टेष्ट मान्यताप्राप्त बंगलादेशमाथि उसकै ‘होमग्राउण्ड’मा नेपालको ६ विकेटको जीत

काठमाडौं । नेपालको अण्डर नाइन्टिन राष्ट्रिय क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गरेको छ।

एसिया कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले बंगलादेशमा खेलेका तीनमध्ये सुरुका दुई खेलमा हार बेहोर्दा अन्तिम खेलमा शानदार प्रदर्शन गरेको हो।

आइतबार साभरको मैदानमा भएको अन्तिम खेलमा बंगलादेशले टस जितेर पहिले ब्याटिङ्ग गर्दै ७ विकेटको क्षतिमा दुई सय २५ रन बनायो।

अनिमुल इस्लामले अविजित रहँदै ८० रन बनाएको इनिङ्समा बहाब आलमले ३, अनिलकुमार शाहले २ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए।

जवाफमा नेपालले म्यान अफ द म्याच मोहम्मद आसिफ शेखको शानदार ९० रनको मद्धतले ४६ ओभर ३ बलमै ४ विकेटको क्षतिमा विजय हासिल ग¥यो ।

नेपालको जितमा जितेन्द्र सिंहको ४५ , दिपेन्द्रको अविजित २७ तथा रोहितकुमार पौडेलको २५ रन महत्वपूर्ण रह्यो ।

यो जितले नेपालले कार्तिक २३ गतेदेखि मलेसियामा हुने एसीसी युथ एसिया कप क्रिकेटमा दरिलो उपस्थिति जनाउने अपेक्षा गरिएको छ ।

नेपालको समूहमा बंगलादेशसंगै भारत र मलेसिया रहेका छन् ।

आठ टोलीलाई दुई समूहमा विभाजन गरी खेलाइने प्रतियोगिताका समूह विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । नेपाली टिम सोमबार साँझ स्वदेश फर्कने छ ।

 

कमेन्ट गर्नुहोस्