मुम्बईलाई हराउँदै सन्दीप लामिछाने आबद्ध दिल्ली विजयी

गते प्रकाशित

मुम्बइ। आइपिएलमा लगातार दुई खेलमा हारेका मुम्बइ इण्डियन्स र दिल्ली डेयरडेभिल्स आ–आफ्नो तेस्रो खेलमा मुम्बइको वानखेडे स्टेडियममा भिड्दै थिए । मुम्बइ आफ्नै होमग्राउण्डमा थियो र दिल्ली लगातार तेस्रो खेल प्रतिद्वन्द्वीको होमग्राउण्डमा खेलिरहेको थियो । टस दिल्लीले जित्यो र पहिले फिल्डिङ रोज्यो ।

पहिले ब्याटिङ गरेको मुम्बइले निकै आक्रामक सुरुवात गर्यो । पावरप्लेको सुरुवाती ६ ओभरमै १४ रन प्रतिओभरको रनरेटमा मुम्बइले विना कुनै विकेटको क्षति ८४ रन बनाइसकेको थियो । मुम्बइको सबैभन्दा बलियो पक्ष त के भने सय रन पूरा गर्दासम्म उसको एक विकेट पनि झरेको थिएन ।

तर मुम्बइको फिनिसिङ सोचेजस्तो हुन सकेन । ९ ओभरमै बिना कुनै विकेटको क्षति सय रन पूरा गरिसकेको मुम्बइको स्कोर यही गतिमा गएको भए २५० माथि पुग्ने अनुमान गरिएको थियो । तर मुम्बइको मध्यक्रमको ब्याटिङले राम्रो प्रदर्शन गर्न नसक्दा मुम्बइ १९४ रनमै सीमित भयो ।

यद्यपि मुम्बइले दिएको यो लक्ष्य ठूलो नै थियो र दिल्लीको पछिल्ला दुई खेल हेर्दा उसको लागि यो लक्ष्य पूरा गर्नु कठिन थियो । तर, दिल्लीको ओपनिङ ब्याट्सम्यानमा भएको परिवर्तन नै दिल्लीको जीतको कारण बन्यो ।

पहिलो दुई खेलमा खेलेका न्यूजिल्याण्डका कोलिन मुनरोलाई विश्राम दिएर दिल्लीले इङल्याण्डका जेसर रोयलाई मैदानमा उतारेको थियो । रोयको ओपनिङदेखि फिनिसिङसम्म यति बलियो रह्यो कि उनी नै जीतका नायक बने । रोय ५३ बलमा ९१ रनमा नटआउट रहे ।

१९५ रनको लक्ष्यको पिछा गर्न उत्रिएको दिल्लीको लागि ओपनर कप्तान गौतम गम्भीरसँग जेसन रोयले ५० रनको साझेदारी गरे । रोयसँग ब्याट्रिमा आएका ब्याट्सम्यानहरु लगातार आउट भइरहे । गम्भीरपछि ऋषभ पन्त ४७ रनमा आउट भए । ग्लेन म्याक्सवेल १३ रनमा आउट भए । यद्यपि त्यसपछि ब्याटिङमा आएका श्रेयर ऐयरसँग पनि रोय टिकिरहे ।

अन्तिम ओभर बाँकी रहेको अवस्थामा दिल्लीको स्कोर १८४ रन थियो । जीतको लागि उसलाई ६ बलमा ११ रन चाहिएको थियो । अन्तिम ओभर बलिङमा बंगलादेशी बलर मुस्तफिजुर रहमान थिए । मुस्तफिजुरको पहिलो बलमा रोयले चौका प्रहार गरे, दोस्रो बलमा छक्का ।

स्कोर बराबर भइसकेको थियो र ४ बलमा १ रन ल्याए दिल्लीले जित्थ्यो । तर, खेलमा ट्वीस्ट त्यतिबेला आयो जब मुस्तफिजुरका लगातार तीन बलमा रोयले रन नै लिन सकेनन् । खेल १ बलमा १ रनको स्थितिमा पुग्यो ।

अन्तिम बलमा रोयको प्रहार हावामा निकै माथि उठ्यो । रोय यो बलमा आउट हुने र म्याच टाइ भएर सुपरओभरमा जाने धेरैको अनुमान थियो । तर, त्यो बल क्याच भएन र दिल्लीले अन्तिम बलमा खेल ७ विकेटल जित्यो ।  दिल्लीको उक्त टिममा नेपालका टाईकर सन्दीप लामिछाने आवद्ध छन्।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।