५७ वर्षदेखि अनुहारमा ट्युमर झुन्ड्याएर गुजारा गर्दै वृद्धा

काठमाडौं । एकल वृद्ध महिलाले तीन वर्षको उमेरदेखि शल्यक्रिया गराउन नसक्दा आफ्नो अनुहारमा ठूलो ‘ट्युमर’ झुन्ड्याएर गुजारा गरिरहेकी छन् ।

चीनको लुओयांग सहरकी डुआन नाम गरेकी ६० वर्षीया ती महिलाले आर्थिक अभावका कारण बाल्यकालदेखि आफ्नो अनुहारमा देखापरेको ट्युमरको शल्यक्रिया गराउन नसकेको ‘डेलिमेल अनलाइन’ले उल्लेख गरेको छ।

उनको अनुहारमा आएको ट्युमर बढेर कम्मर छुन लागेको छ भने शरीरका अरु भागहरुमा स-साना ट्युमर पलाएका छन्।

उनले चीन सरकारले उनलाई उपचार गर्न ८०० युआन अनुदान दिएको तर उक्त रकम प्रयाप्त नभएकाले उनले उपचार गर्न नसकेकी बताइन्।

नेसनल हेल्थ सोसाइटी युकेकाअनुसार उनी ‘न्यूरोफाइब्रोमेटोसिस’ भन्ने रोगबाट ग्रसित छिन्।

‘जेनेटिक म्युटेसन’ (अनुवंशिक उत्परिवर्तन)का कारण देखापर्ने यो रोगबाट ग्रसित मानिसको शरीरभरि स-साना ट्युमरहरु पलाउने गर्दछ। साथै, यस रोगले शरीरको स्नायु प्रणालीलाई ट्युमरकोरुपमा विकास गरिदिन्छ।

उनले भनेअनुसार तीन वर्षको उमेरमै पहिलोपटक स-साना ट्युमर देखापर्न थालेको थियो। सबैभन्दा पहिले ट्युमरको लक्षण अनुहारमा देखापरेको थियो। जुन अहिले सबैभन्दा ठूलो लामो लत्रिएको अवस्थामा छ।

परिवारले उनलाई शल्यक्रियाको पहुँचबाट बन्चित गरी ट्युमर बढ्न दिन बाध्य पारिएको थियो। उनले भनिन्–‘मैले दुईपटकसम्म विवाह गरें तर उपचार गर्न सकिनँ, अहिले एक्लो छु।’

उनले पहिलो विवाह यही रोगकै कारण सम्बन्धविच्छेद भएको र दोस्रो विवाह गरेपछि १० वर्षअघि श्रीमान्को मृत्यु भएको बताइन् । उनी अहिले एक्लै बस्दै आएकी छन् ।

कमेन्ट गर्नुहोस्