The news from New Generation with new vision.

तिमी बिनाको यो तिहार मेरा लागि कसरी विशेष हुन्छ बैनी ?

रमेश अधिकारि /दक्षिण, कोरिया । शब्दहरुले जतिसुकै पुष्प वृष्टि गरेपनि म अपूर्ण नै हुनेछु । शब्दहरु र भाबले ब्यक्त गर्न नसकिने बहिनी शब्द कती सुन्दर र आत्मिय छ।  हरेक बर्षको तिहारले मलाई ति पुरानादिनहरुको स्मरण गराउदछ ।  मात्र ५ बर्षको फरक थियो हामी बिचमा । नाताले ऊ मेरी बहिनी भए पनि मेरा लागि असल मित्र र अभिभाबक बराबरको थिई ।परिवारमा अरु दिदी बहिनीहरु नभएर पनि होला हामी सबैलाई एउटा बहिनीको चाहना थियो । अझ बढी त मलाई थियो परिवारमा म सबै भन्दा कान्छो थिए । त्यसैले त म सधैं बा आमा सँग बहिनी चाहियो भनेर कर कर गरिरहन्थे पिरिरह्न्थे । त्यो मेरो सधैंको चाहना र पुकार सुनेर पनि होला नभन्दै भगवानले बरदान् स्वरुप हाम्रो परिवारमा बहिनीको जन्म दियो । त्यो हाम्रो परिवारको एउटा सौभाग्य थियो । बहिनी को आगमनले परिवारमा यति हर्स उल्लास छायो कि जुन दिनलाई ब्यक्त गर्न सक्ने खुबी म सँग छैन।

बिस्तारै समयले पनि आफ्नो रफ्तार बढाउदै गयो बहिनी पनि दिन दिनै ठुलि हुँदै गई । हामी किसान परिवारको भएकाले बा आमा सधै खेतिपातिको काममा ब्यस्थ हुनुहुन्थ्यो । उस्लाई खाना खुवाउने देखी हेरचाह गर्ने काम मैले गर्नु पर्थ्यो ।  मेरो साथी ऊ र उस्को साथी म भए । दिन भरी हामी अङगारले कोरेर घरको भित्ता देखी आगनको ढुङ्गा सम्म कालो बनाउदै, खोयाको घर,पुराना टालाटुली बटुलेर पुतली, भाडाकुटी, लुकामरी आदी खेलेर दिन बिताउने गर्थेउ । आज त्यो दिन सम्झिदा सम्भब भए फेरी त्यही बाल्यकालमा फर्किन मन लाग्छ तर समयले नेटो काटिसकेको हुँदा केवल कल्पनामा मात्र सिमित हुनुको बिकल्प म मा छैन । समयको गतीसंगै हरेक बर्ष आउने चाडपर्ब हरु परिवार सबै संगै खुशीयाली साथ मनाउथ्यौ।

बहिनीको आगमन पछिको पहिलो तिहार अझै मेरो मानसपटलमा घुमिरहेको छ उस्को कोमल हातहरुले आमाको साहरा लिएर हामी दाजु भाईहरुको निधारमा लगाएको टिका आजै जस्तो लाग्छ। भोका बचेराहरुलाई माउले चारा खुवाउदा जती उमङ्गित हुन्छन् त्यो भन्दा बढी उमङ्गित हामीलाई बनाएको थियो किनकी हाम्रो बर्सौ देखिको चाहना पुरा भएको थियो । हाम्रो लागि सुस्वास्थ्य र दिर्घायुको कामना गरिदिने बहिनी पाएका थियौ । मलाई हरेक बर्ष तैले किन टिका अनी माला नलगाएको भनेर सोधिरहने साथी भाईको अगाडि म पनि निधार भरी टिका र गला भरी मखमलिको माला लगाएर हिंड्ने सक्ने भएको थिए ।  पछिल्ला बर्षहरुका चाडपर्ब हरु पनि त्यसरी नै उल्लास्मय तरिकाले बित्दै गए।

अहिले ५ बर्ष पुरा भएछ मैले परिवारसंगै बसेर कुनै पनि चाडपर्ब मनाउन नपाएको हरेक ब्यक्तीको आ आफ्नो सपना र बाध्यताहरु हुन्छन् जुन कुराले मलाई नि अछुतो राख्न सकेन र बिदेशिन वाध्य भए । यी मेरा ५ बर्षले जीबनमा धेरै नै उतार चढाब हरु ल्यायो । नसोचेका घटना हरु सामना गर्न वाध्य भए जसरी अौसिको अन्धकारलाई चिरेर उज्यालो छर्न पुर्णिमालाई चुनौती हुन्छ त्यो भन्दा बढी चुनौतिका पहाडहरु मेरा सामु खडा भए म बिदेशिएको पहिलो बर्ष घर परिवारमा कुनै रमाइलो भएन रे चाडपर्ब आएको नआएको उस्तै भयो भनेर बहिनीले सुनाउथी । अरु बाँकी बर्षहरुमा कहिले हामीले हाम्रो भगवान समान बुवालाई सदाको लागि बिदा गर्नुपर्‍यो । त कहिले बिनाशकारी भुकम्पको मारमा परेर घरबार बिहिन हुनुपर्‍यो।

चौथो बर्षको चाडपर्बमा त्यही बिभिन्न बिपत्तीबाट बिचलित भएका परिवारलाई म गए पछी केही खुशी मिल्छ कि भन्ने आशाले जाने योजनामा थिए तर त्यस बर्ष पनि समय मेरो परिस्थिती अनुकुल भइदिएन। प्रदेशमा हरेक कृयाकलाप साहुको टायम टेबल अनुसार गर्नु पर्छ जुन कुराले गर्दा मैले मेरो धेरै पछी घर जाने रहरलाई पनि जिउदै मार्नुको बिकल्प थिएन।त्यो बर्ष बहिनिले धेरै बिलौना गर्दै आँखाभरी आसु बनाएर तपाईं बिना कुनै चाडपर्ब राम्रो भएन घर सून्य भएको छ जसरी नि अर्को बर्ष चाँही आउनु है नत्र कहिले नि तपाईं सँग बोल्दिन भनेकी थीई।

तर आज समयको बेइमानिता र कठोरताले दिएको सजायलाई यि छचल्किएका मनहरुले आफ्ना भाबनाहरुलाई कलमको माध्यमबाट पोख्न बाहेक ममा अरु कुनै सामर्थ्य छैन । हरेक बर्ष म बिना घर सुन्य भयो कुनै चाडपर्ब रमाइलो भएन भनेर गुनासो गरिरहने मेरो प्राण भन्दा प्यारी बहिनिलाई यो बर्ष सदाको लागि गुमाउन वाध्य भएको छु । बहिनिको जुन अप्रत्यासित ढंगको हत्याको खबर मैले पाए अझै पनि विश्वाश गर्न सकिरहेको छैन । जन्म र मृत्‍यु यथार्थ हो भन्ने बिचार बिमर्श गरेर मनलाई जती कठोर बनाउन खोजे पनि भाबनामा त्यस्तो नहुदो रहेछ । केही समय म बिदेसिदा घर सुन्य भयो छिटो घर आउनु है सन्दाइ भन्ने तिमी आज हामी बाट सदाको लागि बिदा भएकी छौ । यो मन बुझाउने कुनै ठाउँ छैन।

अब हाम्रा लागि सुस्वास्थ्य र दिर्घायुको कामना गरिदिने कोही पनि छैन, हामीहरुको निधार रित्तिएको छ गाउ घर सुन्य भएको छ अब आउने चाडपर्ब र हरेक तिहारमा बाहिर जती सुकै धुप बत्ती दियो जलाए पनि भित्री मनको अन्धकारलाई लाई हटाएर कसरी खुशीयाली छाउन सक्ला र ? तिमी जहाँ पुगेपनी तिम्रो आत्माले शान्ती पाओस । अर्को सातौ जुनि सम्म तिमो सान्दाइ भएर जन्मिन पाऊ बहिनी । यस्तो अकल्पनिय घटना प्रती राज्यले अपराधीलाई झन् प्रोत्साहन दिने काम गरेर समाजमा नकारात्मक तरङ्ग फैलाईरहेको छ यस्को बिरुद्द र तिम्रो आत्मा शान्तिको लागि म कुनै कसुर बाँकी राख्ने छैन।

बिदेशिएका  ६० लाख युवाहरु मध्ये म एक प्रतिनिधि पात्र मात्र हुँ । हरेको ब्यक्तिको जीबनमा दु:ख कस्टहरु आउने नै गर्छ तर फरक शैलीको । जे जस्तो बिपत्ती आई परे पनि सामना गर्नै पर्दो रेछ । धेरै कुरा हरु आफुलाई परेर जानिदो रहेछ त्यसैले जिन्दगी सिकाइ र भोगाइ को अपूर्णता हो जस्तो लाग्दछ मलाई । समयले जे जस्तो उपहार दिए पनि त्यस्लाई ग्रहण गर्नु को बिकल्प छैन । सबै जना स्वस्थ रहनुस् ब्यस्थ् रहनुस् र आउँदै गरेको शुभ दिपावलिले सम्पूर्ण देश बिदेशमा रहनु हुने दाजु भाई तथा दिदी बहिनीहरु बिचको आत्मियता झन झन् प्रगाढ हुँदै जाओस । सदा सुख, शान्ति प्राप्त होस् भनी यहाँहरु सबैमा शुभदिपावली को हार्दिक शुभकामना ब्यक्त गर्दछु !

सम्बन्धित पाेष्टहरु