डोक्लाम विवाद चर्कंदै : भारत र चीन युद्धको तयारी अवस्थामा

काठमाडौं, २ साउन । जुन महिनाको मध्यदेखि भारत र चीनका सैनिकहरू विवादास्पद डोक्लाम पठारमा आमनेसामने बसिरहेका छन् ।बेइजिङले आफ्नो भूमिमा भारतीय सेनाको कब्जा रहेको दाबी गरेको छ भने भुटान र भारतले विवादास्पद भूमि भुटानको भएको बताइरहेका छन् ।

यो साँघुरो पठार भुटान, चीन र भारतको त्रिदेशीय विन्दुमा अवस्थित छ । सीमामा दुवै देशले थप सैनिक नियुक्त गरेका छन् । युद्ध चर्किएमा यी दुई आणविक शक्तिसम्पन्न मुलुकहरूमा अकल्पनीय क्षति पुग्छ । चीनसँग २५० आणविक क्षेप्यास्त्र छन् भने भारतसँग १०० वटा छन् ।

एक नयाँ सडक निर्माणका विषयमा यी दुईबीच विवाद चलेको हो र सीमाकै विषयमा यिनीहरूले ५० वर्षअघि युद्ध पनि गरेका हुन् । चीनले पाकिस्तान, बंगलादेश र श्रीलंकामा आफ्नो बलियो उपस्थिति देखाइरहँदा भारतमा चिन्ता बढेको छ । ‘चीनको निर्माण परियोजनाका कारण भारत घेरिएको महसूस गर्दैछ ।

चिनियाँ बन्दरगाहहरू पछि गएर जलसेना तैनाथीका अखडा बन्न पुग्लान् भन्ने भारतको डर छ,’ अब्जर्भर रिसर्च फाउन्डेसनका अभिजित सिंह भन्छन् । चीनको ग्लोबल टाइम्सले राष्ट्रिय सुरक्षाविज्ञहरूलाई उद्धृत गर्दै चीन र भारतबीचको ताजा द्वन्द्वलाई राम्ररी नसम्हाद्यने हो भने युद्धको सम्भावना बढ्ने लेखेको थियो ।

‘चीनले आफ्नो भूमिको रक्षा गर्नेछ र सीमाको सुरक्षा गर्नेछ,’ उसले लेख्यो । वर्तमान तनाव एक महिना पुग्न लाग्दा दुवैतर्फका विश्लेषकहरूले दुई देशका बीच सशस्त्र युद्ध भइहाल्ने सम्भावना नरहेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्