२५ वर्ष फ्रिजमा राखिएको भ्रूणबाट जन्मियो बच्चा

गते प्रकाशित

एजेन्सी । अमेरीकामा २५ वर्ष फ्रिजमा राखिएको भ्रूणबाट बच्चा जन्मिएको छ। सन् १९९२ अक्टोबरमा विकसित भ्रूणबाट डेढ महिनाअघि एक बच्चीको जन्म भएको हो।

त्यो बच्चीको नाउँ हो, एम्मा ह्रेन गिब्सन। उक्त भ्रूण २५ वर्ष ‘फ्रिज’ गरेर राखिएको थियो। टेनेसी विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार इतिहासमै यो सबभन्दा लामो समय फ्रिजमा राखिएको भ्रूण हो, जसले बच्चाको स्वरूप पाएको छ।

एम्मालाई जन्म दिने आमाको नाम टिना गिब्सन हो। टिनाका श्रीमान बेन्जामिनबाट बच्चा नहुने भएपछि उनीहरूले फ्रिज गरिएको भ्रूण अपनाएका थिए। यो भ्रूण पुरुषको वीर्य र महिलाको डिम्ब संकलन गर्ने प्रयोगशालाबाट लिइएको हो। २५ वर्षसम्म यसलाई कसैले अपनाएका थिएनन्। एम्माको तौल २ किलो ९ सय ग्राम छ भने २० इन्च अग्ली छिन्।

गत वर्ष मार्चमा ‘नेसनल इम्ब्रो डोनेसन सेन्टर’ ले टिनाको गर्भाशयमा यो भ्रूण प्रत्यारोपण गरेको थियो। लामो समय फ्रिज गरेर राखिएकाले यसलाई डाक्टरहरूले ‘हिउँ बच्चा’ नाम दिएका थिए।अचेल फ्रिज गरिएका भ्रूणबाट बच्चा जन्माउनु सामान्य भइसकेको छ।

प्राकृतिक गर्भाधान नभई भ्रूण प्रत्यारोपण गरेर बच्चा जन्माउने विधिलाई ‘इन भिट्रो फर्टिलाइजेसन-आइभिएफ’ भनिन्छ। ‘आइभिएफ’ विधिबाट सबभन्दा पहिले सन् १९७८ मा लुइस ब्राउनको जन्म भएको थियो। धेरै देशमा यस्तो प्रक्रियाको आलोचना भए पनि विज्ञहरू भ्रूणबाट जन्मने बच्चामा कुनै समस्या नहुने बताउँछन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   जानिराखौँ भिडियो गेमको लत, मानसिक रोग

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।