दशैंका लागि ४६ हजार यात्रुले गरे अग्रिम टिकट बुकिङ

 काठमाडौं, ३ असोज । टिकट बुकिङ खुलेको एक हप्ता पुग्दा नयाँ बसपार्कबाट ४६ हजार ४६५ यात्रुले अग्रिम टिकट बुकिङ गराएका छन्।

दशैँका लागि भदौ २७ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको थियो। भदौ २७ गते ११ हजार ८१७, २८ गते सात हजार ३३६, २९ गते छ हजार ७७४, ३० गते सात हजार ५९६, ३१ गते चार हजार ८९८, असोज १ गते चार हजार ६३० तथा असोज २ गते तीन हजार ४१४ जनाले अग्रिम टिकट बुकिङ गराएका हुन्।

देशका विभिन्न भागमा जान नयाँ बसपार्क, गौशाला, सुन्धारा, पुरानो बसपार्क, कोटेश्वर, बल्खुलगायतका स्थानमा अग्रिम बुकिङ खुला गरिएको छ। यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला दशैँका लागि ७० प्रतिशत टिकट बुकिङ भएको बताउँछन्। गतवर्षको तुलनामा यस वर्ष कम टिकट बुकिङ भएको छ।

बाटोको दुरावस्था र वर्षाका कारण दशैँ आउनुभन्दा १५ दिन पहिला नै हवाइजहाजको टिकट बुकिङ भइसकेको छ। विभागकाअनुसार यस वर्ष २० देखि २१ लाखसम्म यात्रु दशैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने सम्भावना छ।

विभागका प्रवक्ता डा टोकराज पाण्डेले १५ देखि १६ लाख यात्रु सार्वजनिक यातायात र पाँचदेखि छ लाख यात्रु निजी यातायातका साधनमा बाहिरिने बताउँछन्। उनले टिकट वितरणमा कुनै समस्या नरहेको समेत बताए।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *