुवै दलले बिहीवार केन्द्रीय समिति बैठक बोलाएका छन्।

पार्टी एकताको निर्णय केन्द्रीय समितिबाट गर्नुपर्ने भएकोले बैठक बोलाइएको एमाले प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए।

बिहीवार अपराह्न राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन आयोजना गरी पार्टी एकता घोषणाको तयारी छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   घाईते काँग्रेस नेता कार्कीलाई सांसद खड्काले गरे एक महिनाको तलब सहयोग

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।