अफगानिस्तानमा बन्धक भएका ३ नेपाली ३० महिनापछि घर फर्किए

काठमाडौँ, २६ माघ । मानव तस्करको परिबन्दमा परेर अफगानिस्तानमा ३० महिनाभन्दा बढी गैरकानुनी हैसियत र झन्डै बन्धकसरहको जीवन बिताएर अफगान सरकारबाट ‘माफी’ पाएपछि ३ नेपाली कामदार बिहीबार काठमाडौं फिरेका छन् ।

कास्कीका गोविन्द पौडेल र हेमप्रसाद गुरुङ तथा पर्वतका मीनबहादुर क्षत्री भारतको नयाँदिल्ली हुँदै २०१५ जुन १ मा काबुल पुगेपछि स्थानीय क्यामोलेट बिजिनेस इन्टरनेसनल कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए ।

तर, उक्त कम्पनीले भिसा तथा वर्क पर्मिट नदिएरै १० महिनापछि कामबाट निकालिदिएपछि उनीहरू गैरकानुनी हैसियतमा काबुलमा लुकीछिपी बस्दै आएका थिए । ‘ओभरस्टे’ र एक्जिट भिसाको शुल्क जरिवानास्वरूप बढदै गएपछि यी कामदार बन्धकसरह काबुलमा बसिरहेका थिए ।

पीडितहरूले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्र सचिवसहितलाई बारम्बार उद्धारका लागि आग्रह गर्दै आएका थिए । एक साताअघि मात्रै अफगान सरकारले यी कामदारले तिर्नुपर्ने झन्डै ५० लाख रुपैयाँको जरिवाना मिनाहा गरिदिएपछि उनीहरू दुई दिनअघि मात्रै काबुलबाट दिल्ली आएका थिए ।

दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीका अनुसार यी कामदार बिहीबार अपराह्न नेपाल वायुसेवाको उडानबाट काठमाडौं आएका छन् ।

पोखराको एसजी मारिन मेनेजमेन्ट प्रालिका प्रबन्धक सन्तोष गुरुङ, लक्ष्मी कार्की र चन्द्र गुरुङलाई जनही ७ लाख रुपैयाँ बुझाएर आफूहरू अफगानस्तान काममा गएको बयान पीडितहरूले दिँदै आएका छन् ।

दिल्लीमा पुगेर उनीहरूले भरतकुमार अधिकारी क्षत्री नामका एजेन्टलाई ९० हजार भारु र काबुलमा पुगेर अली नामका अर्का एजेन्टलाई १ हजार डलर बुझाएका थिए । उनीहरूलाई पोखराका म्यानपावर एजेन्ट हुँदै दिल्ली र काबुलमा पुग्दासमेत अमेरिकी कम्पनीमा काम दिइनेबताइएको थियो । – कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्