यस कारण यी पिता गोरुको साटो आफ्ना दुई छोरीलाई हलो जोताउँछन्

काठमाडौं । भारतभरि विगत कैयौं दिनदेखि किसानहरू ऋणमाफीका लागि आन्दोलन गरिरहेका छन् । महाराष्ट्र तथा मध्यप्रदेशमा किसानहरू आफ्ना मागका साथ सडकमा उत्रेका छन् ।

यसैबीच मध्यप्रदेशको वसन्तपुर गाउँमा आर्थिक कठिनाइका कारण गोरु किन्न नसकेर एक आदिवासी गरीब किसानले आफ्नो नाबालक दुई छोरीलाई हलो जोताएको कारुणिक खबर आएको छ । विगत दुई वर्षदेखि यी किसानले छोरीहरूलाई यसैगरी काममा लगाएको बुझिएको छ ।

किसानको नाम सरदार बरेला हो र उनी गरीबीका कारण दुई वर्षयता गोरु किन्न नसकेको बताउँछन् । आफ्ना छोरीहरू राधा र कुन्तीलाई गोरुको साटो प्रयोग गरेर हलो जोत्न बाध्य भएको उनको गुनासो छ ।

छोरीहरूलाई पढाउन समेत आफूसँग पैसा नभएको उनी बताउँछन्। सरकारी योजनाहरूले उनीजस्ता गरीबलाई कुनै पनि लाभ पुगेको देखिँदैन।

मिडियामा यो खबर आएपछि प्रशासनले गाउँमा गएर किसानलाई अबदेखि यसो नगर्न चेतावनी दिएको छ । गाउँमा गएका अधिकारीहरूले किसानसँग साँच्चिकै गोरु नभएको पाए।

बालिका राधा र कुन्तीले आफूहरूलाई पढ्न मन लागेको भएपनि पैसा नभएका कारण पढ्न नपाएको बताए। सरकारी अधिकारी गाउँ पुगेको दिनमा पनि उनीहरू खेत जोतिरहेका थिए।
एजेन्सी

कमेन्ट गर्नुहोस्