The news from New Generation with new vision.

कोपा अमेरिका अमेरिकालाई ४ गोलको वर्षा गर्दै अर्जेन्टिना पुग्यो फाइनलमा

अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान टेक्सासमा भएको सेमिफाइनलमा आयोजक अमेरिकालाई ४–० ले हराएर अर्जेन्टिनाले फाइनल यात्रा तय गरेको हो ।

अर्जेन्टिनाको जितमा गोन्जालो हेगुइनले दुई तथा लियोनल मेस्सी र एजिक्युएल लाभेजीले एक एक गोल गरे । तेस्रो मिनेटमानै लाभेजीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाति अग्रता दिलाए । ३२ औं मिनेटमा कप्तान मेस्सीले गोल गरेपछि अर्जेन्टिनाले पहिलो हाफमा २–० को अग्रता लियो ।

अमेरिकामाथि हाबी भएको अर्जेन्टिनाले दोस्रो हाफमा थप दुई गोल गर्‍यो । ५० र ८६ औं मिनेटमा गरी हेगुइनले दुई गोल गरेर ४–० को प्रभावशाली जित दिलाए ।

यो खेलमा अमेरिकाले एक पटक पनि पोस्ट प्रहार गर्ने सकेन । अमेरिका क्वाटरफाइनलमा इक्वेडरलाई २–१ हराएर सेमिफाइनलमा आएको थियो । यस्तै अर्जेन्टिनाले भेनेजुएलालाई ४–१ हराएको थियो । कोपा अमेरिकाको इतिहासमा अर्जेन्टिना र अमेरिकाबिचको यो तेस्रो खेल हो । यसअघि सन् १९९५ मा अमेरिकाले अर्जेन्टिनालाई ३–० ले हराएको थियो । त्यसपछि सन् २००७ मा भएको खेलमा भने अमेरिका अर्जेन्टिनासँग ४–१ ले हारेको थियो । अर्जेन्टिनाले अब उपाधिका लागि बिहीबार बिहान हुने चिली र कोलम्बियाबिचको खेलको विजेतासँग खेल्ने छ । १४ पटकसम्म कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिनाले सन् १९९३ पछि उपाधि जित्न सकेको छैन ।

सम्बन्धित पाेष्टहरु