एमाले-माओवादी एकता अलपत्र : ओलीको ध्यान राजपा र फोरमतिर

गते प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यतिवेला राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउनेगरि आन्तरिक गृहकार्य थालेका छन् ।

प्रधानमन्त्री निकट उच्च स्रोतले दिएको जानकारी अनुसार उनले चाँडै नै राजपा र फोरम नेपालका नेताहरुसँग यसबारेमा छलफल तथा सम्वाद अघि बढाउने छन् ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रसँग एकता केही विलम्ब हुने भनिएपनि खासमा प्रधानमन्त्री ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय राम्रो सम्बन्ध नरहेको बुझिएको छ । उनीहरुबीच त्यति गम्भिर छलफल तथा सम्वाद नै हुन छाडेको स्रोतको दाबी छ।

ओलीले आफू सुरक्षित रहनको लागि पनि राजपा र फोरमलाई सरकारमा ल्याउनेबारे छलफल सुरु गरेका छन् । ढिलो वा चाँडो राजपा र फोरमलाई सरकारमा ल्याउनको लागि ओलीले सोही अनुसारको कदम चाल्न सक्ने सूत्रहरुको दाबी छ।

ओलीले यसअघिपनि फोरम नेपाललाई सरकारमा सहभागी गराउने निर्णय गरेका थिए । उनले महत्वपूर्ण दुई मन्त्रालय समेत फोरमको लागि छुट्याएका थिए । तर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमा लिखित सहमति खोजेपछि सरकारमा सहभागी हुने फोरमको तयारीमा ब्रेक लागेको थियो।

त्यस्तै ओलीले राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँगपनि यस विषयमा छलफल नगरेका होईनन् । तर, राजपाले तत्काल आफूहरुको प्राथमिकता संविधान संशोधन भएकोले अहिले नै सरकारमा सहभागी हुन कुनै हतारो नभएको बताउँदै आएको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।