७ वटा गोली लागेर बाँचेकी ज्वालालाई ४० लाख आर्थिक सहयोग

काठमाडौँ । अमेरिकाको डालसमा हालै एक अश्वेत वर्णका किशोरको गोली प्रहारबाट घाइते भएकी नेपाली विद्यार्थी ज्वाला कार्कीलाई आर्थिक सहयोग प्रदान गरिएको छ। युएस नेपाल हेल्प नेटवर्कले गो फण्ड मार्फत संकलन गरेको ४३ हजार १ सय डलर मध्ये गो फण्डको शुल्क कटाएर बाँकी रहेको ३९ हजार १ सय २१ डलर ६५ पेनी अर्थात करिब ४० लाख नेपाली रूपैंया घाइते कार्कीको व्यक्तिगत खातामा जम्मा गरिएको हो।

हेल्प नेटवर्कका प्रतिनिधि प्रवेश नेपाल सँगै उनको समूहले बुधबार घाइते कार्कीको अपार्टमेन्टमा पुगेर सो रकम खातामा जम्मा गरिदिएको जानकारी दिएको बताइएको छ। दुई साताअघि आफ्नै अपार्टमेन्टको लन्ड्री रूममा फोनमा कुरा गरिरहेको समयमा एक अश्वेत वर्णका किशोरले अन्धाधुन्ध गोली चलाउँदा ज्वालालाई शरीरका बिभिन्न भागमा ७ वटा गोली लागेका थिए।

भाग्यबस बाँचेकी ज्वाला हाल अस्पतालबाट डिस्चार्ज भएर आफ्नै अपार्टमेन्टमा आराम गरिहेकी छिन्। दुई वर्ष अघि मात्र अमेरिका आएकी पोखरा नगरपालिका चौठे १४ कि २४ वर्षिया ज्वाला कार्की दुई महिना अघि मात्रै मेरिल्याडबाट डालस आएकी थिइन्।

कमेन्ट गर्नुहोस्