आइपीएलको पहिलो खेलबाटै सन्दीपलाई वाहवाही

गते प्रकाशित

बीबीसी । विश्व क्रिकेटमा ठूलो व्यावसायिक प्रतियोगिता मानिने इण्डियन प्रिमियर लिग आइपीएलमा नेपाली खेलाडी सन्दीप लामिछानेको पहिलो खेलको प्रदर्शनको सर्वत्र प्रशंसा भइरहेको छ।

१७ वर्षीया सन्दीपले गएराति आफ्नो टोली दिल्ली डेयरडेभिल्सका तर्फबाट पहिलो म्याच खेल्ने क्रममा ‘उत्कृष्ट बलिङ’ गरेको टिप्पणी भएको छ।

भारतीय टिमका कप्तान विराट कोहलीले नेतृत्व गरेको रोयल च्यालेन्जर्स ब्यांग्लोरविरूद्ध मैदानमा उत्रिएका सन्दीपले कोहली र अर्का विश्व चर्चित ब्याट्सम्यान दक्षिण अफ्रिकाका एबीडी भीलीयर्सलाई बलिङ गरेका थिए।

एक विकेट लिएका सन्दीपले ‘किफायती’ बलिङ गरे पनि उनको टोली ६ बल बाँकी छँदै ५ विकेटले पराजित भएको छ।

मौका
प्रतियोगिताको ११ औँ संस्करणमा दिल्लीले लिलामीमा २० लाख भारू तिरेर लिएका लामिछानेले आफ्नो टोलीले १२ औँ खेल खेल्दा मौका पाएका हुन्।

नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन्दीप आइपिएलमा छनोट भएको विषय राजधानीमा भएको अभिनन्दनका क्रममा चर्चा गरेकै दिन दिल्लीले उनलाई आफ्नो ‘ओपनिङ बलर’का रूपमा प्रस्तुत गरेको थियो।

खेलमा उनले चार ओभर २५ रन खर्चेर एक विकेट लिएका थिए।

सन्दीपको बलिङ एशोशियट राष्ट्रबाट छनोट भएर कुनै पनि क्रिकेट खेलाडीले आइपीएलको आफ्नो पहिलो खेलमा गरेको ‘उत्कृष्ट प्रदर्शन’ भएको इएसपीएन क्रिकइन्फोका खेल पत्रकार पिटर डेला पेना बताउँछन्।

सन्दीपले आफ्नो पहिलो ६ बलमा ६ रन दिएका थिए भने दोस्रो ओभरमा पार्थिव पटेलको विकेट लिएका थिए।

शनिवारको खेलमा ‘नट आउट’ ७२ रन प्रहार गरेर ‘म्यान अफ द म्याच’ बनेका ब्याट्सम्यान एबीडी भीलीयर्सले खेलपछि सन्दीपको मुक्तकण्ठले प्रशंसा गरेका छन्।

 

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आईपीएल क्वालिफायर : चेन्नई र हैदराबादबीच टक्कर !

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।