भरतपुर महानगरपालिका मातहतमा २३ स्वास्थ्य संस्था र कर्मचारी

गते प्रकाशित

चितवन । भरतपुर महानगरपालिका मातहतमा २३ वटा स्वास्थ्य संस्था, तिनमा कार्यरत १२७ स्वास्थ्यकर्मी र २०७ जना स्वास्थ्य स्वयंसेविका आएका छन्। भरतपुर महानगरपालिका कार्यालयको सभाहलमा आइतबार स्थानीय तहमा स्वास्थ्य संस्था हस्तान्तरण कार्यक्रम आयोजना गरी ती संस्था र स्वास्थ्यकर्मीलाई महानगर मातहत ल्याइएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालयबाट हस्तान्तरण भई महानगरमा आएकामा वडा नं १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रबाट १० कर्मचारी र करारमा कार्यरत ४ जना चिकित्सक रहेका छन्। यसैगरी १३ स्वास्थ्यचौकीबाट ८६, ८ नगर स्वास्थ्य केन्द्रबाट २४ र सामुदायिक स्वास्थ्य इकाई कविलासका ३ जना कर्मचारी महानगर मातहत आएका हुन्।

जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले प्रत्येक स्वास्थ्य संस्थाको सम्पत्ति र कर्मचारी विवरण सहितको अलगअलग फाइल एकमुष्ट रुपमा महानगर प्रमुख रेनु दाहाललाई हस्तान्तरण गरे। कार्यक्रममा महानगर प्रमुख दाहालले स्थानीय तहमा स्वास्थ्य संस्था आएपछि दायित्व र जिम्मेवारी थपिएको बताइन्।

भरतपुर महानगरका २९ मध्ये ९ वटा वडामा स्वास्थ्यचौकी नभएको जानकारी गराउँदै महानगर प्रमुखले भदौ महिनाभित्र हस्तान्तरण हुनुपर्नेमा केही ढिला भए पनि राम्रो कामको शुरुआत भएको बताइन्। उनले महानगरभित्र रहेका स्वास्थ्य संस्थालाई व्यवस्थित बनाउन महानगर र वडा जिम्मेवार ढंगले अगाडि बढ्नुपर्ने बताइन्।

स्थानीय तहअन्तर्गत वडामा रहेका स्वास्थ्य संस्था व्यवस्थापन समितिको अध्यक्ष वडाध्यक्ष रहने र उपाध्यक्ष वडाध्यक्षले तोकेको व्यक्ति रहने व्यवस्था छ। अन्य ५ सदस्यमध्ये एक महिला सदस्य महानगर प्रमुखले तोकेको व्यक्ति रहने प्रावधान छ।

वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले अब महानगरभित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाको जिम्मेवारी र नेतृत्व महानगरपालिकाले लिनुपर्ने बताए। भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले अब वडा–वडामा समन्वय र अनुगमन गरिने प्रतिबद्धता जनाए।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   सावधान : फ्रिजमा यी खानेकुरा राख्दा

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।