‘शिक्षा विकासको मुख्य आधार’ – प्रधानमन्त्री ओली

गते प्रकाशित
प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको मुख्य आधार शिक्षा भएको बताउनु भएको छ ।
बुधबार विद्यार्थी भर्ना अभियानको क्रममा सिरहाको कल्याणपुर नगरपालिका–११, मा रहेको रामदुलारी माध्यमिक विद्यालय पुग्नुभएका प्रधानमन्त्री ओलीले देशको समग्र विकासको लागि बाटो, बिजुली, खानेपानीलगायत विभिन्न क्षेत्रमा काम गर्नु पर्ने भए पनि शिक्षा विकासको मूल आधार भएको बताउनुभयो ।
जनताको आवश्यकताहरु पूरा गर्न सरकार जुनसुकै बेला तयार रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्यो, ‘हामीलाई जनताले नेतृत्वको लागि जनमत दिएर पठाएको हो, अब हाम्रो मुख्य काम भनेकै जनताको सेवा गर्नु हो, त्यसप्रति हामी प्रतिबद्ध छौँ ।’  भर्ना अभियानमा प्रधानमन्त्री ओलीले स्थानीय रुपाकुमारी खत्वे र पवनमरिक डोमको अभिभावक भएर विद्यालय भर्ना गराउनुभएको हो ।
कुनै समय विद्वानहरुको क्षेत्र भनेर चिनिने मिथिलामा अहिले शिक्षाको अवस्था नाजुक भएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘दुनियाँमा शिक्षाको विकास नभएको बेला यहाँ गग्री र अष्टवक्र जस्ता विद्वानहरु थिए तर आज यहाँका ६१ प्रतिशत जनता अक्षर नचिन्ने छन्, यो सरकारले फेरि सबैलाई साक्षर बनाउने छ ।’
प्रधानमन्त्री ओलीले तराईका ६१ प्रतिशत जनताले अक्षर चिन्दैनन् तर राजनीतिक आन्दोलनको नाममा विभिन्न नाराहरु दिएर हिँडिरहेका छन् । ‘अब राजनीतिक नारा भन्दा पनि तराईको विकास र समृद्धिमा उनीहरुको पनि ध्यान जाओस्’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले अब कुनै नेपाली जनता खाना बिना र जाडोले कठ्यांग्रियर नमर्ने दावी गर्नुभयो । उहाँले सुनकोशी र कमला नदीलाई डाइभर्सन गरी तराईको खेतियोग्य जमिनमा सिंचाई गर्ने र नपुगेका ठाउँहरुमा सोलर पावरबाट सिंचाई गरी उन्नत तरिकाले कृषि उत्पादनहरु गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अबको दिनमा यो खण्ड खेति प्रणलीलाई विस्थापन गर्दै सहकारीको माध्यमबाट खेतिगरी उत्पादनमा वृद्धि गर्ने योजना सरकारले बनाउँछ ।’
चुनाव सकियो, सबै तहको सरकारहरु गठन भईसके अब विकास निर्माणका योजनाहरु निर्माण तथा कार्यान्वयन गराउने समय आएको बताउँदै हाम्रो विकासमा छिमेकीहरुको सहयोग रहने भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अब हाम्रो मुख्य काम भनेको विकास निर्माण हो, त्यसका लागि छिमेकी देशहरुको पनि सहयोग रहने भन्दै त्यसका लागि भारत र चीन तत्पर छन् ।’
संगठनको नाममा जनतालाई आतंकित बनाउने, धम्क्याउने, अपहरण तथा चन्दा आतंक मच्चाउनेलाई बाँकी नराख्ने बताउनुभयो । भर्ना अभियानको क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले दुई वर्ष भित्र मुलुकलाई साक्षर मुलुक घोषणा गर्ने जनाए ।
मन्त्री पोखरेलले भने, ‘२०६१ देखि निरन्तर चलिरहेको जस्तो भर्ना अभियान यो होइन, यो विशेष प्रकारको भर्ना अभियान हो, हामी सबै विद्यालय उमेरका विद्यार्थीलाई भर्ना गराई उनीहरुलाई विद्यालयमा टिकाउने वातावरण समेत बनाउने पक्षमा छौं ।’
शिक्षालाई गुणस्तरीय, जीवन उपयोगी र व्यवसायिक बनाउने पक्षमा हामी लागिरहेका छौं, मन्त्री पोखरेले भन्नुभयो, ‘अहिलेसम्मको शिक्षा बेरोजगार जनशक्ति उत्पादन गर्ने खालका भए, अबको दिनमा शिक्षालाई सबैको पहुँचसम्म पुर्याउन सरकार लागि परेको छ ।’
यही क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेश भौगोलिकताको हिसाबले सुगम भए पनि मानव सुचकांकमा हिमाली क्षेत्रभन्दा धेरै पछाडि रहेको बताउँदै विकासको लागि संघीय सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।