स्याङ्जा : गत निर्वाचनमा कांग्रेसलाई अन्तर्घात, घातीलाई पार्टीबाट निष्कासनको तयारी

प्रकाश डोटेल/स्याङ्जा । स्याङ्जा जिल्लामा गत बैशाख ३१ गते सम्पन्न स्थानीय निकाय निर्वाचनमा कांग्रेसलाई अन्तर्घात भएको खुलासा भएको छ ।

यसअघि कांग्रेस अन्तर्घातकै कारण पराजित भएको भनिएपनि ६ जनालाई पार्टीबाट निष्कासन गर्न सिफारीस गरेसँगै यो हल्ला पुष्टि भएको हो । नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. १ को क्षेत्रिय कार्य समितिले स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई खुलमखुल्ला असहयोग गरेको भन्दै एक महाधिबेशन प्रतिनिधि सहित ६ जनालाई पार्टीबाट निष्कासन गर्न सिफारीस गरेको छ ।

पार्टीको क्षेत्रिय समितिले महाधिबेशन प्रतिनिधि दीपक लम्साल, पुतलीबजार नगर सभापति बेदप्रसाद दोरङ्गा, पार्टीका पूर्व सह–सचिव नन्दकुमारी लम्साल ‘निर्मला’ पूर्व नगर सह–सचिव हिक्मत श्रेष्ठ, सक्रिय सदस्य बेदप्रसाद पनेरु र तुलसीं ठकुरीलाई पार्टी निष्कासनको लागि सिफारीस गरिएको जनाएको छ । लम्सालद्धय नाताले श्रीमान श्रीमती समेत हुन् ।

नेपाली कांग्रेस पार्टीको नियमावली २०६८ को परिच्छेद ९ धारा ४१ को उपधारा ख्, ३, ङ र छ तथा केन्द्रिय अनुशासन समिति निर्देशिका अनुसार उनीहरुलाई पार्टी निष्कासनको सिफारीस गरेको क्षेत्रिय सभापति तुलसीराम रेग्मीले जानकारी दिए । त्यसैगरि पार्टीको क्षेत्रिय समितिले ३ जनालाई सचेत गराउन पार्टीको जिल्ला समितिलाई सिफारीस गरेको छ ।

सचेत गराउनु पर्नेमा आँधीखोला गाउँपालिका ६ का राजेन्द्र ढकाल, महिला नेतृ मञ्जु पनेरु र खेम नारायण उपाध्याय पौडेल रहेका छन् । पार्टीबाट निष्कासन र सचेत गराउन सिफारीसमा परेको नामावलीलाई पार्टीको जिल्ला समिति र केन्द्रिय समितिमा पठाउने निर्णय गरिएको सभापति रेग्मीले जानकारी दिए । उनका अनुसार जिल्ला सदस्य मेघ बहादुर खडका संयोजक र बुद्धिसागर भण्डारी, तारा मल्ल सदस्य रहेको जिल्लाको अनुशासन समितिबाट पारित गराएर केन्द्र पठाईने भएको छ ।

आफूहरुलाई अन्तरघातको आरोप लगाउनेहरुले प्रमाणीत गर्न नसक्ने आरोपित महाधिबेशन प्रतिनिधि लम्सालले दाबी गरे । कारबाही–कारबाही भनेर प्रमाण विनाको आरोप लगाए मात्रै हुन्छ ? पार्टीबाट निष्कासन गर्र्नेले अन्तर्घात गरेको प्रमाण देखाउन उनले सिन चुनौती दिए ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *