The news from New Generation with new vision.

हामी नेपालीले अंग्रेजी नमिसाई शुद्ध नेपालीमा बोल्दा कसो होला ? डा. हेम राज ढकाल (बिद्या वारिधि)

अमेरिका । ‘यो प्रोब्लम अलि कम्प्लिकेटेड छ के त्यसैले भनेको।’ केही समय पहिले संयुक्त राज्य अमेरिका को वाशिंटन डि. सी. नजिकैको एउटा कार्यक्रममा सहभागी हुन गएको बेला सुनेको वाक्य हो यो। उक्त कार्यक्रमका प्राय: सबै वक्ताहरुले यहि अंग्रेजी-नेपाली मिश्रित शैलीमा आफ्नो मन्तब्य राख्नुभो।

यसो दाँया, बायाँ, अगाडि पछाडि, चारै तिर हेरें कोहि बिदेशीहरु सहभागी छन् कि भनेर तर देखिन। बरु, ४-५ जना नेपाली बृद्ध आमा बुवाहरु एक अर्कोलाई हेरी राख्नुभएको थियो र मसिनो स्वरमा आफ्नै कुराकानीमा व्यस्त हुनुहुन्थ्यो। उहाँहरुको हाउभाउ बाट लाग्थ्यो कि उक्त वक्ता को मीठो भाषण बाट धेरै टाढाको संसारको यात्रा मा हुनुहुन्थ्यो उहाँहरु।

मलाई कता कता असहज र नमज्जा लाग्यो। मैले बिनम्र अनुरोध गरेर भने कि, हेर्नुस, यहाँ कुनै बिदेशी छैनन्, सबै नेपाली नै छौँ, हामीले बोल्दा सकभर अंग्रेजी शब्द नघुसाउदा ठिक होला, यदि अंग्रेजी शब्द घुसाउनै परे अलि कम गरे कसो होला?

त्यति मध्ये, कतिले मलाई आश्चर्य को भावले हेर्नु भो, कति ले केहि वास्ता गर्नुभएन। मात्र एकजनाले अलिक अफ्टेरो मानेर कन्दै भन्नुन्भो, ‘कुरो त चाहिने ठिकै हो बट अलि गारो गारो पो छ त ठ्याकै तेसो गर्न…राइट?’

मेरो मनको पोलाई कम भएन। त्यहाँ धेरै बस्न मनले मानेन। कार्यक्रमको औपचारिक समापन अघि नै मैले घरको बाटो नापें। मनभरी केहि प्रश्नहरु श्रावण महिनाको च्याउ सरि उम्रिए। सोचें, अनि आफैले आफैलाई सोधें, के हामी नेपालीहरु नेपालीमा बोल्न सक्दैनौ ?

वा बोल्न चाहदैनौ? के हामी बोल्दा, सबै नेपाली नै भएको ठाउँ मा सबैले बुझ्ने साझा भाषा बोल्न सक्दैनौं? के हामी दर्शकदिर्घाको चाहनालाई ख्याल गर्न सक्दैनौ? यस्तै यस्तै प्रश्नहरुले किचिदै घर पुगेको पत्तै भएन तर अझैं अनुत्तरित भएको भान भै रह्यो।

यहि घटनाले गर्दा आज भन्दा करिव १७ वर्ष अघि अंग्रेजी साहित्य मा स्नातकोत्तर गर्दै गर्दाको को पनि याद आयो । एकदिन त्रिभुवन विश्व बिद्यालयको अंग्रेजी संकाय को हरियो चौर मा गफिदै गर्दा, एकजना घनिष्ट मित्रले अनायाशै भन्दिनु भो, ‘कति संस्कृतमा कुरा गरेको जस्तो गरेको भन्या, बरु ईङ्ग्लिशमा कुरा गरौ न यार, ईङ्ग्लिश पनि सुध्रिन्छ।

‘ मैले हाँसेर एक शर्त राखे, ‘ल हुन्छ यार तर अंग्रेजीमा कुरा गर्दा मात्र अंग्रेजीमा गरौ, नेपाली-अंग्रेजी मिसाएर होइन।उहाँले हुन्छ त सजिलै भन्नु भो तर शर्त तेसै दिन तोडियो। धेरै वर्ष पछि उहाँसंग भेट भयो तर उहाको लगभग ५०-५० प्रतिशत नेपाली-अंग्रेजी मिसावट गर्ने बानि ठ्याक्क त्यही नै रहेछ। शर्त तोड्ने क्रमभंगता अझै बाकिं नै रहेछ भनेर मैले सम्झाउदा, मेरो मित्र, ‘फेरि तपाई को उही शर्त’ भनेर हास्नु भो।

त्यहि पुरानो मित्रको प्रशंग गम्दै बसी राखेको थिएँ। नेपालको समाचार हेर्ने इक्षा जाग्यो। समाचारमा देखें एकजना ठुलै दलका सर्बोच्च नेताजी अति बिकट ठाउँ मा भाषण गर्दै रहेछन। यसो ध्यान दिएर सुन्दा, ति नेताजीको पनि त्यहि नेपाली-अंग्रेजी मिसावट गर्ने बानि थाहा पाउन धेरै समय लागेन।

मैले त बल्ल बल्ल बुझे क्यारे, तर थाहा छैन त्यहाँका जनताहरु जस्ले बुझ्नै पर्ने थियो, उहाँहरुले सबैले कुरा प्रष्ट बुझ्नु भयो या भएन? देशको नायक को वक्तृत्व कला देखेर पनि साएद चित्त बुझेन। चलचित्र क्षेत्रका एकजना ख्याति प्राप्त नायक को अन्तर्वार्ता मा हेरें यु ट्युबमा। उहाँ को भाषा शैली पनि करिब करिब उस्तै थियो…अब मलाई शंका रहेन हामी नेपाली को साझा पहिचान कम्तिमा यो कुरामा समान रहेछ भन्ने कुरा मा।

यी माथि उल्लेखित प्रतिनिधि पात्रहरु मात्र हुन्। नेपालीहरुका औपचारिक र अनौपचारिक कुराकानी, मन्थन, गोष्ठी, सभा, सम्मेलनहरुमा यस्ता उदाहरणहरु प्रशस्तै भेटिन्छन। मूल प्रश्न के हो भने, के आज भन्दा ५० वर्ष अघि नेपाली यसरी नै मिश्रित गरेर बोलिन्थ्यो होला? यस क्रम लाई हामिले निरन्तरता दिने हो भने हाम्रो भाषा को अस्तित्व आज भन्दा ५० वर्ष पछि कस्तो होला?

भाषा र संस्कृति विच को अनोन्याश्रित सम्बन्ध लाई अक्षुण राख्न नेपाली भाषा लाई प्राथमिकता दिने वा नदिने? यदि अंग्रेजी शब्द बोल्नै परे, नेपालीमा अर्थ प्रष्ट गर्ने कि? कम्तिमा उपस्थित महानुभावहरुलाई एकचोटी नियाल्दा कसो होला? र, अन्तमा, हामीले बोल्दा वा लेख्दा सबै श्रोता, दर्सक, र पाठकको सम्मान गर्दा कसो होला? सबैलाई एकचोटी सोच्न बिनम्र अनुरोध।

डा. हेम राज ढकाल ([email protected])

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु