धादिङ ब्रुसबाङका चपाङले थाकथलो छोडे

धादिङ, १ असोज । उत्पादन भएको खाद्यान्न तीन महिना मात्र पुग्छ। बाँकी महिना गिट्ठा, भ्याकुर र साग, सिस्नु खानुपर्ने बु्रसबाङका चेपाङहरूको बाध्यता हो। खेती गर्ने जमिन छ तर पर्याप्त पानी छैन । खानेपानी लिन २\३ घण्टा तल झर्नुपर्ने हुन्छ, गाउँमा उपयुक्त स्वास्थ्यचौकी र विद्यालय छैन। शौचालय छैन, बाटोघाटो छैन। यस्तै समस्याले पिरोलेका बु्रसबाङका चेपाङ समुदाय बस्ती सर्न तयार भएका छन् ।

‘घर, करेसाबारी, स्वास्थ्यचौकी, विद्यालय, शौचालयजस्ता सुविधा मिले बस्ती सर्न तयार छौं,’ बु्रसबाङका ईश्वरी माया चेपाङले भनिन्। खानेपानीसमेत पेटभरि खान नपाएको बताउँदै ईश्वरीले बालबच्चाको शिक्षा र स्वास्थ्यका लागि पनि आफू सर्न तयार भएको बताइन्। यहाँ भर्खर जन्मेका बालबच्चाको पनि उचित स्याहारसुसार हुँदैन। पौष्टिक आहार त परैको कुरा। दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ को महाभारत पर्वत शृंखलामा रहेको गाउँ ‘ब्रुसबाङ’ का चेपाङ समुदायले बस्ती सारिदिन माग गर्दै सर्न तयार भएको बताएका छन्। खानेपानीको चरम संकट भोग्नु परेका चेपाङ समुदायका लागि पानी रगत जस्तै महँगो हुने गरेको छ।

खानेपानीको समस्या समाधान हुने अवस्था नदेखेपछि उनीहरूले आफ्नो बस्ती नै सारिदिन जिल्लाका सरोकारवालाहरूसँग माग गरेका थिए । सरोकारबालासँगको छलफलमा बस्ती सर्न आफूहरू तयार भएको उनीहरूले बताएका छन् । आफ्नो पाखोबारीको उब्जनीले तीन महिना पनि खान नपुग्ने चेपाङहरूमा खानेपानीको समस्याले बालबालिकाको शिक्षादीक्षा, खेतीपाती र पशुपालनमा समेत ठूलो समस्या पैदा गरेको छ। पूर्णबहादुर चेपाङ भन्छन्, ‘गाउँमा अहिलेसम्म मोटर बाटो पुग्न सकेको छैन भने विद्यालयको नाममा बाल विकासको एउटा कक्षा मात्रै छ । भावी पुस्ताका लागि पनि हामी बस्ती सर्न तयार भएका हौं ।’ सो वडामा खुला दिशामुक्त क्षेत्र अभियानका क्रममा विभिन्न संघसस्थाले शौचालयसमेत बनाइदिएको छ। तर पानीको अभावमा शौचालय प्रयोगविहीन अवस्थामा छन्।

ब्रुसवाङसम्म पुग्न पृथ्वी राजमार्गको मलेखु बजारदेखि एक दिनको पैदल यात्रा गर्नुपर्छ। ब्रुसबाङको खानेपानी समस्या समाधान गर्न धादिङका तत्कालीन स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङले १ करोड ४० लाख रुपैयाँ पनि विनियोजन गरिदिएका थिए। तर सम्भाव्यता अध्ययनको क्रममा गाउँमा कतैबाट पनि खानेपानी लैजान सम्भव नदेखिएपछि सो रकमले गाउँकै अन्य ठाउँको योजना निर्माणमा खर्च गरिएको थियो। ब्रुसबाङमा कुनै पनि प्रविधिले खानेपानी र सडक बनाउन नसक्ने अवस्था नरहेकाले त्यहाँको बस्ती नै सार्ने योजनामा रहेको बताएका छन्। नयाँ बस्ती बसाउन उपयुक्त स्थानको खोजी भइरहेको पनि बताएका छन्।आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *