यु-१९ एसिया कप : अन्तिम अोभरमा भयो निर्णय, नेपाल बंगलादेशसँग २ विकेटले पराजित

काठमाडौं । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत नेपालले दिएको १ सय ८१ रनको लक्ष्य बंगलादेशले ८ विकेट जाँदा अन्तिम अोभरमा पूरा गरेको छ।

निकै रोमाञ्चक खेलको अन्तिम अोभरमा ब‌ंगलादेशलाई जितका लागि १० रन अावश्यक थियो। कमल सिंहले अन्तिम अोभरको पहिलो बलमा २० बलमा २३ रन बनाएका महिदुल इस्लामलाई आउट गरे। दोस्रो बलमा चाैका र तेस्रो बलमा १ रन गयो। ३ बलमा पाँच रन अावश्यक हुँदा फेरि चाैका प्रहार भएपछि खेल नेपालको हातबाट फुस्कियो। त्यसपछिको बलमा १ रन लिएर रविउल हकले बंगलादेशलाई जित दिलाए।

नेपालका लागि पहिलो विकेट कमल सिंहले नै बंगलादेशका पिनाक घोसलाई एलबिडब्लू अाउट गरेका थिए । पिनाकले ४० बलमा २४ रन बनाएका थिए। सन्दिप लामिछानेले २४ बलमा १२ रन बनाएका मोहम्मद शैफ हसनलाई एलबिडब्लू नै अाउट गरे।

८२ बलमा ५२ रन बनाएका नइम शेखलाई अनिल साहले क्याच अाउट बनाए। २८ बलमा १५ रन बनाएका तौहिद हृदयलाई दिपेन्द्र सिंह ऐरीले आउट बनाए। यस्तै अमिनुल इस्लामलाई सन्दिप लामिछानेले शून्यमै आउट बनाए। अफिफ हुसैन ३९ बलमा ३३ रन बनाउँदा रन अाउट भए। क्वाजी अाेनिकलाई किशोर महतोले शून्यमै अाउट बनाए।

मलेसियाको क्वालालमपुरको किनरारा एकेडेमीको ओभल मैदानमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ४० ओभर १ बलमा १ सय ६७ रन बनाउँदा वर्षाले खेल प्रभावित भएको थियो । डकवर्थ लुइस नियमका आधारमा बंगलादेशलाई ४० ओभर १ बलमा १ सय ८१ रनको लक्ष्य दिइएको हो । सुरुमा पनि वर्षाका कारण ढिला गरी सुरु भएको खेल ४३ ओभरमा झारिएको थियो।

नेपालका भीम सार्कीले ४० बलमा ४४, रोहित कुमार पौडेलले ५४ बलमा ४०, आसिफ शेखले ५२ बलमा ३० रन बनाए । यस्तै दिपेन्द्र सिंह ऐरीले ४१ बलमा १२ रन बनाए । बंगलादेशका नइम हसनले तीन साथै अफिफ हुसैन, क्वाजी ओनिक र हसन महमुदले एक एक विकेट लिए।

नेपाल समूह ‘ए’ मा रहेको छ। यसअघि नेपाल र बंगलादेश औपचारिक प्रतियोगितामा चार पटक मात्रै खेलेका थिए। त्यसमा नेपालले एक खेल मात्रै जितेको थियो। तीन खेलमा पराजित भएको थियो। नेपालले सन् २००२ को १९ वर्षमुनिको विश्वकपमा बंगलादेशलाई २३ रनले हराएर प्लेट च्याम्पियनसिपको फाइनलमा पुगेको थियो। त्यसबेला विनोद दास नेपाली टोलीका कप्तान थिए। अहिले उनी मुख्य प्रशिक्षक हुन्। सन् १९९७ को युथ एसिया कपमा नेपालको यु-१९ टोली बंगलादेशसँग ९ विकेटले पराजित भएको थियो।

यस्तै सन् १९९९ मा पनि बंगलादेशसँग नेपाल ६ विकेटले पराजित भयो। पछिल्लो पटक नेपाली टोली सन् २०१५ को यु-१९ विश्वकपमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो।

कमेन्ट गर्नुहोस्