ऋषिपञ्चमी र स्यानिटरी प्याडको सम्बन्ध के ?

डा. अरुणा उप्रेती

धेरै हिन्दु नारी ‘महिनावारी भएको बेलामा कसैलाई छोएको पाप पखाल्न’ व्रत बसिरहेका छन्। उनीहरू प्रार्थना गरिरहेका छन्, ‘हे भगवान्, हामी रजस्वलाको पापबाट मुक्ति पाउन हजुरको प्रार्थना गर्छौं ।’ अनि पण्डितजीहरू पनि अनेक मन्त्र पढ्दै व्रतालुको याचना भगवान्समक्ष पुर्‍याइदिनुहुन्छ कि क्या हो, पूजा सकिएपछि उहाँहरू भन्नुहुन्छ, ‘लौ तपाईंहरूको वर्षभरिको पाप निराकरण भयो। अब मलाई दक्षिणा चढाउनुस् र व्रत तोडेर तपाईंहरू कर्कलो र भात खानुस् ।’ यहाँनिर पण्डितजीलाई प्रश्न गर्न मन लाग्छ- व्रत नबस्ने-पूजा नगर्ने र पण्डितजीलाई फलफूल-दक्षिणा नचढाईकनै कर्कलो र भात खाने स्त्रीहरूलाई के हुन्छ ?

ऋषिपञ्चमी र महिनावारीलाई ‘रजस्वला पाप’ सँग जोडेर ‘गुरु’ ले जति कुरा गर्छन्, हामी अधिकारकर्मी र स्वास्थकर्मी यसबारे भ्रम चिर्ने प्रयास गर्दैनौं । यस विषयमा समाजका सचेत तप्का मौन रहनाले नै रजस्वलाजस्तो प्राकृतिक ‘धर्म’ को बारेमा समाजमा व्याप्त भ्रम अझै चिरिएको छैन । त्यसैको ‘त्रास’ मा धार्मिक गुरुले फाइदा उठाइरहेका छन् । गत २८ मेमा ‘अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस’ मनाइरहँदा कतिपय नेता, कलाकार, सरकारी कर्मचारी, महिला स्वास्थ्यबारेमा काम गर्ने व्यक्तिले धुमधाम कार्यक्रममा महिनावारी हुँदा स्वच्छताको बारेमा विचार गर्नुपर्छ, तर महिनावारी हुनु पाप होइन भन्दै भाषण गरे । त्यसमध्ये म आफैं पनि थिएँ । त्यतिखेर मैले भन्नुपर्ने थियो, ‘महिनावारीको स्वच्छता दिवसको लागि हामीले अन्तर्राष्ट्रिय दिवस मनाउनै पर्दैन । हाम्रो देशमा त ऋषिपञ्चमीजस्तो महिनावारीको सन्दर्भ जोडिएको पर्व छ । यसै अवसरलाई नै हामी राष्ट्रिय स्वच्छता दिवसको रूपमा किन नमनाउने ?

हाम्रो संस्कृतिले महिनावारीको समयमा सफा रहनुपर्छ भन्ने सन्देश दिएको पहिल्यैदेखि नै स्पष्ट अन्तर्राष्ट्रिय जगत्मा हामीले राख्न सकेको भए सम्भवतः हामीले यही ऋषिपञ्चमीको दिनलाई नै महिनावारी स्वच्छताको अन्तर्राष्ट्रिय दिवसको रूपमा अहिलेसम्म स्थापित गरिसकेका हुन्थ्यौं । भारतले योगको वकालत गरेर विश्वभर योग दिवस मनाउने चलन चलाएजस्तै हामी पनि ऋषिपञ्चमीको सन्दर्भलाई शरीर स्वच्छतासँग जोडेर त्यस्तै कुनै दिवस प्रचलनमा ल्याउन सक्थ्यौं ।

यही ऋषिपञ्चमीकै दिन महिनावारीको समयमा शरीरको सरसफाइ र सस्तो प्याडसम्बन्धी योजना ल्याउन सके कति कल्याण हुन्थ्यो?

दक्षिण भारतका अरुणाचलम मुरुगननाथम् नामक एक व्यक्तिले आफ्नी श्रीमतीले महिनावारीको समयमा सरसफाइको लागि फोहोर टालो प्रयोग गरेको देखे । उनले श्रीमतीलाई भने, ‘यस्तो फोहोर टालोले त म मेरो साइकल पनि पुछ्दिनँ ।’ त्यसपछि उनले श्रीमतीको लागि बजारबाट स्यानिटरी प्याड ल्याए, तर त्यो महँगो पर्ने भएकाले उनले आफैंले घरेलु खालको स्यानिटरी प्याड बनाउने विचार गरे । उनले त्यसो प्रयास गर्दा कतिले उनलाई बौलाएछ समेत भने । उनकी श्रीमती पनि उनीदेखि दिक्क मान्दै उनलाई छोडेर गइन् । केही समयपछि आमाले पनि उनलाई छोडिन् । महिलाका लागि सस्तो स्यानिटरी प्याड बनाउने उनको योजना जारी रह्यो । झन्डै चार वर्षको प्रयासपछि उनी अति सस्तो खालको प्याड बनाउन सफल भए।

उनको योगदानको कदर गर्दै त्यहाँका राष्ट्रपतिबाट उनले सम्मानसमेत पाए । त्यसपछि उनको जीवन बदलियो, श्रीमती घर आइन् । उनको नामबाट ‘बौलाह’ को ट्यागसमेत हट्यो । उनी अहिले भन्छन्, ‘मैले धेरै गर्न बाँकी छ । भारतभर सस्तो स्यानिटरी प्याड पुर्‍याएर महिला र किशोरीको प्रजनन स्वास्थ्य राम्रो होस् भन्ने लक्ष्य राखेको छु ।’

उनको कथा पढेपछि मलाई लाग्यो, नेपालमा पनि कोही त्यस्तो भावना भएको मानिसले नेपाली महिलाको महिनावारी समस्या कसरी हल गर्ने भनेर त्यस्तो प्याड बनाउने विचार गरे कम्ता राम्रो हुन्थ्यो र ? वास्तवमा नेपालमा २० लाख महिलाले मात्र प्रत्येक महिना नेपालमा बनाएको प्याड प्रयोग गर्न पाउने हो र हरेक प्याडमा पाँच रुपैयाँ मात्र नाफा राख्ने हो भने पनि २० लाख प्याड बेचिँदा कति नाफा हुन्थ्यो होला ? यो विचार गनेर कुनै व्यापारीले यस काममा हात हालेर सरकारले स्यानिटरी प्याडलाई टयाक्स नलिने घोषणा गर्ने हो भने कति किशोरी र महिलाको जीवन सहज हुन्थ्यो होला ।
यसो गर्दा स्यानिटरी प्याडको लागि विदेश जाने लाखौं रुपैयाँ बच्थ्यो ।

अहिले एक स्यानिटरी प्याडको मूल्य बजारमा १५० देखि २५० सम्म पर्छ । त्यसैले गाउँघरमा त यो किन्न नै सकिन्न । कसैले प्रयोग गर्‍यो भने पनि त्यसलाई कसरी सुरक्षित तरिकाले व्यवस्थापन गरेर कहाँ फ्याँक्ने भन्ने ज्ञान उनीहरूमा छैन । त्यसो हुँदा नदी, पोखरी वा खेतमा जथाभावी रूपमा प्याड फ्याँकिन्छन् ।

बाढी, भूकम्प र प्राकृतिक प्रकोपका बेला स्यानिटरी प्याडको माग उच्च रूपमा बढ्छ र कतिपय बेलामा त बजारबाटै यो हराउँछ । यस्तो मूल्यवान् स्यानिटरी प्याड नेपाली दिदीबहिनीले बाढी र भूकम्पका बेला राहतस्वरूप पाउँछन् । तर सरकारको ‘प्रजनन स्वास्थसम्बन्धी नीति’ अनुसार हरेक महिलाले प्रजनन स्वास्थ्य सुरक्षित राख्न आफूलाई सफा राख्न सस्तो र सुरक्षित स्यानिटरी प्याड प्रयोग गर्न पाउने उनीहरूको स्वाभाविक अधिकार होइन र ? यही ऋषिपञ्चमीकै दिन महिनावारीको समयमा शरीरको सरसफाइ र सस्तो प्याडसम्बन्धी योजना ल्याउन सके कति कल्याण हुन्थ्यो ?

सन् २०१८ मा बलिउडमा एउटा चलचित्र आउँदै छ, जसमा अक्षयकुमार, सोनम कपुर र अमिताभ बच्चनसमेतले खेल्ने बताइएको छ । उक्त फिल्मको नाम नै छ, ‘प्याडमान ।’ उनै अरुणाचलमको कार्यबाट प्रेरित भएर यो चलचित्र बन्न लागेको हो । महिला र किशोरीको प्रजनन उमेरमा सुरक्षित कपडा वा प्याडको व्यवस्थापन हुन नसक्दा महिलालाई कति समस्या पर्छ भन्ने विषयलाई यो फिल्ममा देखाइएको छ । फिल्म नै स्यानिटरी प्याडको बारेमा बन्न थालेपछि समाजका विद्वत् वर्गले समेत आफ्ना छोरीचेलीको मासिक धर्मले उनीहरूले भोग्नुपर्ने समस्याबारेमा निर्धक्क खुल्ने कि ? राजनीतिक ?
मैले त ऋषिपञ्चमीको दिनमा महिनावारीको समयमा कसरी स्वस्थ रहने भन्ने उपायबारेमा किशोरीहरूलाई बुझाउन अठोट गरेकी छु । तपाईंले पनि आफ्ना छोरीचेलीलाई यस्ता विषयबारेमा ऋषिपञ्चमीको सन्दर्भ जोडेर शरीर स्वस्थ राख्नेबारे बताउने कि ?

शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकबाट साभार

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *