राष्ट्र बैंकको नीति : गाडी किन्न प्रोत्साहन, घर किन्न निरुत्साहन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ल्याएको मौद्रिक नीतिले सर्वसाधारणलाई गाडी किन्न सजिलो, तर घर किन्न गाह्रो बनाएको छ।

मौद्रिक नीतिले निजी सवारीसाधन खरिदमा धितो मूल्यांकन बढाएको छ भने घरको धितो मूल्यांकन घटाएको छ। सर्वसाधारणले ३५ प्रतिशत डाउन पेमेन्टमा गाडी किन्न सक्नेछन् भने घरका लागि काठमाडौं उपत्यकामा ५० प्रतिशत र बाहिर ६० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने हुन्छ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सवारी कर्जाको धितो मूल्यांकनलाई ५० प्रतिशतबाट बढाएर ६५ प्रतिशत पुर्‍याएको हो। अर्थात्, अब सर्वसाधारणले निजी सवारीसाधन खरिद गर्दा ६५ प्रतिशत रकम बैंकबाट ऋण लिन सक्नेछन्।

त्यस्तै, व्यक्तिगत विद्युतीय सवारी कर्जाको सीमा बढाएर ८० प्रतिशत पु¥याइएको छ। अर्थात्, विद्युतीय सवारीसाधन खरिद गर्ने व्यक्तिले २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरे पुग्छ। यसअघि चालू आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधि समीक्षामार्फत निजी सवारीसाधन कर्जामा ५० प्रतिशत मात्रै ऋण लिन पाउने सीमा लागू गरेको थियो। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

कमेन्ट गर्नुहोस्