संसार हल्लाउने हत्याकाण्डः श्रीमतीलाई जिउँदै गाडेर ३ वर्षसम्म त्यही चिहानमाथि नाचिरहे

एजेन्सी। उनी निकै सुन्दर थिइन् । उनलाई चाहनेहरुको लाइन निकै लामो हुन्थ्यो । तर सबैलाई छोडेर उनले यस्तो मान्छेसँग प्रेम गरिन् जसले सुरुमा उनलाई निकै माया गर्यो र अन्त्यमा जिउँदै गाडिदियो । त्यसपछि उनको त्यही चिहानमाथि तीन वर्षसम्म नाचिरह्यो । एउटा यस्तो हत्याको रहस्यमय घटना जो वर्षौंसम्म ‘डान्सिङ अन ग्रेभ’को नामले प्रसिद्ध छ ।

शाकिरा नमाजी खलीली नाम थियो ती युवतीको । मैसुर राजधरानाकी दीवानकी छोरी । उनको अष्ट्रेलियामा हाइ कमिश्नर रहेका अकबर मिर्जा खलीलीसँग विवाह भयो । सुरुमा सबै ठिकठाक चलिरह्यो । उनीहरुका ४ छोरी जन्मे । विस्तारै २५ वर्ष बित्यो । यही क्रममा शाकिराको जीवनमा अर्का व्यक्ति आए । जसको नाम मुरली मनोहर मिश्र थियो । मुरली एक राजपरिवारमा सेवक थिए । साकिरासँग उनको भेट एक कार्यक्रममा भएको थियो । उनीहरुको पहिलो भेट यस्तो थियो कि त्यो विस्तारै मायामा बदलियो ।

सम्पत्ति र करको विषयमा राम्रो ज्ञान भएका मुरली विस्तारै स्वामी श्रद्धानन्द बने । यता शाकिरालाई पनि छोराको कमी महसुस भइरहेको थियो । यही सिलसिलामा उनले स्वामिसँग भेटिन् । छोराको रहर पूरा गराउने चाहनामा दुवै निकै नजिक भए । अन्त्यमा शाकिराले श्रीमान्सँग सम्बन्धविच्छेद गरिन् र सबै छोडेर स्वामीसँग बिहे गरिन् । दुवै धारतको बैंगलोर गए । आमाको फैसला छोरीहरुलाई मञ्जुर थिएन । त्यसैले तीन छोरीहरु शाकिरासँग छुट्टिए । कान्छी छोरी सबा भने आमालाई छोडेर जान सकिनन् । उनी मोडलिङका लागि मुम्बइ गइन् । उनी बीचबीचमा आमालाई भेट्न आइरहन्थिन् ।

पाँच वर्षसम्म सबै ठिकठाक चलिरह्यो । दुवै बैंगलोरमा एकअर्कासँग खुसी थिए । अचानक एक दिन शाकिरा हराइन् । मुम्बइबाट छोरी सबाले आमालाई धेरै फोन गरिन् । त्यसपछि स्वामीलाई पनि फोन गरिन् । तर कुनै सन्तोषजनक जवाफ नआएपछि उनी बैंगलोर आइन् । यहाँ सबा र स्वामीले शाकिराको खोजी गरे । यस्तैमा ९ महिना बित्यो । त्यसपछि एक दिन स्वामीले भने उनकी आमा गर्भवती छिन् र अमेरिकाको रुजवेल्ट अस्पताल गएकी छिन् । आमाको खोजीमा भौंतारिइरहेकी सबाले रुजबेल्ट अस्पतालमा सोधपुछ गरिन् । तर त्यहाँ शाकिरा खलीली नामकी कुनै महिला भर्ना भएकी थिइनन् । सबाको धैर्यको बाँध टुट्यो ।

यतिन्जेलसम्म सबाले बुझिसकेकी थिइन् स्वामीले उनीसँग केही लुकाइरहेका छन् । त्यसपछि उनले आमा बेपत्ता भएको भन्दै प्रहरीमा रिपोर्ट लेखाइन् । प्रहरीको पहिलो शंका स्वामीमाथि नै थियो । उनीसँग सोधपुछ पनि गरियो । तर सहरमा उनको निकै ठूलो दबदबा थियो जसका कारण प्रहरीले सोधपुछमा कडाइ गर्न सकेन । निकै खोजतलास गर्दा पनि कुनै सुराग पाइएन । केही पत्ता नलागेपछि केस बन्द गर्नुपर्ने अवस्था आइसकेको थियो तर एक दिन अचानक यस्तो भयो कि शाकिरा भेटिइन् ।

त्यो रात थियो २९ अप्रिल १९९४ को । बैंगलोर क्राइम ब्रान्चका सिपाही एउटा भट्टीमा बसिरहेका थिए । त्यहाँ रक्सीले मातेका एउटा व्यक्ति आए । ती व्यक्तिले सिपाहीको अगाडि नै भन्न थाले – जुन शाकिरालाई प्रहरीले खोजिरहेको छ उनी त मरिसकिन् । प्रहरीले ती व्यक्तिलाई हिरासतमा लिएर सोधपुछ सुरु गर्यो । यी व्यक्ति अरु कोही नभइ स्वामीका सेवक थिए । उनले बताए स्वामीले शाकिरालाई जिउँदै कफिनमा बन्द गरेर जमिनमा गाडिदिए ।

सेवकले दिएको बयानको आधारमा स्वामीलाई हिरासतमा लिएर कडाइका साथ सोधपुछ गरियो । त्यसपछि बल्ल स्वामीले सबै कुरा बताए । स्वामीका अनुसार उनले शाकिरासँग उनको सम्पत्तिको लागि प्रेम र बिहे गरेका थिए । स्वामीले शाकिराको सम्पत्ति पाउनेवाला थिए अचानक शाकिराको मन फेरियो र उनले आफ्नो सबै सम्पत्ति आफ्ना ४ छोरीको नाममा गरिदिइन् । त्यसपछि उनले शाकिराको हत्याको योजना बनाए ।

२८ अप्रिल १९९१ का दिन स्वामीले घरका सबै सेवकहरुलाई विदा दिए । त्यसपछि आफैं चिया बनाए र त्यसमा बेहोस बनाउने औषधी मिसाएर शाकिरालाई खुवाए । शाकिरा बेहोस भएपछि उनलाई एउटा च्यादरमा बेरेर कफिनमा हालिदिए । त्यसपछि जिउँदै जमिनमा गाडिदिए । शाकिरालाई गाडेको ठाउँमाथि शानदार टायल लगाइदिए । तीन वर्षसम्म स्वामीले त्यही आँगनमा आफ्नी श्रीमतीको चिहानमाथि राती पार्टी गरिरहे, रक्सी पिएर साथीहरुसँग नाचिरहे । प्रहरीले पछि खनेर हेर्दा कफिनको भित्र माथिपट्टी नङले कोतरेका चिन्हहरु थिए । जसलाई देखेर प्रस्ट थाहा हुन्थ्यो होशमा आएपछि शाकिराले बाहिर निस्कने निकै कोसिस गरिन् अन्त्यमा नसकेपछि तड्पी तड्पी मरिन् । कफिनभित्र भेटिएका औंठी र चुराबाट शाकिराको पहिचान भयो । सर्वोच्च अदालतले स्वामीलाई जन्मकैदको सजाय सुनायो । ती स्वामी अहिलेसम्म जीवित छन् र कर्नाटकको बेलगाम जेलमा सजाय काटिरहेका छन् ।

कमेन्ट गर्नुहोस्